काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अटोमोबाइल व्यवसायी वा निजी क्षेत्र असन्तुष्ट हुनुपर्ने कुनै कारण नभएको बताउनुभएको छ । मंगलबार काठमाडौंमा शुुरू भएको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) द्वारा आयोजित १७औँ संस्करणको नाडा अटो शो २०२५ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अहिले निजी क्षेत्र तथा अटो क्षेत्र असन्तुष्ट हुनुपर्ने ठाउँ नभएको बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले मौद्रिक नीतिदेखि वित्त नीति पनि निकै व्यवहारिक र व्यवसायीमैत्री बनेको दाबी गर्दै सरकारले स्टार्टअप, इनोभेसन र उत्पादनलाई सधैँ प्रोत्साहन गरेको बताउनुभयो । उहाँले सडकलगायत पूर्वाधार विकासमा प्राथमिकताका साथ काम भइरहेको समेत बताउनुभयो । प्रधानमन्त्री ओलीले सरकार अग्रगमन र आधुनिकीकरणका लागि नीतिगत व्यवस्थासहित पूर्वाधार विकासमा निरन्तर काम गरिरहेको उल्लेख गर्दै निजी क्षेत्रले लगानी र व्यवसाय गर्न कुनै अवरोध नहुने आश्वासन दिनुभयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्डर भइसकेका युरो–६ भन्दा तलका गाडी एकपटकका लागि आयात गर्न दिन सरकारसँग आग्रह गर्नुभयो ।
उहाँले युरो–६ मापदण्ड सकारात्मक भए पनि तत्कालै कार्यान्वयन गर्दा केही समस्या आउन सक्ने भन्दै अस्थायी सुविधा दिनुपर्ने धारणा राख्नुभयो ।
ढकालले नाडा अटो शोले नेपालको अर्थतन्त्रमा योगदानको दिएको भन्दै यस्ता प्रदर्शनीहरूले बजार र ग्राहकलाई नजिक ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
अध्यक्ष ढकालले पछिल्लो दुई वर्षयता चुनौतीपूर्ण आर्थिक अवस्था भए पनि अहिले बजारमा सुधारका संकेत देखिएको भन्दै सवारी साधनको बिक्री करिब ४० प्रतिशतले वृद्धि भएको, कर्जा प्रवाह ८ दशमलव ७ प्रतिशतले बढेको छ, बैंकहरूको नाफा बढ्दो अवस्थामा रहेकाले बजारमा विश्वास बढेको बताउनुभयो ।
भृकुटीमण्डपमा शुुरूमा टेस्ला, टाटा, सुजुकी, हार्ले डेविड्सनलगायत १२५ भन्दा बढी ब्रान्डका सवारीसाधन, पाट्र्स, उपकरण र वित्तीय सेवाहरू प्रदर्शनीमा राखिएका छन् ।
यसअघि केही हप्तामै सम्पन्न भएको नाइमा मोबिलिटी एक्स्पो पछि आयोजना गरिएको यस शोले नेपालमा तीव्र गतिमा विकसित भइरहेको अटोमोबाइल प्रविधिलाई प्रस्तुत गर्ने उद्देश्य लिएको आयोजकहरूको भनाइ छ ।
अटो लोन र ईभीको अफरमा प्रतिस्पर्धा
१७औँ नाडा अटो शो मा आठ वाणिज्य बैंकहरूबीच आकर्षक अटो लोन योजनामा प्रतिस्पर्धा देखिएको छ । सहभागी बैंकहरूले ग्राहकलाई न्यूनतम ६ दशमलव २३ प्रतिशतदेखि ८ दशमलव १५ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गराउने घोषणा गरेका छन् । जसमध्ये नबिल बैंकले आधारदर ५ दशमलव ७४ प्रतिशतमा १ प्रतिशत प्रिमियम थपेर ६ दशमलव ७४ प्रतिशत ब्याजदरमा ईभी गाडी खरिदका लागि ऋण उपलब्ध गराउने भएको छ । यस ऋणको अवधि न्यूनतम ५ वर्षदेखि ७ वर्षसम्म रहनेछ ।
