टेली डिजिटल सर्भिसेस गुगल क्लाउड पार्टनर एड्भान्टेजको आधिकारिक पार्टनर


काठमाडौं ।

रमेश कर्प समूहअन्तर्गतको टेली डिजिटल सर्भिसेसले गुगल क्लाउडसँगको सहकार्यलाई थप विस्तार गर्दै गुगल क्लाउड पार्टनर एड्भान्टेज कार्यक्रममा आधिकारिक गुगलवर्कस्पेस सेल पार्टनर का रूपमा सामेल भएको घोषणा गरेको छ ।

सन् २०२३ देखि आधिकारिक गुगलवर्कस्पेस रिसेलरको मान्यता पाएको कम्पनीले अब नेपाली व्यवसायलाई सहज तरिकाले गुगलवर्कस्पेस लाइसेन्समा पहुँच दिलाउनेछ । स्थानीय भुक्तानी सुविधा, तत्काल लाइसेन्स डेलिभरी र सम्पूर्ण प्राविधिक सपोर्टसहित कम्पनीले एउटै स्थानबाट सबै सेवा उपलब्ध गराउने तयारी गरेको छ ।

हालसम्म टेली डिजिटलले ५० भन्दा बढी व्यवसायलाई सेवा दिइसकेको छ । कम्पनीले परम्परागतमा आधारित इमेल प्रणालीको सट्टा जीमेल–आधारित प्रोफेसनल इमेल समाधानसहित डकुमेन्ट, सिट्स, ड्राइभ र मिटजस्ता एकीकृत सहकार्य उपकरणहरू प्रदान गर्दै व्यवसायलाई अझ प्रतिस्पर्धी बनाउँदै आएको छ ।

सीईओ नवाँकुर सूदले यस साझेदारीलाई डिजिटल रूपान्तरणको दिशामा महत्वपूर्ण उपलब्धि बताएका छन् । उनका अनुसार टेली डिजिटलले नेपाली व्यवसायलाई विश्वस्तरीय डिजिटल प्लेटफर्मसँग जोड्दै परम्परागत प्रणालीका सीमाहरू हटाएको छ, जसले कम्पनीलाई आफ्नै विकास र विस्तारमा केन्द्रित हुन सहज बनाएको छ ।

मार्केटिङ प्रमुख निखिल खेराडीका अनुसार कम्पनीको तत्काल डेलिभरी क्षमताले नै बजारमा फरक बनाएको छ । उनका भनाइमा, परम्परागत प्रणालीमा व्यवसायले इमेल समाधान पाउन प्रायः एक हप्ताभन्दा बढी कुर्नुपर्ने भए पनि टेली डिजिटलमार्फत तुरुन्तै गुगल वर्कस्पेसमा अनबोर्डिङ गर्न सकिन्छ ।

कम्पनीको यो सहकार्यले नेपालमा अझै पनि सिप्यानल प्रणालीमा निर्भर व्यवसायलाई आधुनिक क्लाउड–आधारित समाधानतर्फ उन्मुख गराउने अपेक्षा गरिएको छ । अब व्यवसायहरूले ईमेल, डकुमेन्ट सिर्जना, सहकार्य र कम्युनिकेशनका सम्पूर्ण सुविधा एउटै प्लेटफर्ममा, जीमेलको भरोसायुक्त इन्फ्रास्ट्रक्चरमार्फत प्राप्त गर्न सक्नेछन् ।