सुदूरपश्चिममा विधिवत् रुपमा गौरा पर्व शुभारम्भ

282
Shares

डोटी ।

सुदूरपश्चिम प्रदेशको मौलिक पर्व गौरा पर्व आजदेखि विधिवत् रुपमा शुभारम्भ भएको छ । पर्वको पहिलो दिन आज व्रतालु महिलाले बिरुडा (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको सुरुवात गर्ने चलन छ । त्यसैले आजको दिनलाई बिरुडा पञ्चमी पनि भनिन्छ ।

पुत्रदा एकादशीको व्रत बसिसकेपछि भदौको बिरुडा पञ्चमीदेखि गौरा पर्व विधिवत् रुपमा सुरु हुने शेल्ेश्वरी मन्दिर डोटीका पुजारी प्रेमशंकर भट्टले बताउनुभयो । उहाँका अनुसार तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो, अक्षताले सिँगारी त्यसभित्र बिरुडा राखिन्छ । बिरुडालाई गौरीको प्रसादका रुपमा लिइन्छ । गौरादेवीको पूजामा बिरुडा प्रयोग गरिन्छ ।
एक महिनाअघि देखि नै शुद्ध शाकाहार र बह्मचार्यको पालना गर्नुपर्ने र बिरुडा भिजाइँदा माङ्गलिक सगुन फाँग गाउने चलन रहेको तथा गौरा पर्वमा पुरुषको व्रतबन्ध गरेजस्तै महिलाले दुवधागो लगाउँने चलन रहेको जोरायल गाउँपालिका–५ की स्थानीय दुगौदेबी विष्टले जानकारी दिनुभयो ।

आजैदेखि यहाँका विभिन्न जिल्लामा ठाउँ अनुसार फरक फरक तरिकाले सुदूरपश्चिमको प्रख्यात देउडा खेल खेलिने प्रचलन रहेको छ । प्राचीनकालदेखि नै पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रुपमा भगवान् शिवकी अर्धाङ्गिनी पार्वतीलाई गौरा देवीका रुपमा पूजाअर्चना गर्ने चलन रहेको छ ।

पाँच प्रकारका अन्न गहुँ, केराउ, गहत, मास र गुरास मिसाएर बिरुडा (क्वाँटी) भिजाएर यहाँका महिलाले आ–आफनो पायक पर्ने धारामा बिहीबार बिहान पखाली शुक्रबार बिहानै गौरा देवी भित्र्याउने तयारीमा रहेका छन् । गौरा देवी भित्र्याएपछि यहाँको चहलपहलमा निकै रौनकता छाउने गरेको छ ।

डोटीको दिपायल, गड्सेरा, जोरायल क्षेत्र, बर्छैन, बानेडुंग्रीसैन, मुडभरा, मुडेगाउँमा गौरा पर्व निकै उत्साहका साथ मनाइन्छ । त्यसमा पनि भूमिराजमाडौंको फन्नी, मुडेगाउँमा गौरा पर्वको बेग्लै रौनक हुने गर्छ । गाउँको चलनअनुसार फरक–फरक रूपमा गौरा मनाउने गर्छन् ।