काठमाडौं।
गत वैशाखदेखि साउनको अन्तिम सातासम्म मुलुकभर विभिन्न प्रकारका विपत्का घटनामा परी कम्तीमा १२२ जनाको ज्यान गएको छ भने २२ जना अझै बेपत्ता छन् । सो अवधिमा ५ सय ७९ जना घाइते भएका छन् भने करिब पाँच हजार परिवार प्रत्यक्ष प्रभावित भएका छन् ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाखदेखि साउन २९ सम्म मुलुकका विभिन्न स्थानमा बाढी, पहिरो, भारी वर्षा, चट्याङ, आगलागी, हावाहुरी र अन्य घटनाबाट ठूलो जनधनको क्षति भएको छ ।
चार महिनाको अवधिमा मात्र देशभर २१२ वटा बाढीका घटना दर्ता भएका छन् । बाढीका कारण १ हजार ३ सय १७ परिवार विस्थापित वा प्रत्यक्ष प्रभावित भएका छन् । बाढीपछि धेरै स्थानमा उद्धार र राहत कार्य भए पनि अझै कतिपय बेपत्ताको खोजी कार्य जारी रहेको प्राधिकरणले जनाएको छ ।
सोही अवधिमा गएको २ सय ७ वटा पहिरोमा परी १५ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । घटना पहाडी तथा हिमाली भू–भागमा भारी वर्षाको कारणबाट गएको पहिरोबाट ३ सय ६९ परिवार प्रभावित भएका छन् ।
चार महिनामा २ सय २ वटा भारी वर्षाका घटना भएका छन् । यी घटनामा ४ जनाको मृत्यु र १ सय ६९ जना घाइते भएका छन् भने ६४९ परिवार यसबाट प्रभावित भएका छन् । लगातारको वर्षाले केही स्थानमा घर तथा भौतिक संरचना क्षति पुगेको छ ।
चट्याङका २ सय ४५ वटा घटनामा २८ जनाको मृत्यु र १ सय ६९ जना घाइते भएका छन् । चट्याङले २ सय ८७ परिवारलाई असर पु¥याएको छ । वर्षायाममा खुला स्थानमा खेतबारी गर्ने, गोठालो लग्ने वा बस्ती नजिकैको विद्युतीय पोलमा चट्याङको प्रभाव पर्ने कारण क्षति भएको बताइन्छ ।
यो अवधिमा १ हजार ९१ वटा आगलागीका घटना भएका छन् । आगलागीका कारण १५ जनाको मृत्यु, १ सय ५१ जना घाइते र १ हजार २ सय ४ परिवार प्रभावित भएका छन् । अधिकांश आगलागी सुक्खा मौसममा देखिए पनि विद्युत् सर्ट र असावधानीका कारण वर्षायाममै पनि घटना घटेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
चार महिनामा चलेका हावाहुरीका घटनामा ८ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् । ५ सय ३४ परिवार प्रभावित भएका यी घटनाले कतिपय स्थानमा घर टहरा, बिजुलीका पोल र खेतीबालीमा क्षति पु¥याएको छ ।
बाढी, पहिरो, वर्षा, चट्याङ, आगलागी र हावाहुरीबाहेकका अन्य विपद्का घटनामा ३४ जनाको मृत्यु भएको छ । यी घटनामा परेर सयौं परिवार प्रभावित भएका छन् । प्राधिकरणका अनुसार गत चार महिनामा विभिन्न विपत्का घटनाले ४ हजार ८ सय ६१ परिवार प्रत्यक्ष प्रभावित भएका छन् । धेरै प्रभावितहरू अस्थायी आवासमा बस्न बाध्य छन् भने केही परिवार अझै उद्धार र राहतको पर्खाइमा छन् ।
विशेषज्ञहरूले विपद् व्यवस्थापनमा दीर्घकालीन योजना र पूर्वतयारीको कमी देखिँदै आएको बताएका छन् । समयमै पूर्वसूचना प्रणालीको प्रभावकारी प्रयोग, जनस्तरमा सचेतना, सुरक्षित बसोबास र संरचना निर्माणमा कडाइ नगरेसम्म वर्षेनी दोहोरिने जनधनको क्षति रोक्न कठिन हुने उनीहरूको चेतावनी छ ।











प्रतिक्रिया