हरेक व्यक्तिको सर्वप्रिय लाग्ने व्यक्ति को हो भनेर प्रश्न गरे आमा भन्ने जवाफ सहजै आउँछ र यो शास्वत सत्य पनि हो । हुन त आमामात्र हैन बुबा पनि हरेक सन्तानका लागि उत्तिकै प्रिय हुन्छन् । यद्यपि, आमा ती व्यक्ति हुन् जसले घर परिवारका हरेक सन्तानलाई सन्तुलनमा राखेर पारिवारिक एकता र सामाजिक सद्भाव कायम गर्न सक्छिन् । यसकारण संसारमा आमाको मूल्यलाई बढी महत्वका साथ हेर्ने गरिन्छ । दिवंगत भइसकेकी आमाका लागि पिण्ड, तर्पण र दानभन्दा पनि ठूलो श्रद्धा र पुण्य कर्म भनेको उनको नामबाट गरिने हरेक सामाजिक कार्यहरु महान हुन्छन् । यो भनाइ अरु कसैको नभई नेपाली लोक संगीतकी महान स्रष्टा कविता आलेको हो । संगीतकार डेनी निरौला, उनका भाइ भीषण र बहिनी झुमा निरौलाकी ममतामयी माता स्वर्गीय सरस्वती निरौलाको नाममा स्थापित ‘सरु संगीत राष्ट्रिय पुरस्कार’ वितरण कार्यक्रममा सम्मानित स्रष्टाका हैसियतमा आलेले उक्त कुरा बताएकी हुन् । दुई छोरा र एक छोरीको संयुक्त प्रयासमा स्थापित यस पुरस्कारको संरक्षक वरिष्ठ संगीतकर्मी कोमल निरौला हुन ।
ललितपुरको इमाडोलस्थित बुद्ध पार्टी प्यालेसमा आयोजित ‘सरु संगीत घर’ संगीत विद्यालयको चौथो स्थापना दिवस एवं पुरस्कार वितरण कार्यक्रममा वरिष्ठ संगीतकार एवं प्राध्यापक दिपक जंगमले लोकगायिका आलेलाई नगद २५ हजारका साथ सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।
आफ्नी दिवगंत आमा सरस्वती निरौलाको नाममा गत वर्ष ३ लाख रुपियाँको अक्षयकोष खडा गरी पुरस्कार स्थापना गरिएको सरु संगीत घरका प्रबन्ध निर्देशक डेनी निरौलाले जानकारी दिए । उक्त पुरस्कारका संरक्षक वरिष्ठ संगीतकार एवं गायक कोमल निरौलाका अनुसार सरु संगीत राष्ट्रिय पुरस्कारबाट हरेक वर्ष नेपाली गीत संगीत एवं वाद्यवादनका क्षेत्रमा स्थापित भइसकेका र ४० वर्षमाथिका महिला कलाकारहरूमध्येबाट छनोट समितिले छनोट गरी निर्णय गरेको व्यक्तित्वलाई यो पुरस्कार प्रदान गरिन्छ ।
सोहीअनुसार उक्त पुरस्कार प्राप्त गर्ने लोकगायिका आले प्रथम व्यक्तित्व हुन् । वि सं २०१२ सालमा इलामको फाकफोकमा जन्मिएकी कविता आलेले पूर्वीय लोकभाकालाई नेपाली लोकसंगीतका क्षेत्रमा विशिष्ट पहिचान दिलाउन सक्षम रहेको र अर्गानिक लोकसंगीत पस्कन सक्ने स्रष्टाका रूपमा स्थापित भएकाले उहाँको योगदानको उच्च सम्मान गर्दै पुरस्कृत गर्नका लागि छनोट गरिएकोे पुरस्कार छनोट समितिकी सदस्य गायिका लोचन भट्टराईले बताइन् ।
कार्यक्रम सञ्चालन सञ्चारकर्मीद्वय हेम भण्डारी एवं विनोद अधिकारीले गरेका थिए । उक्त कार्यक्रममा संगीत घरमा संगीत सिक्ने प्रशिक्षार्थी कलाकारहरूले एकल एवं सामूहिक गीत समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेपाल सरकारका पूर्वसचिव खेमराज नेपाल, पूर्व प्रशासक खगप्रसाद नेपाल, शिक्षा सेवी विष्णुकुमार शर्मालगायतको उपस्थिति रहेको थियो । यसै गरी नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी, वरिष्ठ पत्रकारहरू विष्णु निष्ठुरी र धर्म गौतम साथै संगीतकार मिलन मोक्तानको पनि कार्यक्रममा अतिथिका रूपमा उपस्थिति रहेको थियो ।
उक्त पुरस्कारबाट प्राप्त नगद २५ हजारमध्ये कलाकारको हैसियतमा आधा रकममात्र आफूले ग्रहण गर्ने र बाँकी आधा रकम संस्थकै श्री वृद्धिका लागि समर्पित गर्ने उद्घोस सम्मानित स्रष्टा आलेले उक्त कार्यक्रमा गरेकी थिइन् ।











प्रतिक्रिया