मोबाइल पसल फुटाएर  करिब दश लाख बराबरको धनमाल चोरी गर्ने गिरोह पक्राउ


धनुषा। 

धनुषाको गणेशमान चारनाथ नगरपालिका–६ गोदार चोकस्थित एक मोबाइल पसलमा भएको ठूलो चोरी प्रकरणमा संलग्न तीन जना पक्राउ परेका छन् । प्रहरीका अनुसार चोरीमा संलग्न अन्य फरार व्यक्तिहरूको पहिचान र खोजतलासको कार्य तीव्र पारिएको छ ।

भदौ ६ गते शुक्रबार राति करिब १ः४५ बजे धनुषाधाम नगरपालिका–८ केसरकट्टी निवासी ५१ वर्षीय राजकुमार साहले सञ्चालन गर्दै आएको पसलमा अज्ञात समूहले ताला फोडी पसलभित्र प्रवेश गरेका थिए । पसलबाट ४५ थान मोबाइल सेट, २ थान ड्रोन क्यामेरा, ५ डब्बा टेम्पर ग्लास, ५ थान देवाल घडी, १५५ थान हाते घडी, ६ थान टर्च र नगद ९८ हजार ७६५ रुपैयाँ चोरी भएको पीडित साहले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ । चोरी भएको सम्पत्ति करिब दश लाख रुपैयाँ बराबर हुने अनुमान गरिएको थियो ।

प्रहरीले प्राप्त सूचनाको आधारमा अनुसन्धान अघि बढाउँदै भदौ ११ गतेसम्ममा तीन जना संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरूको साथसाथै उनीहरूको घर र लुकाइएका स्थानबाट १२ थान मोबाइल, घडी, क्यामेरा स्टेण्ड, मोबाइल चार्जर, टेम्पर ग्लास, लेन्सलगायतका सामानहरू बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिहरूमध्ये गणेशमान चारनाथ नगरपालिका–७ निवासी राजेन्द्र मुखियाका छोरा २० वर्षीय अर्जुन मुखिया, सोही वडाका अनिल पासवानका छोरा १९ वर्षीय सिकेन्द्र पासवान र गणेशमान चारनाथ नगरपालिका–५ निवासी उदय नारायण मण्डलका छोरा २२ वर्षीय कृष्ण मण्डल रहेका छन् ।

प्रहरीका अनुसार उनीहरूलाई चोरी तथा डाँका सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी म्याद थप अनुसन्धान भइरहेको छ । इलाका प्रहरी कार्यालय ढल्केबरका प्रमुख प्रहरी निरीक्षक जटाशंकर यादवले भने,‘चोरी प्रकरणमा संलग्न तीन जनालाई पक्राउ गर्न सफल भएका छौँ । उनीहरूको संलग्नता प्रमाणसहित देखिएको छ र बरामद भएका सामग्रीहरू समेतले घटनामा प्रत्यक्ष संलग्नता पुष्टि गर्छ ।’

उनले थपे,‘अहिलेसम्म फरार रहेका अन्य व्यक्तिहरूको पहिचान भइरहेको छ । पक्राउ परेकामार्फत थप संलग्नहरूबारे महत्वपूर्ण जानकारी प्राप्त भएको छ । यसरी ठूला चोरीमा संलग्न हुने समूहलाई नियन्त्रणमा लिन सजिलो हुँदैन, तर प्रहरीले गुप्त सूचना संकलन र नियमित अपरेसनमार्फत यो सफलता हासिल गरेको हो ।’

निरीक्षक यादवका अनुसार बजार क्षेत्रमा पछिल्लो समय चोरीका घटनामा वृद्धि भएको देखिएको छ । उनले भने,‘व्यापारीहरूलाई त्रासमुक्त वातावरण सिर्जना गर्नु हाम्रो प्राथमिकता हो । चोरी मात्र होइन, यस क्षेत्रका अन्य आपराधिक गतिविधि नियन्त्रणका लागि पनि प्रहरी विशेष अभियानमा जुटिरहेको छ ।’

उनले स्थानीय व्यापारीहरूलाई पनि सहयोगको आह्वान गर्दै भने,‘पसल र घरमा सकेसम्म सिसिटिभी जडान गर्नुपर्छ । राति सर्तक रहनुपर्छ । प्रहरी मात्रले मात्रै नभई स्थानीय बासिन्दा र व्यापारीले पनि आफ्नो क्षेत्रको सुरक्षामा जिम्मेवारी बाँड्नुपर्छ । यसरी सामूहिक प्रयास भएमा यस्ता अपराधहरू न्यूनीकरण गर्न सकिन्छ ।’

-इन्दीप कोइराला