काठमाडौँ।
राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले हिन्दूकुश हिमालय क्षेत्रका देशहरुलाई गौतमबुद्धको देशबाट शान्तिसंगै जलवायु न्यायका लागि साझा सन्देश लैजान आग्रह गरेकी छन्।
संघीय संसदको आयोजनामा काठमाडौँमा जारी हिन्दूकुश हिमालय पार्लियामेन्टरियन मिटको “हाइ लेभल पार्लियामेन्टरी राउण्ड टेबल” सत्रलाई सम्बोधन गर्दै उपाध्यक्ष घिमिरेले गौतमबुद्धको देशबाट शान्तिको मात्रै होइन जलवायु परिर्वतनका असरकाविरुद्ध साझा प्रयास र जलवायु न्यायको पक्षमा साझा सन्देश लान आग्रह गरेकी हुन्।
हिन्दूकुश हिमालय क्षेत्रका मुलुकहरुमा वायु प्रदूषण, जैविक विविधताको ह्रास, जलवायु परिवर्तनवाट सृजित संकट जस्ता विषय साझा चुनौतीहरूका रुपमा देखा परेको चर्चा गर्दै उपाध्यक्ष घिमिरेले भूगोलमा ठूलो वा सानो भएपनि समस्या सबैको साझा भएको हुँदा एकिकृत कानून बनाएर जानुपर्छ भनिन् ।
‘स्वच्छ हावामा सास लिन पाउने नागरिकहरुको नैसर्गिक अधिकार, हिन्दूकुश हिमालय क्षेत्रमा विध्यमान जैविक विविधताको उचित संरक्षण र व्यवस्थापन गरेर त्यसवाट समुदायले लाभांश प्राप्त गर्ने संभावना तथा प्रकृति र समाजको जलवायु उत्थानशिलतामा अभिवृद्दी गर्न यस क्षेत्रका सांसद तथा सरकारहरु मिलेर साझा एजेण्डामा कार्य गर्न आवश्यक रहेको छ।’ उनले भनिन्, ‘यसका लागि हिन्दुकुश हिमालयका सांसदहरुले नियमित रुपमा संवाद र सहकार्य गर्न एउटा क्षेत्रीय फोरमको स्थापना गर्न आवश्यक छ।’
उपाध्यक्ष घिमिरेले भविष्यमा यस्तो फोरमावाट हिन्दूकुश हिमालयका सांसदहरुले जलवायु परिवर्तन, जैविक विविधता संरक्षण र वायु प्रदुषण संग सम्बन्धित अनुभव र विशिष्ट अभ्यासहरू आदान प्रदान गरि संसद सदस्यहरूको भूमिकालाई अझ सुदृढ गर्न तथा क्षेत्रीय स्तरमा नै प्रभावकारी नीति तथा कानूनहरू तर्जुमा गर्न सकिने धारणा राखिन् ।
आगामी दिनमा हिमालयदेखि महासागरसम्म सवैको लागि स्वच्छ हावामा सास फेर्न पाउने वातावरणको निर्माण गर्ने, यस क्षेत्रको जैविक विविधताको संरक्षण गर्ने र जलवायु परिवर्तनवाट पर्ने असरलाई सम्वोधन गर्न हिन्दूकुश हिमालय क्षेत्रका मुलुकहरुले महत्वकांक्षी कदमहरू चाल्नुपर्ने विषयमा पनि उनले जोड दिइन्।
उक्त सत्रमा नेपालको संघीय संसदको तर्फबाट प्रतिनिधिसभाका सदस्यद्वय योगेश गौचन र सोविता गौतम तथा भारत, पाकिस्तान, बंगलादेश, म्यानमार र भूटानको संसदका सदस्यहरुले पनि आफ्ना धारणा राखेका थिए।











प्रतिक्रिया