चीन एक्जिम बैंकको एजेन्टमा सानिमा बैंक नियुक्त, जलविद्युत आयोजनामा सहजीकरण गर्ने


काठमाडौँ
चीनको निर्यात आयात बैंक (चाइना एक्जिम बैंक)ले सानिमा बैंक लिमिटेडलाई नेपालका लागि एजेन्ट बैंकको रूपमा नियुक्त गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार सानिमा बैंकले मनाङ मस्र्याङ्दी हाइड्रोपावर प्रा.लि. (१३५ मेगावाट) र लाङटाङ भोटेकोशी हाइड्रोपावर प्रा.लि. (१२० मेगावाट) गरी दुई जलविद्युत् आयोजना वित्तीय सहजीकरण तथा मध्यस्थकर्ताको भूमिकामा रहनेछ ।

चीनस्थित चाइना एक्जिम बैंकको शियामेन शाखामा आयोजित विशेष कार्यक्रममा सम्झौतामा हस्ताक्षर भएको हो। सानिमा बैंकतर्फबाट प्रमुख निक्षेप अधिकृत हेम राज सञ्ज्याल र चाइना एक्जिम बैंकतर्फबाट शियामेन शाखाकी उपाध्यक्ष चेन रोङ्गलिनले हस्ताक्षर गरेका हुन् । कार्यक्रममा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डे, शियामेन बैंकका अध्यक्ष चेन रोङ्गलिन तथा कुन्मिङ इन्टरनेशनल का अध्यक्ष ली शेङ समेत उपस्थित थिए।

समारोहमा बोल्दै प्रमुख कार्यकारी अधिकृत पाण्डेले सानिमा बैंकलाई एजेन्ट बैंकको रूपमा विश्वासपूर्वक छनोट गरेकोमा आभार व्यक्त गरे। उनले यस सहकार्यले अन्तर्राष्ट्रिय व्यापारिक सम्बन्ध विस्तार गर्ने, ऊर्जा, जलविद्युत् र व्यापार पूर्वाधारका क्षेत्रमा महत्वपूर्ण टेवा पुर्याउने बताए। पाण्डेले यस सम्झौता नेपाललाई दिगो विकासतर्फ अघि बढाउन महत्वपूर्ण योगदान गर्ने अपेक्षा व्यक्त गर्नुभयो ।

त्यसैगरी चाइना एक्जिम बैंक र मुख्य लगानीकर्ता कम्पनीका प्रतिनिधिले दुवै आयोजना समयमै सम्पन्न गर्न सहजीकरण गर्ने संयुक्त प्रतिबद्धता व्यक्त गनुभयो । उनीहरूले यी परियोजनाबाट प्राप्त अनुभवले भविष्यमा अन्य ठूला परियोजनामा सहकार्य गर्ने मार्ग खोल्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

सानिमा बैंकका अनुसार यी परियोजनाका लागि हालसम्मकै ठूलो परिमाणमा चिनियाँ मुद्रा (आरएमबी) को अन्तरदेशीय कारोबार नेपालमा भित्राइएको छ । यसले बैंकको कार्यक्षमता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साख वृद्धि गर्ने मात्र नभई देशको ऊर्जा उत्पादन, पूर्वाधार निर्माण र दिगो आर्थिक विकासमा दीर्घकालीन योगदान पुर्याउने देखिएको छ ।