त्रिविमा अखिल क्रान्तिकारीको दादागिरी, रजिस्ट्रारमाथि हातपात

१९ दिनदेखि उपकुलपति कार्यालय बाहिरै

2.91k
Shares

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयको उपकुलपति प्राडा दीपक आर्यालको कार्यालयको मुल ढोकामा अनसन बसेका अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थीले सोमबार दिउँसो रजिस्ट्रार केदार रिजालमाथि हातपात गरेका छन् । गत असोज १ गतेबाट स्थापना भएको चार विभागमा अध्ययनरत विद्यार्थीको शुल्क अन्य विभागसरह हुनुपर्ने माग राख्दै उपकुलपति कार्यालयमा धर्ना दिएका विद्यार्थीहरूले रजिस्टार रिजाललाई टेबल क्यालेन्डर प्रहार गर्नुका साथै पानीको गिलासले समेत प्रहार गरेका छन् ।

रिले अनसन बसेका विद्यार्थीले उपकुलपति प्राडा अर्याल र रेक्टर प्राडा खड्ग केसी कार्यालयमा नभएको समयमा रजिस्ट्रार रिजालमाथि अभद्र व्यवहार गरेका हुन् । धर्ना शुरू भएदेखि उपकुलपति अर्याल कार्यालय प्रवेश गर्न सक्नुभएको थिएन । रजिस्ट्रार रिजालले माग पूरा गर्ने विषयमा अनेरास्ववियुसँग छलफल गरिरहेको अवस्थामा क्रान्तिकारीका विद्यार्थी रजिस्ट्रार कार्यालयमा प्रवेश गरी तोडफोड गरेका थिए । उनीहरूले क्रान्तिकारीसँग वार्ता नगरी सरकारआबद्ध अनेरास्ववियुका विद्यार्थी नेतासँग मात्र वार्ता गरेको आरोप लगाउँदै तोडफोड गरेका हुन् ।

तोडफोडबाट रजिस्ट्रारलाई सामान्य चोट लागेको छ भने रजिस्ट्रार कार्यालय क्षतिग्रस्त भएको छ । यसैबीच त्रिविका पदाधिकारीको कार्यकक्षमा तोडफोड गर्न पुगेका विद्यार्थी र प्रहरीबीच पनि केहीबेर झडप भएको थियो । झडपका क्रममका केही विद्यार्थी र प्रहरी घाइते भएका छन् । प्रहरीले विद्यार्थीलाई तितरवितर गरेपछि त्रिवि शान्त भएको छ ।

त्रिविमा खटिएका राष्ट्रिय अनुसन्धान विभागका प्रहरीले रजिस्ट्रार रिजाललाई सम्भावित झडपको विषयमा पहिला नै जानकारी गराएको थियो । अनेरास्ववियुसँग कुराकानी भइरहेको बेला क्रान्तिकारीका विद्यार्थी रजिस्ट्रारको कार्यकक्षमा प्रवेश गरी तोडफोड गरेका थिए ।

उपकुलपतिमा नियुक्त भएको ३३ दिन भए तापनि उहाँ कार्यकक्षमा १९ दिनभन्दा बढी बस्न पाउुनुभएको छैन । १९ दिनदेखि रिले अनसन बसेका विद्यार्थीले आफ्नो माग पूरा नभए आमरण अनसन बस्ने चेतवनी दिएका थिए । अघिल्लो उपकुलपति प्राडा केशरजंग बरालको कार्यकालमा भएको निर्णय कार्यान्वयन गर्न उपकुलपति अर्याललाई दबाब दिएका थिए ।

उपकुलपति प्राडा अर्यालले आफूले त्रिविको अवस्था बुझ्दै गर्दा विद्यार्थीले आन्दोलन गरी कार्यकक्षमा प्रवेश गर्न नदिएको आरोप लगाउँदै भन्नुभयो–‘समस्या समाधान गर्ने बेला हुँदै थियो, एक्कासी रिले अनसन बसेर कार्यकक्ष नै बन्द गरिदिए ।’ आन्दोलनरत विद्यार्थीसँग पटकपटक वार्ता गर्दा पनि समस्या समाधान हुन नसकेको उहाको भनाइ थियो ।

करिब एक दशकअघि कार्यक्रमको रूपमा रहेका चार विषयलाई गएको असोज १ गते विभाग बनाएको थियो । अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक, द्वन्द्व शान्ति र विकास, सामाजिक कार्य र लैङगिक अध्ययन विभाग गरी विभाग गठन गरेको विषयमा अध्ययन विना हचुवाको भरमा विभाग बनाएको आलोचना भएको थियो । अघिल्ला तीन पदाधिकारीले जबरजस्ती विभाग गठन भएदेखि समस्या थियो । आफैं कमाएर खानुपर्ने विभागमा प्रतिसेमेन्टर करिब ३६ हजार रुपियाँ लाग्छ । तर, क्रान्तिकारीले प्रतिसेमेस्टर करिब १५ हजार रुपियाँमात्र लिन दबाब दिएका थिए ।

उपकुलपति प्राडा अर्यालले पूर्ण अध्ययन नगरी शुल्क घटाउन नसकिने अडान राख्दै समिति गठन गर्नुभएको थियो । विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्रा. पशुपति अधिकारीको संयोजकत्वमा हिक्मत बहादुर राया र रामराज पोखरेल सदस्य रहेको समिति गठन गरेको थियो । समितिले विद्यार्थीसँग वार्ता गरी तत्काल सम्बोधन गर्ने तयारी भइरहेको समयमा वार्ता भाँडिएको टिप्पणी गर्दै संयोजक अधिकारीले भन्नभयो– ‘शुक्रवार समिति गठन भयो, शनि र आइतबार बिदा भएकोले हिजो साँझ ६ बजे बार्ता गर्ने समय तय भएको थियो, भाँडियो ।’

उपकुलपति अर्यालले समितिले आफ्नै संस्थामा सामाजिक अध्ययन र लैङगिक अध्ययन विभागले आफ्नै भवन भएका दुई विभागलाई भाडा दिएको विषय, शुल्कको विषयमा आपसी छलफल गरी निर्णय गर्ने, हरेक विभागको डीपीआर तयार गर्न जनही ५० लाख रुपियाँ व्यवस्था गर्न र चार विभागमा शिक्षक कर्मचारी व्यवस्थापन गर्ने विषयमा छलफल गरी निर्णय गर्ने जिम्मा वार्ता समितिलाई दिइएको जिकिर गर्दै भन्नुभयो– ‘वार्ता भएर समस्या समाधान गर्ने चरणमा थियौं । एकाएक झडपको अवस्था आएर भाँडियो ।’

यसैबीच त्रिभुवन विश्वविद्यालय (त्रिवि) कीर्तिपुरमा विद्यार्थी संगठनले गरेको रिले अनशनमा प्रहरीले हस्तक्षेप गरेको छ । शुल्क वृद्धिको विरोधमा आन्दोलनरत नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) को अनशनमा प्रहरीले सोमबार हस्तक्षेप गर्दा झडपको स्थिति सिर्जना भएको हो ।

अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष अभिमन्यु यादवले दिएको जानकारीअनुसार प्रहरीले संगठनका उपाध्यक्ष, महासचिव, केन्द्रीय सदस्यलगायत करिब १६ जनालाई पक्राउ गरेको छ । क्रान्तिकारीले उपकुलपति, रजिस्ट्रार र शिक्षाध्यक्ष (रेक्टर) को कार्यालयमा प्रदर्शन गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो ।