एनसेल फाउन्डेसनको सहयोगमा सञ्चालित संस्कृति र सम्पदा परियोजना सम्पन्न


काठमाडौं ।

एनसेल फाउन्डेसनको सहयोगमा अन्तर्राष्ट्रिय संग्रहालय परिषद्को नेपाल शाखा आइकम नेपालले नारायणहिटी दरबार संग्रहालयसँगको साझेदारीमा सञ्चालन गरेको ‘संग्रहालयमार्फत संस्कृति र सम्पदाको प्रवद्र्धन’ नामक एक वर्षे परियोजना सम्पन्न भएको छ ।

परियोजनामा संग्रहालयको महत्वबारे जनचेतना फैलाउने, संग्रहालयकर्मीलाई तालिम दिने, र संग्रहालय सम्बन्धी श्रोत सामग्री निर्माण तथा प्रसार गर्ने मुख्य क्रियालापहरु कार्यान्वयन गरिएको थियो । परियोजनाअन्तर्गत संग्रहालयको आधारभूत मान्यता र अन्तर्राष्ट्रिय अभ्यासका प्रमुख पक्षहरू समेटेर एक जानकारीमूलक पुस्तिका तयार पारि देशभरका संग्रहालय तथा सम्पदासँग सम्बन्धित संस्थाहरूलाई वितरण गरिएको छ ।

परियोजनामार्फत बागमती, लुम्बिनी र गण्डकी प्रदेशका १ सय भन्दा बढी संग्रहालयकर्मीलाई संग्रहालयको आधारभूत मान्यता र अभ्यास सम्बन्धी तालिम प्रदान गरिएको छ ।

एनसेल फाउन्डेसन र आइकम नेपालबीचको साझेदारीले निजी क्षेत्रका अन्य संस्थाहरूलाइ पनि सम्पदा संरक्षण र प्रवद्र्धनमा संलग्न हुन प्रेरित गर्ने जनाइएको छ ।