काठमाडौं ।
वाणिज्य बैंकहरूले आर्थिक वर्ष २०८१|८२ को अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्ने क्रम जारी छ । अहिलेसम्म १२ वटा वाणिज्य बैंकहरूले प्रकाशित गरेका छन् । जसले ४५ अर्बभन्दा बढी नाफा कमाएका छन् ।
उक्त अवधिमा माछापुच्छ्रे, कुमारी, एनएमबी, कृषि विकास, एभरेष्ट, सिटिजन्स, नबिल, सिद्धार्थ र ग्लोबल आइएमई बैंकलगायतले ४५ अर्ब १ करोड २७ लाख रुपियाँ खुद नाफा आर्जन गरेका हुन् । सबैभन्दा धेरै नाफा नबिल बैंकले ७ अर्ब १३ करोड रुपियाँ आर्जन गरेको छ । वित्तीय विवरण अनुसार उच्चतम प्रतिशेयर आम्दानी (ईपीएस) ३७ दशमलव ९९ रुपियाँसहित एभरेष्ट बैंक शीर्ष स्थानमा छ, जसले ३८ दशमलव २७ प्रतिशतको सर्वाधिक लाभांश क्षमता देखाएको छ ।
नाफाको आधारमा नबिलपछि ग्लोबल आइएमईले ६ दशमलव २० अर्ब, प्रभु बैंकले ५ दशमलव ४४ अर्ब र एभरेष्ट बैंकले ४ दशमलव ९२ अर्ब आर्जन गरेका छन् । ईपीएसका हिसाबले एभरेष्ट बैंकपछि कृषि विकास बैंक २७ दशमलव ०६ रुपियाँ, नबिल २६ दशमलव ३४ रुपियाँ र सिद्धार्थ बैंक २४ दशमलव ०१ रुपियाँ रहेर अग्रस्थानमा छन् ।
त्यस्तै लाभांश क्षमतामा एभरेष्टपछि नबिल १७ दशमलव ६४ प्रतिशत, ग्लोबल आइएमई १४ दशमलव ११ प्रतिशत र सिद्धार्थ बैंक १३ दशमलव २२ प्रतिशतसहित उच्च क्षमतामा देखिएका छन् । माछापुच्छ«े, प्रभु र एनएमबी बैंकले अघिल्लो वर्ष लाभांश वितरण नगरे पनि यस वर्ष क्रमशः ९, ४ दशमलव ४४ र १० दशमलव ४ प्रतिशत क्षमता देखाएका छन् । तर, कुमारी र हिमालयन बैंकको लाभांश क्षमता यसपटक शून्य प्रतिशतमा सीमित भएको छ ।
खराब कर्जा (एनपीए) अनुपातमा हिमालयन बैंक ७ दशमलव २८ प्रतिशतसहित सबैभन्दा कमजोर देखिएको छ, जुन राष्ट्र बैंकको स्वीकृत सीमाभन्दा धेरै माथि हो । कुमारी बैंकको पनि ६ दशमलव ४२ प्रतिशत पुगेको छ । एभरेष्ट बैंकले जम्मा ० दशमलव ३८ प्रतिशत कायम राखेर सम्पत्ति गुणस्तरको हिसाबले सबैभन्दा उत्कृष्ट प्रदर्शन गरेको छ ।
समग्रमा हेर्दा, नबिल, एभरेष्ट र ग्लोबल आइएमई बैंकहरूले नाफा, ईपीएस र लाभांश क्षमतामा बलियो स्थिति देखाएका छन् भने हिमालयन र कुमारी बैंकहरू खराब कर्जा र लाभांश क्षमतामा कमजोर देखिएका छन् । कृषि विकास बैंकले ईपीएस उच्च राखे पनि लाभांश क्षमताको विवरण सार्वजनिक गरेको छैन, जसले लगानीकर्तामा अनुमानको स्थान छोडेको छ ।
