मनसुनले चीनसँगको व्यापार ठप्प, दसैंतिहारमा महँगीको मार


काठमाडौं ।

मनसुनजन्य बाढीपहिरोका कारण चीनसँगका प्रमुख व्यापारिक नाका तातोपानी र रसुवागढी ठप्प हुँदा करिब ४ सय कन्टेनर सामान सीमामा अलपत्र परेका छन्। दसैंतिहार लक्षित लत्ताकपडा, जुत्ता, स्याउ, लसुन, ड्राइ फ्रुट्स र इलेक्ट्रोनिक सामान नआउँदा बजारमा अभाव र मूल्यवृद्धि हुने देखिएको छ।

व्यवसायीहरूले वैकल्पिक नाका खोल्न र तत्काल अस्थायी व्यवस्थामार्फत ढुवानी सहज बनाउन सरकारसँग माग गरेका छन्। रसुवा र तातोपानी दुबै नाकामा संरचनागत क्षति भएका कारण चाडपर्वअघि सुधारको सम्भावना न्यून देखिन्छ।

दीर्घकालीन समाधानका लागि मुस्ताङजस्ता सुरक्षित नाका सञ्चालनमा ल्याउनुपर्ने व्यवसायीको जोड छ।