काठमाडौँ।
अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी-२० सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ । बुधबार भएको आफ्नो पाँचौं खेलमा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले हराएको हो ।
नेपालले दिएको १४० रनको लक्ष्य पछ्याएको रेनेगेड्स २० ओभरमा १०६ रनमा अलआउट भयो । रेनेगेड्सका अर्जुन नायरले सर्वाधिक २६ रन बनाए । जे लेमिरले १८ तथा ह्यारी डिक्सनले १६ रन बनाए ।
नेपालका लागि सोमपाल कामीले ४ ओभरमा १७ रन दिएर ५ विकेट लिए भने कुशल भुर्तेलले २ विकेट लिँदा रुपेश सिंह, दिपेन्द्रसिंह ऐरी र शाहब आलमले १-१ विकेट लिए ।
त्यसअघि नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएको थियो ।
नेपाल हालसम्म खेलेका ५ खेलमध्ये सुरुवाती ३ खेलमा लगातार पराजित हुँदा त्यसपछि लगातार २ जित निकालेको हो ।











प्रतिक्रिया