संवैधानिक इजलासमा न्यायाधीश छनोट अब प्रधानन्यायाधीशको विवेकमा


काठमाडौं ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले संवैधानिक इजलासमा न्यायाधीश तोक्ने विषयमा नयाँ निर्णय लिएका छन् । बुधबार पत्रकारहरूसँग कुरा गर्दै उनले अब वरिष्ठताको आधारमा नभई आफूले छनौट गरेर संवैधानिक इजलास गठन गर्ने बताएका हुन् ।

यसअघि संवैधानिक इजलासमा न्यायाधीशहरू वरिष्ठताको आधारमा तोकिँदै आएका थिए । तर पछिल्लो समय इजलासमा रहेका न्यायाधीशहरूबीच राय असहमति बढेपछि प्रधानन्यायाधीशले ‘गोला प्रथा’मार्फत तोक्ने अडान राख्दै आएका थिए । तर अब उनले प्रत्यक्ष रुपमा आफ्नो अधिकार प्रयोग गर्दै आफैंले छनौट गर्ने निर्णय सार्वजनिक गरेका हुन् ।

यस निर्णयको विपक्षमा वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लसहितका अन्य न्यायाधीशहरू खुलेरै उभिएका छन् । उनीहरूले गोला प्रथामार्फत वा वरिष्ठताको आधारमा मात्रै न्यायाधीश तोक्नुपर्ने धारणा सार्वजनिक गर्दै प्रधानन्यायाधीशको कदममाथि असन्तोष व्यक्त गरेका छन् ।

संवैधानिक इजलास गठनको विषयमा देखिएको यस विवादले सर्वोच्च भित्रै नयाँ ध्रुवीकरण निम्त्याएको छ । न्यायिक स्वतन्त्रता र पारदर्शितामा यसले प्रभाव पार्ने कि भन्ने प्रश्न पनि उठ्न थालेको छ ।