सर्लाही ।
सर्लाहीको लालबन्दीमा रहेको नगर अस्पतालमा पछिल्लो समय सुरक्षित सुत्केरी गराउनेको संख्या बढेको छ।
सुत्केरी सेवा लिन छिमेकी जिल्ला सहित दुर्गम गाउँका गर्भवती महिला बढी आउने गरेको मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चन्दन चौधरीले जानकारी दिनुभयो।
नगर अस्पताल लालबन्दीमा सिन्धुली, रौतहट, महोत्तरी सहित विभिन्न जिल्लाका गर्भवती महिलाले आर्थिक वर्ष २०८१|८२ मा १ हजार १२४ महिलाले सुरक्षित सुत्केरी सेवा लिएका छन्। तीमध्ये ७९५ जनाको सामान्य प्रसूति, ३२७ जनाको शल्यक्रियामार्फत सुत्केरी र दुई जनाको भ्याकुम प्रविधिबाट सुत्केरी गराइएको डाक्टर चौधरीले जानकारी दिनुभयो।
त्यसैगरी १९५ जना महिलाले औषधिको प्रयोगबाट गर्भपतन सेवा लिएका छन् भने ६७ जना महिलाले सर्जिकल गर्भपतन सेवा लिएका छन्। स्थानीय स्तरमा भरपर्दो प्रसूति सेवा नहुँदा यहाँका गर्भवती महिलाले यसअघि महँगो निजी अस्पतालबाट सेवा लिइरहेका थिए। दुर्गम गाउँबाट बोकेर ल्याइएका गर्भवतीलाई जनकपुर वीरगञ्ज पठाउनु पर्ने समस्या टरेको स्थानीयको भनाइ छ।
अस्पतालले प्रसूति सेवा बाहेक मानसिक रोग, ल्याब सेवा, थाइराइड परीक्षण, एन्टी–रेबिज भ्याक्सिन, भिडियो एक्सरे सेवा, सामान्य एक्सरे सेवा, मुटुको ईसीजी सेवा सञ्चालन गरेको अस्पतालका प्रशासन प्रमुख जनस्वास्थ्य निरीक्षक हिमांशु शेखर कर्णले जानकारी दिनुभयो।
त्यसैगरी नगर अस्पतालबाट बालबालिकाको खोप कार्यक्रम, क्षयरोगको परीक्षण र उपचार, कुष्ठरोगी औषधि सेवन र २४ घण्टा इमर्जेन्सी सेवा सञ्चालन गरिएको छ। नगर अस्पताल लालबन्दीमा विशेषज्ञ चिकित्सकसहित अहिले ६० जना स्वास्थ्यकर्मी कार्यरत रहेका छन्। अस्पतालले स्वास्थ्यकर्मी थप गरी ‘कल्चर टेस्ट’, ‘इको सेवा’, हिंसा पीडित उद्धार तथा उपचार सेवा र शव पोस्टमार्टम सेवा सुरु गर्ने तयारी गरेको छ।











प्रतिक्रिया