बाजुरा
हिमाली गाउँपालिका–२ बामुखोलामा आएको बाढीले वितण्डा मच्चाएको छ । अविरल वर्षाका कारण बुधबार दिउँसोदेखि उक्त खोलामा आएको बाढीले दर्जनौं घर, विद्यालय, बाटो, पुल र विद्युत्लगायतका भौतिक संरचनामा ठूलो क्षति पु¥याएको हो ।
जिल्ला प्रहरी कार्यालय बाजुराका कार्यालय प्रमुख एवं प्रहरी नायब उपरीक्षक इकवाल हवारीले हिमाली गाउँपालिका वडा नं. १ को १३ वटा घर र वडा नं. ५ कुवाडीको ११ वटा घर गरी जम्मा २४ वटा घरमा पूर्ण क्षति भएको बताउनुभयो । १७ वटा घर जोखिममा छन् भने बाढीमा परी ७० बाख्रा बाढीमा बेपत्ता भएका छन् ।
हिमाली गाउँपालिकाको वडा नं १ को वडा कार्यालय, बिच्छिया मावि बिच्छिया, बिच्छिया स्वास्थ्यचौकी कार्यालय, नाथीखोला जनविद्युत् आयोजनाको विद्युत् लाइन, बिच्छिया खोलाको झुलुङ्गे पुल, नेटा र देउसैनका दुईवटा पानी घट्ट, सरकारी संरचनातर्फ हिमाली गापाको तातोपानीबाट बिच्छिया आउने खानेपानीको मुहानसहित पाइपलाइन बगाएको छ । कुवाडी जलविद्युत्को नहर पनि बगाएको छ ।
हिमाली गाउँपालिका–१ बामुका वडाध्यक्ष जोखबहादुर भण्डारीका अनुसार बिच्छियाका छञ्चलाल थापाको घर पूर्णरूपमा क्षति भएको छ । उहाँको परिवार अहिले बिच्छियाको वडा कार्यालयमा ओत लागेको छ । बाढीले बिच्छिया सिमपानीका धनवहादुर बोहरा, रविलाल बोहरा र चन्दबहादुर बोहरालगायत तीन घरमा क्षति भएको छ । त्यसै गरी मुवालाका धनसिंं बोहरा, भीमराज बोहरालगायतका घरमा क्षति भएको छ । बाढीले बिच्छिया–बामुको बाटो बन्द भएको छ । बोल्देमाण्डौं टिन जोड्ने निर्माणाधीन झुलुङ्गे पुलको सामान बगाएर बेपत्ता पारिदिएको छ ।
त्यसै गरी बिच्छिया माविको खेलमैदान खोलाको कटानमा परेको छ । बामुको बिजुली बत्तीका तार पोल बगाउँदा विद्युत् लाइन अवरुद्ध भएको वडाध्यक्ष भण्डारीले जानकारी दिनुभयो । बिच्छियाबाट बामु जाने करिब १५ किलोमिटर बाटो तथा बामुखोलामा भएको काठेसाँघु बगाउँदा आवगमन अवरुद्ध भएको छ ।
बुधबारदेखि बामुका ५५ परिवार सम्पर्कविहीन भएको वडाध्यक्ष भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो– ‘बामु जाने बाटो छैन । टेलिफोन सम्पर्क छैन, के कति क्षति भयो यकिन छैन ।’
गत वैशाखमा बिग्रेको बिच्छिया टेलिफोन टावर हालसम्म नबनाउँदा बिच्छिया बामु क्षेत्रमा के कति क्षति भयो त्यहाँको यकिन विवरण आउन नसकेको हिमाली गाउँपालिकाका रोजगार संयोजक बिर्ख पाण्डेले बताउनुभयो । बाढीले खोला आसपासका संरचना बगाएपछि स्थानीयलाई ओत लाग्न पनि समस्या भएको छ । बाढीपीडितलाई तत्काल राहतको व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।
बाढीपहिरोबाट मानवीय क्षति नभए पनि भौतिक संरचनामा ठूलो क्षति भएको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताउनुभयो । उहाँले अकस्मात् आएको बाढीले बिच्छिया र कुवाडीमा ठूलो भौतिक क्षति गरेको भन्दै दुःख व्यक्त गर्नुभयो । उहाँले हिमाली गाउँपालिकाबाट पीडितहरूको उद्धार तथा राहत, क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको बताउनुभयो । क्षतिको यकिन विवरण आइसकेपछि जिल्ला प्रशासन, प्रदेश र संघ सरकारबाट राहतका लागि पहल गरिने प्रमुख जिल्ला अधिकारी पाध्याको भनाइ छ ।











प्रतिक्रिया