काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयको केन्द्रीय सूक्ष्म जीव विज्ञान विभाग र धुलिखेल अस्पताल, काठमाडौं विश्वविद्यालय अस्पतालबीच हालै समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । यो समझदारीले चिकित्सा अनुसन्धान, शिक्षण तथा स्वास्थ्य सेवा क्षेत्रलाई नयाँ आयाम दिने अपेक्षा गरिएको छ ।
सन् १९५९ मा स्थापना भएको त्रिभुवन विश्वविद्यालय नेपालको पहिलो र सबैभन्दा पुरानो विश्वविद्यालय हो । यसले देशको उच्च शिक्षामा ऐतिहासिक योगदान पुर्याउँदै आएको छ । विश्वविद्यालय अन्तर्गतको केन्द्रीय सूक्ष्म जीव विज्ञान विभागले विगत चार दशकदेखि संक्रामक रोग, जीवाणु, भाइरस र स्वास्थ्य सुरक्षासम्बन्धी अनुसन्धानमा महत्वपूर्ण भूमिका खेलेको छ । यस विभागले नेपालमा संक्रामक रोगहरूको अध्ययन, प्रयोगशाला–निदान प्रविधि र नयाँ पुस्ताका विज्ञ उत्पादनमा उल्लेखनीय योगदान दिएको छ ।

धुलिखेल अस्पतालको स्थापना १९९६ मा भएको हो । काठमाडौं विश्वविद्यालय शिक्षण अस्पतालको रूपमा विकसित यो संस्था हाल देशकै अग्रणी सामुदायिक–शैक्षिक अस्पतालमध्ये एक हो । ४५० भन्दा बढी शैयासहितको अस्पतालले काभ्रेपलाञ्चोक मात्र नभई पूर्वी र मध्ये नेपालका लाखौँ नागरिकलाई स्वास्थ्य सेवा पुर्याउँदै आएको छ । ग्रामीण पहुँचमा जोड दिँदै धुलिखेल अस्पतालले “कम्युनिटी वेस अस्पताल” को अवधारणालाई नेपालमा प्रोत्साहन गरेको छ ।

यसले नेपालमै पहिलो पटक “हेल्थ फर अल” अवधारणामा आधारित ग्रामीण स्वास्थ्य पोस्टहरूको सञ्जाल विस्तार गरेको छ, जसका कारण दुर्गम क्षेत्रका बासिन्दाले पनि गुणस्तरीय स्वास्थ्य सेवा पाउने अवसर पाएका छन्। ।
यस पटकको समझदारीपत्रले मेडिकल सूक्ष्म जीव विज्ञान तथा संक्रामक रोगसम्बन्धी अनुसन्धानलाई सुदृढ पार्नेछ । साथै, विद्यार्थी, अनुसन्धानकर्ता र संकायबीच शैक्षिक आदानप्रदान हुनेछ । धुलिखेल अस्पतालका चिकित्सक र प्राध्यापकहरूले विश्वविद्यालयका विद्यार्थीलाई व्यवहारिक ज्ञान दिनेछन् भने विभागका अनुसन्धानकर्ताले अस्पतालको प्रयोगशालामा नवीनतम परीक्षण र अनुसन्धान प्रविधि विकास गर्नेछन्। ।
धुलिखेल अस्पतालले सार्वजनिक गरेको सन्देशमा उल्लेख गरिएकोछ । “सहयोगकै माध्यमबाट अर्थपूर्ण परिवर्तन सम्भव छ । यस साझेदारीले गुणस्तरीय स्वास्थ्य सेवा, सुदृढ अनुसन्धान र स्वस्थ भविष्य निर्माणमा टेवा पुर्याउनेछ ।”
नेपालमा संक्रामक रोग अझै सार्वजनिक स्वास्थ्यको ठूलो चुनौती बनेको छ ।
क्षयरोग, डेंगु, टाइफाइड, हेपाटाइटिस, एचआईभी, एड्स जस्ता रोगहरू नियन्त्रणका लागि शैक्षिक संस्था र अस्पतालबीच सहकार्य अपरिहार्य मानिन्छ । यही कारण यो समझदारीले दीर्घकालीन स्वास्थ्य रणनीतिमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
त्रिभुवन विश्वविद्यालयले शैक्षिक तथा अनुसन्धानात्मक पाटोलाई बलियो बनाउँछ भने धुलिखेल अस्पतालले सेवा र व्यवहारिक पक्षलाई सशक्त बनाउनेछ । यी दुई संस्थाबीचको सहकार्य नेपाली स्वास्थ्य क्षेत्रको भविष्यका लागि एक महत्वपूर्ण माइलस्टोन मानिएको छ ।












प्रतिक्रिया