काठमाडौं ।
सामाजिक सञ्जालमा प्रचारित ‘नेप्से एआई’ नामक शेयर विश्लेषण एप डाउनलोड गरेपछि एक व्यक्तिको बैंक खाताबाट साढे २८ लाख रुपियाँभन्दा बढी रकम चोरी भएको घटना सार्वजनिक भएको छ।
नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार, पीडितले फेसबुकमा देखिएको विज्ञापनमार्फत उक्त एप मोबाइलमा इन्स्टल गरेका थिए। एप खोलेपछि रिमोट सेसन सक्रिय भई मोबाइल स्क्रिन केही समय ब्ल्यांक भएको र त्यस क्रममा २८ लाख ६१ हजार रुपियाँ अन्य खातामा ट्रान्सफर भएको पाइयो । साथै, पीडितको मोबाइलमा रहेका सम्पूर्ण डाटा र एप्स पनि मेटाइएको सीआईबीले जनाएको छ।
सीआईबीका अनुसार, हाल फेसबुक, इन्स्टाग्राम, टिकटकलगायत सामाजिक सञ्जालमा फर्जी एप डाउनलोड गराउन भ्रामक विज्ञापनहरू बढिरहेका छन्। यस्ता एपमार्फत ‘उच्च नाफा’ दिने भन्दै झुक्याएर रिमोट एक्सेस खोली बैंक खाताबाट रकम चोरी गर्ने गिरोह सक्रिय रहेका छन् ।
प्रहरीले यस्ता घटनाबाट बच्न पासवर्ड नियमित परिवर्तन गर्न, अपरिचित लिंक वा एप डाउनलोड नगर्न, ‘टु–फ्याक्टर अथेन्टिकेसन’ प्रयोग गर्न र एनीडेस्क वा टीमभ्यूअरजस्ता रिमोट एक्सेस एपमार्फत अनधिकृत व्यक्तिलाई पहुँच नदिन सुझाव दिएको छ । साथै, एप इन्स्टल गर्दा आधिकारिक एप स्टोर (गुगल प्ले स्टोर, एप्पल एप स्टोर) मात्र प्रयोग गर्न आग्रह गरिएको छ।











प्रतिक्रिया