कैलाली कारागार अझै कैदीबन्दीको कब्जामा, सुरक्षा अधिकारीहरु घटनास्थल पुग्नै सकेनन्

गृह र कारागार व्यवस्थापन विभागका प्रतिनिधि पठाउन कैदीबन्दीको माग

11k
Shares

धनगढी। 

कैलाली कारागारमा हिँसात्मक घटना भएको तीन दिन वित्नलाग्दा समेत सुरक्षा निकायका अधिकारी घटनास्थल पुग्न सकेका छैनन् । सुरक्षाका कारण सुरक्षा अधिकारी कारागार निरिक्षण गर्न सकिरहेका छैनन् । सुरक्षा अधिकारी घटनास्थल पुग्न नसक्दा कैलाली कारागार कैदी बन्दीको नियन्त्रणमा रहेको छ । कैदीबन्दीहरूले भित्रबाट ताला लगाउँदै थुनुवा कक्ष पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिएकाले प्रहरी समेत भित्र जान पाएका छैनन् ।

शुक्रवार राती  कैलाली कारागारमा भएको हिँसात्मक घटनामा परि एक जनाको मृत्यु  हुनुका साथै ४९ जना घाईत भएका थिए । गम्भीर घाइते भएका गोदावरीका आयुष भट्टलाई शनिवार साँझ काठमाडौँ रिफर गरिएको थियो भने अर्का घाइते मोहन्याल ३ का करण सलामीलाई आइतवार रिफर गरिएको छ । उनको नसा काटिएकोले रगत नरोकिएपछि रिफर गर्नुपरेको सेती प्रादेशिक अस्पताल धनगढीका मेडिकल सुपरिटेण्डेण्ट डा .हेमराज पाण्डेले जानकारी दिए। 

 आफ्नो नियन्त्रणमा राखेका कैदीबन्दीले सरकारी अधिकारीलाई स्थलगत निरीक्षणमा अवरोध गरेपनि कारागार भित्र रहेका कैदी बन्दीका आफन्तहरुलाई आईतवार विहानदेखि भेट्न दिएका छन् । आइतरवार विहादनदेखि कारागार भित्र रहेकाहरुलाई भेट्न आउने आफन्तहरुकोे भीड लागेको छ ।

 घटनापछि शनिवार बिहान प्रमुख जिल्ला अधिकारी सहित चारै सुरक्षा निकायका प्रमुखहरू घटनास्थल निरीक्षणका लागि कारागार पुगेका थिए, तर कैदीबन्दीहरूले भित्र पस्न नदिएपछि जिल्ला प्रशासन कार्यालयमा कैलालीमा सुरक्षा समितिको बैठक बसी सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । समितिले छानबिन शुरु गरेको समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए । कारागारमा भएको हिँसात्मक घटनाको समयमा कैलाली कारागारका जेलर विदामा रहेकाले बाँके कारागारबाट खटाईनुभएका जेलर जालन्धर भुसालले स्थितिलाई सामान्य बनाउने प्रयास गरेपनि उहाँको प्रयास सफल हुन सकेको छैन । तर, जेलर भुसालले  तनावग्रस्त कैलाली कारागारमा रहेका कैदीबन्दीको संख्या यकिन गर्न गणना थालेका छन् ।

शनिबारमात्रै कारागारको जिम्मेवारी सम्हालेका जेलर  भुसालले प्रत्येक कैदीलाई बोलाएर संख्या गणना गर्न थालेका हुन्  कारागार स्रोतका अनुसार, अहिले धमाधम कैदीबन्दीको संख्या यकिन गर्ने काम भइरहेको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार, प्रत्येकको अनुहार हेर्दै जेलरको नेतृत्वमा कैदीबन्दीको गणना भइरहेको हो । घटना भएको ३ दिन हुन लाग्दा स्थानीय प्रशासनले स्थिति साम्य गर्न सकेको छैन । सो क्रममा आइतबार दिउँसो २ बजेपछि कैदीबन्दीको संख्या यकिन गर्नका लागि प्रशासन सक्रिय भएको हो । समाचार स्रोतका अनुसार, गृह मन्त्रालय वा कारागार विभागबाटै प्रतिनिधिहरू आएपछि मात्रै थुनुवा कक्ष खोल्ने कैदीबन्दीहरुले बताउँदै आएका छन् ।

 १५० जनाको क्षमता रहेको कैलाली कारागारमा हाल करिब ७०० कैदीबन्दी छन्। कैदीबन्दीहरूले कारागारको आन्तरिक प्रशासन, व्यवस्थापन सुधार, अवैध आर्थिक चलखेल रोकथाम लगायतका मागसहित साउन १२ गते मानव अधिकार आयोगलाई पत्र बुझाएका थिए । ५९० कैदीबन्दीको हस्ताक्षरसहितको उक्त पत्रपछि आयोगले जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र कैलाली कारागारलाई सचेत गराउँदै पत्र पठाएको थियो । स्थानीय प्रशासनले पत्रको बेवास्ता गर्दा हिँसात्मक घटना भएको स्थानीय बासिन्दाहरूको आरोप छ ।