फोर्स गाडीमा गम्भीर प्राविधिक त्रुटि

व्यवसायीहरूद्वारा कम्पनीसँग क्षतिपूर्ति माग


काठमाडौं ।

देशभर ४ हजारभन्दा बढीको संंख्यामा रहेको फोर्स गाडीमा गम्भीर प्राविधिक त्रुटि आउँदा आफूहरुको व्यवसाय नै धरासयी भएको विभिन्न जिल्लाका यातायात व्यवसायीहरूले आरोप लगाएका छन् । नेपालका लागि फोर्स मोटर्सको आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालिले आफूहरुलाई विभिन्न प्रलोभन देखाएर ठगी गर्नुका साथै गुनासो लिएर जाँदा गैरजिम्मेवार व्यवहारको आरोप लगाउँदै क्षतिपूर्तिको मागसमेत गरेका छन् ।

नाडा अटो अटोमोबाइल्स एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष समेत रहेका ध्रुब थापा आयाम इन्टरकन्टिनेन्टल प्रालिका सञ्चालक हुन् । व्यवसायीहरूले पत्रकार सम्मेलन गरी मर्सिडिज बेन्ज इन्जिन र आकर्षक वारेन्टीको विश्वासमा लाखौं रुपियाँ लगानी गरेर फोर्सका गामा र क्रुजर मोडेल गाडी किन्दा लगातार प्राविधिक समस्या देखा परेका कारण व्यवसाय डुबेको गुनासो गरेका छन् । उनीहरुका अनुसार, गाडी किनेको केही समयमै इन्जिन सिज हुने, गुडिरहेको अवस्थामा टायर फुत्किने, टक्सन रड लगायतका महत्वपूर्ण पार्टपुर्जा भाँचिने तथा कम्पनीले समस्या समाधानमा चासो नदिने अवस्था दोहोरिइरहेको छ ।

दिक्तेल रुपाकोट हलेसी दर्शन यातायात प्रालिले ४० लाख ५० हजार रुपियाँमा खरिद गरेको १३ सिटे क्रुजर फोर–ह्वील गाडी एक महिनामै इन्जिन सिज भएको जनाएको छ । पटक–पटक मर्मत गरे पनि समस्या समाधान नभएपछि गाडी विगत आठ वर्षदेखि कम्पनीकै ग्यारेजमा थन्किएको छ ।

बैंकको ऋण र ब्याजको भारी तिर्नै नसक्ने अवस्थामा पुगेको भए पनि उल्टै कम्पनीले मर्मत खर्च माग्दै धम्की दिने गरेको समितिका महासचिव देवान राईको भनाइ छ ।

यस्तै, अन्य व्यवसायीहरू हस्त राई, जीवन मगर, हरिबहादुर राई, टंक राई, अनन्त श्रेष्ठ, जीवा श्रेष्ठ, मकर राई, महेश तामाङ, किशोर राई, बद्री गौतम, दीपक दाहाललगायतले पनि उस्तै समस्या भोगेको दाबी गरेका छन्। धेरै व्यवसायी दुर्घटनामा यात्रु घाइते भएको र ऋण तिर्न नसकेर विदेश पलायन हुनुपरेको उनीहरुको गुनासो छ ।

कम्पनीको ग्यारेजमा थन्किएका सबै गाडीको बैंकको साँवा–ब्याजसहित तत्काल पूर्ण क्षतिपूर्ति उपलब्ध गराउन, देशभरका अन्य पीडित व्यवसायीको पहिचान गरी आर्थिक तथा मानसिक क्षतिको मूल्यांकनपछि क्षतिपूर्ति दिन, गाडीमा देखिएका प्राविधिक त्रुटि सार्वजनिक रूपमा स्वीकार गरी बजारमा रहेका गाडीको उचित व्यवस्थापन गर्न, सम्बन्धित सरकारी निकायले छानबिन गरी दोषी कम्पनीमाथि कारबाही गर्न उनीहरुको माग छ ।

बिक्रेता आयाम इन्टरकन्टिनेन्टलले भने व्यवसायीहरूले वारेन्टीको मापदण्डअनुसार सर्भिस नगरेको, कम्पनीले सिफारिस गरेको इन्जिन आयल प्रयोग नगरेको र गाडी लगातार समस्या देखिँदा पनि उचित मर्मत नगरी चलाइराखेको दाबी गरेको छ ।
फोर्स गाडीको प्राविधिक समस्या र कम्पनीको व्यवहारबारे असन्तुष्ट व्यवसायीहरू नियमक निकायसम्म पुगेका छन्। अदालतको फैसलापछि मात्र कानुनी निष्कर्ष आउने भए पनि पीडित व्यवसायीहरू भने न्यायका लागि निरन्तर संघर्षमा रहेको बताउँछन्।

व्यवसायीहरूको आरोप अनुसार, तीन वर्षको वारेन्टी र उच्च प्रदर्शनको दाबीले आकर्षित गरे पनि, व्यवहारमा फोर्स गाडीले उनीहरूलाई धोका दिएको छ।

– फोर्स गाडीहरूमा बारम्बार इन्जिन सिज हुने, टायर फुत्किने र अन्य प्राविधिक समस्या देखा परेको ।
– व्यवसायीहरूद्वारा कम्पनीमाथि ठगी र धोकाको आरोप ।
– कम्पनीको ग्यारेजमा वर्षौदेखि गाडी थन्किएका कारण व्यवसायीहरू आर्थिक र मानसिक संकटमा ।
– कम्पनीद्वारा व्यवसायीहरूले वारेन्टी र सर्भिस मापदण्ड पालना नगरेको दाबी ।
– व्यवसायीहरूद्वारा र सरकारी निकायबाट छानबिन र कारबाहीको माग ।