समग्रमा माछापुच्छ«े बैंकले गत वर्षको तुलनामा ९२ दशमलव ४५ प्रतिशत नाफा वृद्धि गर्दै २ दशमलव ०१ अर्ब रुपियाँ कमाएको छ । यसको ईपीएस १७ दशमलव ३१ रुपियाँ र लाभांश क्षमता ९ प्रतिशत रहेको छ । कुमारी बैंकले झण्डै ४०० गुणाले नाफा बढाए पनि वितरणयोग्य नाफा ऋणात्मक भएको छ । खराब कर्जा ६ दशमलव ४२ प्रतिशत पुगेको कारण लाभांश दिन नसक्ने अवस्था छ । सिद्धार्थ बैंकले १० दशमलव २४ प्रतिशत नाफा वृद्धि गर्दै ३ दशमलव ३९ अर्ब रुपियाँ कमाएको छ, जसको ईपीएस २४ दशमलव ०१ रुपियाँ र लाभांश क्षमता १३ दशमलव २२ प्रतिशत छ । यसको वितरणयोग्य नाफा गत वर्षको तुलनामा २२० प्रतिशतले बढेको छ ।
कृषि विकास बैंकको नाफा ४४ प्रतिशत वृद्धि भई ४ दशमलव १५ अर्ब रुपियाँ पुगेको छ, ईपीएस २७ दशमलव ०६ रुपियाँ छ, गत वर्षजस्तै करिब १० दशमलव ५३ प्रतिशत लाभांश वितरण गर्नसक्ने क्षमता छ । सिटिजन्स बैंकको नाफा २ दशमलव ०८ प्रतिशत घटेर १ दशमलव २९ अर्बमा सीमित भएको छ ।
यसको ईपीएस ८ दशमलव ७६ रुपियाँ र खराब कर्जा ४ दशमलव ९४ प्रतिशत रहेको छ । एभरेष्ट बैंकले करिब ५ अर्ब रुपियाँ नाफा कमाउँदै ३२ दशमलव ८० प्रतिशतले वृद्धि हासिल गरेको छ । यसको लाभांश क्षमता ३८ दशमलव २७ प्रतिशत छ र खराब कर्जा ० दशमलव ३८ प्रतिशत मात्र छ ।
सानिमा बैंकले ७ दशमलव २४ प्रतिशत नाफा वृद्धि गर्दै २ दशमलव ५७ अर्ब रुपियाँ कमाएको छ, ईपीएस १८ दशमलव ९३ रुपियाँ र लाभांश क्षमता ५ दशमलव २६ प्रतिशत रहेको छ । हिमालयन बैंकको वितरणयोग्य नाफा ऋणात्मक छ र खराब कर्जा ७ दशमलव २८ प्रतिशत पुगेको छ, जसका कारण लाभांश वितरण असम्भव भएको छ । नबिल बैंकले ७ दशमलव १३ अर्ब रुपियाँ नाफा कमाउँदै ईपीएस २६ दशमलव ३४ रुपियाँ र लाभांश क्षमता १७ दशमलव ६४ प्रतिशत कायम गरेको छ ।
एनएमबी बैंकको ईपीएस १७ दशमलव ८७ रुपियाँ र लाभांश क्षमता १० दशमलव ४० प्रतिशत छ ।
प्रभु बैंकले असाधारण नाफा वृद्धि गर्दै ५ दशमलव ४४ अर्ब रुपियाँ कमाएको छ, ईपीएस २३ दशमलव १२ रुपियाँ र लाभांश क्षमता ४ दशमलव ४४ प्रतिशत रहेको छ । ग्लोबल आइएमई बैंकले ६ दशमलव २० अर्ब रुपियाँ नाफा कमाउँदै १ दशमलव १० प्रतिशत वृद्धि हासिल गरेको छ, १६ दशमलव २८ रुपियाँ र लाभांश क्षमता १४ दशमलव ११ प्रतिशत रहेको छ ।











प्रतिक्रिया