काठमाडौं ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गर्न लागेको १७औँ संस्करणको नाडा अटो शो मंगलबारदेखि भदौ ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ । ‘गो फर मोर’ नाराका साथ शुुरू हुने यो प्रदर्शनीले नवीनतम प्रविधि, स्मार्ट मोबिलिटी र अटो क्षेत्रका सम्पूर्ण सरोकारवालालाई एउटै मञ्चमा ल्याउने तयारी गरेको छ ।
यस वर्ष नाडा स्थापनाको ५०औँ वार्षिकोत्सवसमेत परेका कारण यो संस्करणलाई विशेष बनाइएको आयोजकको भनाइ छ । शोको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय गरिएको छ ।
यो संस्करणको सबैभन्दा ठूलो आकर्षण भनेको नेपालमै पहिलो पटक सार्वजनिक हुने डिपल इभीटीओएल फ्लाइङ कार हो । पूर्णतया विद्युतीय प्रविधिमा आधारित यो उड्ने सवारीलाई अनम्यान्ड एरियल भेहिकलको रूपमा परिभाषित गरिएको छ, जसले सिधै अवतरण र उडान गर्न सक्छ । चीनको चांगन अटोमोबाइल र सहरी हवाई यातायात प्रविधिमा काम गर्ने कम्पनी इह्याङको साझेदारीमा विकसित यस कारलाई हाल चीन, अमेरिका र खाडी मुलुकमा परीक्षण भइरहेको छ । अब भने नेपाली दर्शकले प्रत्यक्ष अवलोकन गर्ने अवसर पाउनेछन् ।
त्यसैगरी, युनिट्री रोबोट्स पनि अर्को आकर्षण बनेको छ । हाङझाउ युसु टेक्नोलोजी कम्पनी लिमिटेडले उत्पादन गरेका चारपांग्रे अटोनोमस रोबोटहरू प्रदर्शनीमा देखाइनेछन् । कम्पनीले विकास गरेका रोबोट म्यान र रोबोट डग दुबै मोडललाई नजिकबाट हेर्न पाइने नाडाको दाबी छ । युनिट्री यसपटक अटो शोको टाइटल स्पोन्सरसमेत बनेको छ ।
आयोजकका अनुसार प्रदर्शनीमा १९ वटा चारपांग्रे सवारी ब्रान्ड, १३ वटा हल्का व्यावसायिक सवारी ब्रान्ड, ४ वटा दुईपांग्रे सवारी ब्रान्ड र ३५ वटा अटो पाट्र्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट, ग्यारेज उपकरण तथा वित्तीय सेवा प्रदायक कम्पनीहरू सहभागी हुनेछन् ।
प्रदर्शनी कुल ३ लाख वर्गफुट क्षेत्रमा फैलिएको छ भने प्रदर्शनी हलको क्षेत्रफल मात्रै १ लाख ६२ हजार ५ सय वर्गफुट रहनेछ । यसपटक १ लाखभन्दा बढी आगन्तुक भित्र्याउने लक्ष्य राखिएको छ । सहभागी प्रदर्शकको संख्या १ सय २५ भन्दा बढी रहने अनुमान छ । नाडा अटो शोमा यसपटक विभिन्न विशेष कार्यक्रम पनि हुनेछन् ।
भिन्टेज मोटर शोमा मोरिस माइनर, बिटल, मिनी कुपर, टोयोटा आरटी ४०, माज्दा फेमिलिया, टोयोटा एमआर २ जस्ता पुराना क्लासिक गाडी प्रदर्शित गरिनेछन् ।
त्यस्तै ‘मेड इन नेपाल’ प्याभिलियनमा स्वदेशमै निर्मित सवारी तथा अटो पाट्र्सको प्रदर्शन हुने छ । साथै कार्यशाला, अन्तरक्रिया र ज्ञान आदानप्रदान हुने आयोजकको भनाइ छ ।











प्रतिक्रिया