साढे १३ हजार ईभी भित्रिए पनि इन्धनको आयात बढ्दो


काठमाडौं ।

नेपालमा विद्युतीय सवारी साधन (ईभी) को प्रयोग निरन्तर बढ्दै गएको छ । आर्थिक वर्ष २०८०|८१ मा १२ हजार १४७ वटा ईभी भित्रिएकोमा आर्थिक वर्ष २०८१|८२ मा यो संख्या बढेर १३ हजार ६०४ पुगेको छ । तर, ईभीको प्रयोगले इन्धनको आयात घटाउने अपेक्षा गरिएको भए पनि समग्र पेट्रोलियम पदार्थको आयात भने बढेको छ । नेपाल आयल निगमको तथ्यांक अनुसार गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा ६ प्रतिशतले इन्धनको आयात बढेको देखिन्छ ।

निगमका अनुसार आर्थिक वर्ष २०८०|८१ मा १३ लाख ८९ हजार ६२२ किलोलिटर डिजेल र ६ लाख ९२ हजार ७४६ किलोलिटर पेट्रोल आयात भएको थियो । तर, आर्थिक वर्ष २०८१|८२ मा डिजेल आयात ५ दशमलव ७२ प्रतिशतले र पेट्रोल आयात ८ दशमलव ६३ प्रतिशतले बढेको तथ्यांक छ । भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८|७९ मा एक खर्ब ७८ अर्ब रूपियाँ बराबरको डिजेल आयात भएकोमा आर्थिक वर्ष २०७९|८० मा भने १ खर्ब ५३ अर्ब रूपियाँ बराबरको आयात भएको थियो ।

ईभी प्रयोगले खनिज इन्धनको आयातमा केही हदसम्म नियन्त्रण गरेको भए पनि निर्माण क्षेत्र र यातायात क्षेत्र सक्रिय रहँदा विशेषगरी डिजेलको खपत बढ्न पुगेको व्यवसायीहरूको भनाइ छ ।

ईभीको संख्यामा वृद्धि नभएको भए पेट्रोलियम पदार्थको आयात अझै बढ्ने निश्चित थियो । पेट्रोलियम पदार्थको वार्षिक खपतमा प्रत्येक वर्ष १०–१२ प्रतिशतले वृद्धि हुने गरेको थियो । तर ईभी प्रोत्साहन नीति लागू भएपछि आयात वृद्धिदरमा कमी आएको छ । आर्थिक वर्ष २०७८|७९ को तुलनामा त्यसपछिको वर्षमा पेट्रोल आयात ८ दशमलव ३ प्रतिशत र डिजेल आयात १९ दशमलव ८ प्रतिशतले घटेको थियो ।

आर्थिक वर्ष २०८०|८१ मा सामान्य वृद्धि रहेको तथ्यांक छ । आर्थिक वर्ष २०८१|८२ मा भने समग्र पेट्रोलियम आयात पुनः ६ प्रतिशतले बढेको छ । इन्धनको आयात वृद्धि हुनुमा नेपाल र भारतमा मूल्यमा अन्तर भएकाले पनि प्रभावित पार्ने व्यवसायीहरू बताउँछन् ।

नेपालमा भन्दा भारतमा इन्धनको मूल्य थोरै महँगो भए पनि सीमावर्ती पट्रोल पम्पहरूमा भारतीय गाडी इन्धन हाल्न आइपुग्ने व्यवसायीहरू बताउँछन् । सीमावर्ती क्षेत्रका पेट्रोल पम्पहरूमा भारतीय नम्बर प्लेटका गाडीले सहज इन्धन भर्न पाउने भएकाले नेपालबाट हजारौँ गाडीमा इन्धन तस्कारी हुँदा नेपालभित्रै खपत नभए पनि आयात उच्च भएको व्यवसायीहरूको भनाइ छ । २० किलोमिटर यता आएर इन्धन भरेर जाने गाडीले हरेक पटक ५-७ सय रुपियाँ बचाउँछन् ।

यसलाई निगमका अधिकारीहरू समेत स्वीकार गर्छन् । जब भारतीय बजारमा इन्धनको मूल्य बढी हुन्छ । जब नेपालमा इन्धनको खपत अस्वभाविक रूपमा वृद्धि हुने गरेको विगतदेखिको तथ्यांक छ ।

नेपाल आयल निगमले पेट्रोलको पछिल्लो मूल्य सूची अनुसार झापा चारआली, विराटनगर, वीरगञ्ज, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगन्ज र धनगढीमा पेट्रोलको मूल्य प्रतिलिटर १५८ रुपियाँ ५० पैसा र डिजेल तथा मट्टीतेलको मूल्य १४६ रुपियाँ ५० पैसा रहेको छ ।

त्यस्तै सुर्खेत र दाङ क्षेत्रमा पेट्रोल १६० रुपियाँ र डिजेल तथा मट्टीतेल १४८ रुपियाँ प्रतिलिटर रहेको छ भने काठमाडौं, पोखरा र दिपायल लगायतका स्थानमा पेट्रोल प्रतिलिटर १६१ रुपियाँ र डिजेल तथा मट्टीतेल १४९ रुपियाँ रहेको छ । यसको तुलनामा भारतमा इन्धनको भाउ बढी रहेको छ । भारतीय आयल कर्पोरेसनले मूल्य बढाएकै कारण निगमले साउन ३० गते राति मूल्य बढाएको थियो ।

सीमावर्ती क्षेत्रका पेट्रोल पम्पहरूमा भारतीय नम्बर प्लेटका गाडीले सहज इन्धन भर्न पाउने भएकाले नेपालबाट हजारौँ गाडीमा इन्धन तस्कारी हुँदा नेपालभित्रै खपत नभए पनि आयात उच्च भएको व्यवसायीहरूको भनाइ छ । २० किलोमिटर यता आएर इन्धन भरेर जाने गाडीले हरेक पटक ५÷७ सय रुपियाँ बचाउँछन् ।