इतिहास साक्षी छ, विभिन्न कालखण्डमा नेपालीभाषी भारतीय फुटबलरहरूले आफ्नो खेल कौशलका कारण विश्वकै ध्यान आकृष्ट गर्न सफल भएका छन् । तीमध्ये श्याम थापा, भाईचुंग भुटिया, सुनील क्षेत्री जस्ता नामुद नेपालीभाषी भारतीय फुटबलरहरूको चर्चा हामीले सुन्दै आएका पनि छौं । तर, कमैलाई थाहा होला, आजभन्दा करिब ९७ वर्षअघि भारतको पूर्वोत्तर राज्य मेघालयको राजधानी शिलोङमा एक बालकको जन्म भएको थियो । जसले शिलोङस्थित माथिल्लो मवप्रेमस्थित नसापाटीघारीको धुलाम्मे मैदानबाट फुटबलको यात्रा शुरू गरेर भारतीय फुटबलको इतिहासमा एक अमिट छाप छोड्यो । त्यही मैदानबाट शुरू भएको नेपाली मुलका पुरनबहादुर थापाको जीवनयात्रा समयक्रमसँगै एक अनुशासित सैनिक, कुशल खेलाडी र निष्ठावान देशभक्तको रूपमा स्थापित भयो । उनको बाँया खुट्टाको अद्वितीय प्रतिभा र जीवनमा अनुशासनको उच्च सम्मानले उनलाई त्यस्तो असाधारण व्यक्तित्वमा रूपान्तरण गरायो कि जसको सम्झना आज पनि गर्नु अत्यन्त सान्दर्भिक छ ।
पुरनबहादुर थापाको जन्म सन् १९२८ को जुलाई २८ भएको थियो । उनी केवल एक फुटबल खेलाडी मात्र थिएनन्, परिस्थितिलाई बुझेर खेल्न सक्ने प्रतिभाशाली व्यक्ति पनि थिए । सन् १९४७ मा १९ वर्षको उमेरमा भारतीय सेनामा प्रवेश गरेपछि उनको औपचारिक फुटबल यात्रा प्रारम्भ भयो । गोरखा ब्रिगेड सर्भिसेज तथा भारतीय सेनाको आठौं गोर्खा राइफल्सबाट मिडफिल्डमा खेलेका उनले सन्तोष ट्रफी लगायतका प्रमुख घरेलु प्रतियोगिताहरूमा सहभागिता जनाउँदै, प्राविधिक क्षमता, रणनीतिक सुझबुझ र आक्रामक शैलीको अद्वितीय सङ्गम प्रस्तुत गरे । जुन त्यस समयको भारतीय फुटबलमा बिरलै पाइन्थ्यो ।
सन् १९५४ मा कोलकाताको ऐतिहासिक इडन गार्डेन्स रङ्गशालामा भएको एसियन क्र्वाड्र्याग्युलर फुटबल प्रतियोगिताअन्तर्गत पाकिस्तानविरुद्धको तनावपूर्ण प्रतिस्पर्धामा उनले तीन गोल गर्दै भारतलाई ३–१ को ऐतिहासिक जित दिलाए । यो स्वतन्त्र भारतको फुटबल इतिहासमा दोस्रो अन्तर्राष्ट्रिय ह्याट्रिक थियो । त्यसअघि सन १९५२ मा त्यही प्रतियोगितामा बर्माविरुद्ध ४–० को जितमा शियो मेवालाल ह्याट्रिक गर्ने पहिलो भारतीय फुटबलर बनेका थिए । तर, पाकिस्तानविरुद्ध थापाको ह्याट्रिकले राष्ट्रिय भावनालाई जुन गहिरो तहसम्म स्पर्श ग¥यो, त्यो अनुपम रह्यो । त्यो केवल खेल मात्र थिएन, भारतीयहरूले त्यसलाई राष्ट्रको स्वाभिमान, गौरव र सामूहिक भावना समेटिएको ऐतिहासिक क्षणको रूपमा ग्रहण गरेका थिए ।
त्यससमय थापाको बाँया खुट्टा फुटबल मैदानमा एक किंवदन्ती झैं परिचित भइसकेको थियो । भनिन्छ, उनको प्रहारमा सन्तुलन, शक्ति र सटिकता यति गहिरो हुन्थ्यो कि विदेशी दर्शक स्तब्ध र स्वदेशी दर्शक रोमाञ्चित हुन्थे । सन् १९५५ मा दिल्लीको नेसनल स्टेडियममा विश्व चर्चित लेजेन्डरी गोलकिपर लेभ याशीन सम्मिलित शक्तिशाली सोभियत संघको टिमविरुद्धको मैत्रीपूर्ण खेलमा उनले त्यस्तो स्तरको प्रदर्शन गरे कि विपक्षी टिमका म्यानेजर स्वयम पत्रकार बस्ने ठाँउमा पुगेर “को हो त्यो बाँया खुट्टे भारतीय खेलाडी, जसले यति प्रभावशाली खेल प्रदर्शन गर्दैछ” भनेर सोधपुछ गरेका थिए ।
त्यति उच्च क्षमताका बावजुद थापाले सधैं राष्ट्रसेवालाई प्राथमिकतामा राखे । कोलकाताका प्रतिष्ठित क्लबहरूले उनलाई अनुबन्ध गर्न अनेक प्रयास गरे, ओलम्पिक तथा एसियन गेम्समा भारतको प्रतिनिधित्व गर्ने अवसर पनि पाएका थिए । तर, उनले वैभव र प्रसिद्धिभन्दा कर्तव्य र स्थायित्व रोजे । सेनामा निरन्तर सेवा गर्दै उनी “लेफ्टिनेन्ट कर्नल” को पदमा सेवा निवृत्त भए । सेनाबाट अवकाश पाएपछि उनी आफ्नो जन्मथलो शिलोङमा फर्किए । त्यहाँको “लाजोङ स्पोट्र्स एण्ड कल्चरल क्लब” आजको “शिलोङ लाजोङ एफसी” का पहिलो प्रशिक्षक बने ।
उनको समर्पण, अनुशासन र दीर्घदृष्टिले भारतको उत्तर–पूर्वमा फुटबल संस्कारको निर्माण भयो । आज जुन प्रतिभाशाली युवा खेलाडीहरू सो क्षेत्रबाट उदाउँदै छन्, त्यो परम्पराको मूल जग बसाल्ने काम नै थापाले गरेका हुन् । सन् २०१४ मा थापाको निधन भयो । त्यो दिन केवल दक्षिण एसियाले एक महान खेलाडी मात्र गुमाएन, एक असल देशभक्त, मार्गदर्शक र प्रेरणादायी व्यक्तित्व पनि गुमायो । आजको पुस्ताका लागि पुरनबहादुर थापा सायद अपरिचित नाम हुन सक्छ । तर, जो नेपाली मूलका भारतीय राष्ट्रिय जर्सी लगाएर खेल्ने चर्चित फुटबल खेलाडीको इतिहास बुझ्न चाहन्छन, तिनीहरूका लागि थापा सधैं सम्झनायोग्य रहनेछन् ।











प्रतिक्रिया