हेटौंडा ।
केही समयअघि काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका पीडित बचतकर्ताहरुले बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालय घेराउ गरे । उक्त सहकारीलाई समस्याग्रस्त सहकारी घोषणा गर्नुपर्ने मागसहित पीडित बचतकर्ताहरुले मन्त्रालय घेराउ गरेका हुन् । एक वर्षअघि पनि मन्त्रालयमा निवेदन दिएको तर सुनुवाइ नभएको भन्दै दबाब दिन हेटौंडा आएका थिए ।
१३ हजारभन्दा बढी शेयर सदस्य रहेको उक्त सहकारीको २ अर्ब ७५ करोड भन्दा बढी रकम अपचलन भएको आरोप छ । प्रदेश सरकारले सहकारीलाई समस्याग्रस्त घोषणा गरेर निक्षेप सुरक्षित गर्नुपर्ने उनीहरुको माग थियो । स्वर्णलक्ष्मीका ६ सय ९० बचतकर्ताले ९३ थान किटानी जाहेरी दिएका थिए । उक्त मुद्दामा ३९ जना प्रतिवादी छन् ।
गोरखा मिडिया नेटवर्कमा कानुनविपरीत स्वर्णलक्ष्मी बहुउद्धेश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४ सय ८० रुपियाँ लगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । बागमती प्रदेशमा रहेका ३ हजार २ सय २९ सहकारीमध्ये ३ सय ५१ बढी सहकारीविरुद्ध उजुरी परेका छन् । तीमध्ये ६० वटा प्रहरी अनुसन्धानमा छन् भने १४ वटा सहकारीको अनुसन्धान जिम्मा सीआईबीलाई दिइएको छ ।
प्रदेशमा तोकिएका ‘समस्याग्रस्त सहकारी’ मा बचतकर्ताको करिब ११ अर्ब ३४ करोड भन्दा बढी रकम फसेको छ । लामो समयदेखि आफ्नो बचत फिर्ता नपाएपछि पीडितहरुले रकम फिर्ताका लागि सम्बन्धित निकायसँग माग गरिरहेका छन् । प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेड, दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड र लालीगुराँस सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका बचतकर्ताले रकम फिर्ताको माग गर्दै निवेदन दिएका छन् ।
सिभिलका १ हजार ५ सय ८९ जना बचतकर्ताले ६ अर्ब २४ करोड ६१ लाख फिर्ता माग गरेका छन् । दर्शनमा ३ हजार बचतकर्ताको २ अर्ब ३० करोड ३३ लाख फसेको छ । सुमेरु सेभिङ एण्ड क्रेडिट कोअपरेटिभको काम अदालतमा मुद्धाका कारण अगाडि बढ्न सकेको छैन ।











प्रतिक्रिया