त्यस्तै हिमालयन बैंकले ईभीका लागि ७ दशमलव ५ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने घोषणा गरेको छ । साथै डिजल गाडीका लागि भने ८ वर्ष अवधिसम्म ७ दशमलव ६५ प्रतिशत ब्याजदरमा ऋण दिने जनाएको छ । एनएमबी बैंकले फिक्स्ड र फ्लोटिङ दुवै विकल्पमा अटो लोन ल्याएको छ । सात वर्ष अवधिका लागि फिक्स्ड ब्याजदर ८ दशमलव ८९ प्रतिशत र फ्लोटिङ ब्याजदर ७ दशमलव ५० प्रतिशत तोकिएको छ ।
लक्ष्मी सन्राइज बैंकले आधारदरमा १ प्रतिशत थप गरी अटो लोन दिनेछ । फ्लोटिङ दरमा ७ दशमलव ३५ प्रतिशत र फिक्स्ड दरमा सात वर्षसम्म ७ दशमलव ९९ प्रतिशत ब्याजदर तोकिएको छ । ग्लोबल आइएमईले ६ दशमलव ९९ प्रतिशतदेखि ८ दशमलव २५ प्रतिशत ब्याजदरमा अटो लोन दिनेछ । बैंकले फ्लोटिङदरमा न्यूनतम ६ दशमलव ९९ र फिक्स्डदरमा ८ दशमलव २५ प्रतिशत ब्याजदर तोकिएको छ ।
यसैगरी कृषि विकास बैंकले सबैभन्दा कम ब्याजदर सार्वजनिक गरेको छ । यस बैंकले ईभी खरिदका लागि ६ दशमलव २३ प्रतिशत ब्याजदरमा लोन दिनेछ । साथै, नाडा अवधिभर सेवा शुल्कमा ३३ प्रतिशत छुट दिने घोषणा गरेको छ । सानिमा बैंकले पाँच वर्षका लागि ७ दशमलव ९९ प्रतिशत र सात वर्षका लागि ८ दशमलव १५ प्रतिशत ब्याजदरमा अटो लोन दिनेछ । नेपाल एसबीआई बैंकले आधारदरमा ० दशमलव ७० प्रतिशत प्रिमियम थपेर लोन दिने जनाएको छ। हाल ईभीमा ६० प्रतिशत ऋण सुविध छ । ग्राहकले ईभी खरिद गर्दा ४० प्रतिशत डाउन पेमेन्ट अनिवार्य गर्नुपर्नेछ ।
त्यस्तै १७औँ नाडा अटो शो शुुरू राखिएका ३६ ब्रान्डका सवारी साधनमध्ये १८ चारपांग्रे ब्रान्ड हुन् भने ६ वटा ब्रान्डले बजेट फ्रेण्डली ईभी (इलेक्ट्रिक कार) सार्वजनिक गरेका छन् । जसमध्ये डङफेङ नामी ई १ गाडी ३२ लाख मूल्यमा रहेको छ । यो ह्याचब्याक ३३० किमी रेन्ज दिन्छ । शोमा बुकिङ गर्दा ८० हजार छुट पाइनेछ ।
त्यस्तै होएन ईए गाडकिो साधारण मूल्य २८ लाख भए पनि शोमा २१ लाखमै उपलब्ध, खरिदकर्ताले सित्तैमा एउटा ईभी स्कुटर पाउने सुविधा । यसको २८० किमी रेन्ज छ । सेरेस मिनि ईभीको १८ दशमलव ९९ लाख मूल्यको ४ सिटर मिनि ईभी, १८० किमी रेन्ज रहेको छ ।
लुमिन ब्रान्डको गाडी २२ दशमलव ९९ लाख मूल्यबाट शुुरू हुने यो ह्याचब्याकले ३०१ किमी रेन्ज दिन्छ ।
यसैगरी टाटा टिआगो डट ईभी एलआर गाडी २७ दशमलव ४९ लाख मूल्य भए पनि शोमा २ लाख छुट, २०५ किमी रेन्ज, ८ वर्षसम्मको ब्याट्री÷मोटर वारेन्टी रहेको छ । जीनपेङ लिङबक्स ईसी ०१ – १८ दशमलव ९९ लाख मूल्यको ४ सिटर कार, २४० किमी रेन्ज, २९३ लिटर लगेज स्पेस रहेको छ ।











प्रतिक्रिया