भक्तपुर ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास गर्ने प्रक्रियाबाट मात्र देशलाई समृद्ध बनाउन सकिने बताएका छन् ।
आज भक्तपुरमा आयोजित चाँगुनारायण सिटी एभोकाडो अभियान समापन तथा अभियन्ता सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले मौलिक नमुना सहितको आत्म निर्भर राष्ट्रिय अर्थतन्त्र अपरिहार्य रहेको बताए ।
उनले स्थानीय स्तरबाटै आफ्नो वस्तुस्थिति बुझेर योजना बनाई भएका सम्भावनाहरूको अधिकतम सदुपयोग गरे मात्र देश आत्मनिर्भर बन्ने बाटोमा लाग्ने बताए ।
विदेशीको नक्कल गर्ने प्रवृत्ति दुर्भाग्यपूर्ण रहेको बताउँदै उनले आफ्नै देशमा रोजगारी सृजना गर्नेतिर सबैले आआफ्नो ठाउँबाट पहल र प्रोत्साहित गर्नुपर्ने बताए ।
सबै जुटे देश आत्मनिर्भर हुन समय लाग्दैन भन्दै प्रचण्डले देशमा मौलिक अर्थतन्त्रको मोडल विकास गर्नुको साटो विदेश जाने र नक्कल गर्ने प्रचलन बढेकोमा चिन्ता ब्यक्त गरे ।
नेपालको संस्कृति ,भाषा र देशप्रति गर्व गर्ने मानसिकताको विकास नै आजको चुनौतीका रूपमा रहेको अध्यक्ष प्रचण्डको भनाई छ ।
देशभित्रै प्राकृतिक स्रोत साधन,कृषि,पर्यटन,ऊर्जा लगायतका क्षेत्रमा अथाह सम्भावना छ भन्दै उनले हाम्रो इतिहास र जाती प्रति गर्व गर्दै देश विकासमा लाग्नुपर्ने बताए ।
सकारात्मक सोचका साथ रचनात्मक काम अघि बढाउन सकिएमा देशमै रोजगार सृजना भई उत्पादकत्व वृद्धि हुने र विदेश जाने संस्कृतिलाई निरुत्साहित गर्न सकिने उनले बताए ।
नागरिकको केही हिस्सा आफ्नै देशमा केही गर्ने सोचका साथ विभिन्न गतिविधिमा सक्रिय भएको देखेको बताउँदै अध्यक्ष प्रचण्डले नयाँ नेपाल निर्माणका लागि सबैले त्यसलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिए ।
देशमा रहेको प्राकृतिक स्रोत,सीप,श्रम, साधन र गौरवशाली इतिहासको जगमा उभिएर नेपालमा संसारलाई देखाउने गरी मौलिक विकासको मोडलको मार्गचित्र कोर्दै विद्यमान सम्भावनाको उजार गर्न सक्नुपर्ने प्रचण्डको भनाइ छ ।
कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा,चाँगुनारायण नगरपालिकाका पूर्व प्रमुख,सोम मिश्र, सिटी एभोकार्डो अभियानका अभियन्ता तथा माओवादी केन्द्रका नेता डिपी ढकाल ,अभियानका चाँगुनारायण संयोजक नरेश खड्का लगायतले एभोकार्डो अभियानबारे चर्चा गरे ।











प्रतिक्रिया