खोटाङ ।
भदौ–११, जिल्ला प्रशासन कार्यालय खोटाङबाट जारी गरिएको राष्ट्रिय परिचयपत्र अधिकांश दर्ताबिहिन पाईएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका सामाजिक सुरक्षा भत्ता लाभग्राहीको राष्ट्रिय परिचयपत्र अधिकांश दर्ताबिहिन पाईएको हो ।
स्थानीय सहजताका लागि वडा कार्यालय खार्मीमा सञ्चालन गरिएको नबीकरण कार्य राष्ट्रिय परिचय पत्र साथैमा लिएर गएका लाभग्राहीको ‘सिस्टम’मा दर्ता नभेटिएको वडा सचिब होमनाथ खनालले बताउनुभयो । भदौ–६ र ७ गते वडाले सञ्चालन गरेको सिफारिस तथा नबीकरण कार्यमा २०७७ सालमा बनाईएको परिचयपत्रको दर्ता नपाईएको हो ।
करिब एक सय जना लाभग्राहीको राष्ट्रिय परिचयपत्रको रेकर्ड नपाइएको सचिब खनालको भनाई छ । जिल्ला प्रशासन कार्यालयको टोलीले वडामै शिबिर सञ्चालन गरी बनाईदिएको परिचयपत्रको दर्ता नपाईएपछि लाभग्राही पुनः सदरमुकाम दिक्तेल नै पुग्नुपर्ने झण्जट परेको छ । परिचयपत्र भए पनि दर्तामा नपाएपछि बिशेषगरी बृद्दा तथा अपाङ्गता भएका लाभग्राहीले समस्या झेल्नु परेको दुखेसो गरेका छन् । बर्षाका कारण कच्ची सडक बिगिएका कारण स्थानीयबासी गाडी रिजर्भ गरेर कष्टका साथ दिक्तेल पुग्नुपर्ने बाध्यता रहेको छ ।
कार्ड भएर पनि दर्ता नै छैन भनेपछि मनै मरेको खार्मीका जेष्ठ नागरिक गोबरधन राईले बताउनुभयो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सामाजिक सुरक्षाभत्ता वितरण गर्ने बैङ्क परिवर्तन हुँदा समेत लाभग्राहीलाई समस्या भएको हो । सालपा विकास बैङ्कले यसअघि वितरण गर्दै आएको दशवटामध्ये पाँचवटा वडा यस आर्थिक वर्ष २०८२÷८३ देखि छाडेपछि अर्को बैङ्क परिवर्तन गर्नुपर्दा लाभग्राहीहरु समस्यामा परेका हुन् ।
सालपा विकास बैङ्कले छाडेको वडा नम्बर–८ दोर्पाबुवालुङ र ११ खार्मीको अहिलेसम्म बैङ्क नै टुङ्गो लागेको छैन ।
बैङ्क टुङ्गो लागेका वडाका लाभग्राहीका लागि समेत नयाँ खाता खोल्न बैङ्कले अनिवार्य राष्ट्रिय परिचयपत्र लागू गरेपछि झनै समस्यामा परेका छन् ।
बैङ्क परिवर्तन तथा राष्ट्रिय परिचयपत्र बनाउनका लागि वृद्धावस्थाका अधिकांश लाभग्राहीहरु गाडी रिजर्भ गरेर दिक्तेल आउने गरेका छन् । रिजर्भ गरेको गाडी लिएर आउँदा पनि समयमा राष्ट्रिय परिचयपत्र नबन्दा काम गर्न नपाएका लाभग्राहीहरु होटलमा बस्नुपर्दा थप समस्यामा परेका छन् ।
हाल जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको भीड लागेको छ । बिहान दश बजेदेखि लाइनमा राखेर टोकन सिस्टममार्फत फारम भराउने गरिएको छ । तर, एउट स्टेशन अनि एकजनामात्रै कर्मचारी हुँदा पालैपालो फारम भर्ने प्रणालीले राति अबेरसम्म पर्खेर बस्दा पनि धेरै सेवाग्राही त्यसै फर्कन बाध्य छन् । पछिल्लो समय सामाजिक सुरक्षाभत्ता लिने लाभग्राहीको विवरण नवीकरण गर्न अनिवार्य वायोमेट्रिक्स गर्नुपर्ने नियम सरकारले लागू गरेपछि सबैभन्दा बढी उनीहरुलाई सास्ती भएको छ ।
२०७७ साउन–१ गतेबाट राष्ट्रिय परिचयपत्रको फारम भर्ने काम सुरु गरिएको जिल्लामा एक लाख २२ हजार २ सय ७५ जना नागरिकले राष्ट्रिय परिचयपत्रको फारम भरिसकेको तथ्याङ्कमा उल्लेख छ ।











प्रतिक्रिया