भक्तपुरको गाईजात्रामा झडप : तीन जना पक्राउ, थपको खोजी जारी


भक्तपुर ।

गाईजात्राको अवसरमा भक्तपुरको न्यातापोल मन्दिरअगाडि युवाहरूबीच भएको झडपको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

आइतबार राति भएको उक्त घटनाको भिडिओमा केही युवाहरूले लाठी, मुक्का र लात्ती प्रयोग गर्दै आक्रमण गरेको देखिन्छ। भिडिओ सार्वजनिक भएपछि जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डिराज न्यौपानेले घटनाबारे प्रहरीको ध्यानाकर्षण भएको बताए।

‘झडप गरेको भिडिओबारे हाम्रो ध्यानाकर्षण भएको छ। यसमा संलग्नको खोजी गरिरहेका छौं,’ उनले भने, ‘तीन जना नियन्त्रणमा छन्, थपको खोजी भइरहेको छ।’

घटनामा संलग्न केही घाइते भएको र प्रहरीको टोलीले घटनाको अनुसन्धान थालेको डिएसपी न्यौपानेले जानकारी दिए।

प्रहरीका अनुसार पक्राउ पर्नेमा २२ वर्षीय सुनिल तामाङ, २५ वर्षीय विवेक श्रेष्ठ र २३ वर्षीय रविन महर्जन रहेका छन्। युवाहरूबीच किन झडप भयो भन्नेबारे भने हालसम्म स्पष्ट भएको छैन।