सुटकेस लैजाने ई–रिक्सा चालक नियन्त्रणमा

6.02k
Shares

रौतहट ।

रौतहटमा सुटकेसभित्र भेटिएको महिलाको शवको व्यवस्थापनमा सहयोग गर्ने एक आरोपितलाई प्रहरीले पक्राउ गरेको छ ।
रौतहटको माधवनारायण नगरपालिका–२ निवासी २६ वर्षीया रुबीकुमारी साहको हत्यापछि शव लुकाउन प्रयोग भएको ई–रिक्साका चालक लक्ष्मण महरा पक्राउ परेका छन् । रुबीको हत्याराले ई–रिक्सा चालक महरालाई सुटकेस राखिएको शव फाल्न लैजान ५ सय रुपियाँ भाडामा लिएका थिए । उनको शव गंगापिप्रा गाउँसम्म सुटकेसमा लैजान हत्याराले ई–रिक्सा भाडामा लिएको प्रहरीको भनाइ छ ।

शव भेटिएको मुडलवा गेटनजिक ई–रिक्साको चक्कामा समस्या आएपछि हत्यारा आरोपीले ई–रिक्सालाई फिर्ता पठाई सुटकेस सडकमै राखेर भागेको प्रहरीको भनाइ छ । पक्राउ परेका महराले सुटकेसभित्र के सामान छ भन्ने आफूलाई थाहा नभएको बयान दिएका छन् । रुबीको हत्या आरोपितको खोजी भइरहेको जिल्ला प्रहरीका डीएसपी राजु कार्कीले बताउनुभयो । रुबीलाई हत्याराले शनिवार राति आफ्नो डेरामा बोलाएर हत्या गरेको निष्कर्षमा प्रहरी पुगेको छ ।