संलग्न अन्य व्यक्ति खोज्दै प्रहरी
दुई घाइते बल्ल आए सम्पर्कमा
भक्तपुर ।
भक्तपुरको गाईजात्राका दिन अर्थात् आइतबार राति भक्तपुर नगरपालिका तौमढी न्यातपोल मन्दिरअगाडि युवाहरू झडप गरेको भिडिओ तीन दिनमा सामाजिक सञ्जालमा भाइरल भए पछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।
झडप भएको भिडिओ २४ घण्टापछि सामाजिक सञ्जालबाट बाहिरिएपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
उक्त भिडिओ बाहिरिएसँगै यसप्रति ध्यानाकर्षण भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) ढुण्डिराज नेउपानेले बताए ।
झडपको भिडिओबारे प्रहरीको ध्यानाकर्षण भएको बताउँदै उनले घटनामा संलग्नहरूको खोजी गरिरहेको र तीन जनालाई नियन्त्रणमा लिएको बताए ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा ललितपुर कोन्ज्योसोम गाउँपालिका वडा नं. १ स्थायी वतन भई हाल जिल्ला भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं.६ पाण्डुबजार बस्ने बर्ष २२ को महेश तामाङ ,भक्तपुर नगरपालिका वडा नं. ५ भेलुखेल बस्ने वर्ष ३४ को अमन देउला र भक्तपुर नगरपालिका वडा नं. ५ साकोठा बस्ने वर्ष ३४ को राज कपाली रहेका छन् ।
सूचना अधिकारी न्यौपानेले कुटपिटमा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी भइरहेको बताए । तीन दिनसम्म घटनाको सम्बन्धमा कुनै उजुरी नआएको , घाइते समेत फेला नपरेको र प्रहरीले खोजी गरेपछि आज अपरान्ह मात्र दुई जना घाइते सम्पर्कमा आएको परिसरका प्रमुख प्रहरी उपरीक्षक (एसपी)माधव बुढाथोकीले बताए ।
घटनामा पीडक जस्तै पीडितलाई पनि खोज्न प्रहरीलाई कठिन भएको प्रहरीको भनाई छ ।
झडपका क्रममा घाइते हुनेमा भनपा ५ का २४ वर्षीय सुशन बादिकार र भनपा ३ बंशगोपालका २९ वर्षीय सागर बज्राचार्य रहेको र उनीहरुको घरमै स्वास्थ्यलाभ गरिरहेको सूचना अधिकारी न्यौपानेले बताए ।
सामाजिक संजालमा भिडियो हेर्दा दोहोरो झगडा जस्तो देखिन्छ तर घटना नशाको सुरमा भएर पछि गुपचुप भएको प्रहरीको बुझाई छ । युवाहरूबीच किन झडप भयो भन्नेबारे खुलिसकेको छैन ।
भिडिओमा केही युवाहरूले लाठी, मुक्का र लात्तीसमेत प्रहार गरेको देखिन्छ । जात्रा मनाउने क्रममा नाचका लागि सहभागीले लाठ्ठी बोक्ने गर्दछन् । धा बाजा, तःबाजा, धिमाय् बाजाको संयुक्त तालमा नाचमा सहभागीले हातमा लठ्ठी जुधाएर घिन्ताङघिसी नाच नाचिन्छ ।
भिडियो हेर्दा उक्त घटनामा संलग्न केही घाइते भएको देखिन्छ । प्रहरीले यत्रो घटना शहरको चोकबीचमा हुँदा पनि बेलैमा थाहा नपाउनु या सार्वजनिक नहुनु र प्रहरीमा घाइते पक्ष या कतैबाट उजुरी नपर्नु तथा घटना दुई दिनसम्म गुपचुप जस्तै हुनु रहस्यमय भएको छ ।
सामाजिक संजालमा घटना थाहा नपाउनु प्रहरीको कमजोरी भन्दै प्रहरीप्रति गुनासो गरिएको देखिन्छ भने घटनालाई आन्तरिक मिलोमतोमै साम्य पार्न खोजिएको हो कि भन्ने प्रहरीको प्रारम्भिक बुझाई रहेको छ ।
प्रहरीले भक्तपुर नगरपालिका वडा नं. ५ टौमडीमा गाईजात्रा पर्व मनाउने क्रममा झैझगडा भईरहेको भिडियो सामाजिक सञ्जालमा फैलिएपछि कुटपिटमा संलग्नको विवरण आज एक प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेको हो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया