रौतहट सुटकेस हत्या प्रकरण : अनुसन्धानमा महत्त्वपूर्ण ‘क्लू’, एक युवक पक्राउ


रौतहट ।

रौतहटमा हत्या गरेर सुटकेसमा फालिएकी २६ वर्षीया रुबीकुमारी साह सुडीको घटनामा प्रहरीले महत्त्वपूर्ण प्रगति गरेको छ। घटनामा संलग्न भएको आरोपमा एक युवक पक्राउ परेपछि अनुसन्धान निर्णायक चरणमा पुगेको मधेस प्रदेश प्रहरी प्रमुख डीआईजी उमाप्रसाद चतुर्वेदीले बताएका छन्।

“हामी हत्यारासम्म पुग्ने ढोकामा छौँ। शव व्यवस्थापनमा संलग्न युवकलाई नियन्त्रणमा लिएका छौँ। मुख्य हत्याराको खोजी तीव्र भइरहेको छ,” डीआईजी चतुर्वेदीले सोमबार पत्रकारसँग भने।

सुटकेस र सामाजिक सञ्जालमै मिल्दोजुल्दो प्रमाण

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार पक्राउ परेका युवक हालै वैदेशिक रोजगारीबाट फर्किएका हुन्। रुबीसँग पुरानै चिनजान रहेको युवकको सामाजिक सञ्जालमा राखिएको सुटकेसको फोटो र रुबीको शव भेटिएको सुटकेस मिल्दोजुल्दो देखिएको छ। यस आधारमा प्रहरीले उनलाई अनुसन्धानको घेरामा ल्याएको हो।

आमासँग अन्तिम फोन संवाद

गौर नगरपालिका–२ महादेवपट्टीमा कोठा लिएर बस्दै आएकी रुबी शनिबार साँझ ब्युटी पार्लर गएकी थिइन्। पार्लरबाट फर्कंदै गर्दा साँझ ६:३० बजे आमासँग फोनमा कुरा गरेर छोराका लागि जुस ल्याइदिने बताएकी थिइन्। त्यसपछि भने उनको सम्पर्क टुट्यो। रातभर फोन लागेन। भोलिपल्ट बिहान गौर नगरपालिका–९ सिरसिया सडक खण्ड नजिक सुटकेसभित्र उनको शव भेटिएको थियो।

मुजफ्फरपुरमा घर, छोराको पढाइका लागि रौतहटमा बसाइ

माधवनारायण नगरपालिका–६ माइती भएकी रुबीले करिब १३ वर्षअघि भारतको मुजफ्फरपुर निवासी शिवसागरसँग विवाह गरेकी थिइन्। शिवसागर त्यहाँ होटल व्यवसाय गर्छन्। छोराको पढाइ सहज बनाउन उनले श्रीमती र छोरालाई रौतहटमा राखेका थिए। घटनापछि उनी मुजफ्फरपुरबाट सीधा रौतहट आएका छन्।

घटनास्थल र सीमा सुरक्षा

शव भेटिएको स्थान भारतीय सीमा बैरगनियाबाट करिब दुई किलोमिटर टाढा पर्छ। पछिल्लो समय त्यहाँ सुरक्षा जाँच कडाइ गरिएको हुँदा शव नेपालकै क्षेत्रमा व्यवस्थापन गरिएको हुनसक्ने प्रहरीको अनुमान छ। मृतकका आफन्तले पनि घटना गौर क्षेत्रमै घटेको दाबी गरेका छन्।

प्रहरीले यस घटनालाई संवेदनशील मानेर अनुसन्धान अघि बढाएको छ। पक्राउ परेका युवकविरुद्ध थप प्रमाण संकलन भइरहेको छ भने मुख्य हत्याराको खोजीमा नेपाल–भारत दुवै सीमा क्षेत्रमा सुराकी गतिविधि तीव्र पारेको छ।