फ्यचरामा २०२५ : प्रविधिमा नेपाली युवाको भविष्ययात्रा


काठमाडौं ।

इस्लिङ्टन कलेज र आईएनजी स्किल एकेडेमीको सहकार्यमा तीन दिने प्रविधि महोत्सव ‘फ्यचरामा २०२५’ काठमाडौंमा सम्पन्न भएको छ । साउन २१ देखि २३ गतेसम्म इस्लिङ्टन कलेज परिसरमा आयोजित महोत्सवले नेपाली युवाहरूको प्रविधिमैत्री सोच, सिर्जनशीलता र प्रयोगात्मक सीपलाई उजागर गरेको थियो ।

प्रदर्शनीमा विद्यार्थीले निर्माण गरेका स्वचालित सवारी साधनका मोडल, रोबोटिक सहायक, ‘प्रोजेक्ट किसान (फर्म बोट)’, टेलिप्रेसेन्स रोबोट तथा विविध एनिमेशन अनुभवले दर्शकको विशेष ध्यान खिचेको थियो । साथै डिजिटल सुरक्षादेखि कृत्रिम बुद्धिमत्ता (एआई) सम्मका विषयमा अन्तरक्रियात्मक स्टल, प्रत्यक्ष प्रस्तुति र कार्यशाला समेत राखिएको थियो ।
अन्तिम दिनमा सहभागी युवामाझ लोकप्रिय ‘कफी रब’ सत्र पनि सम्पन्न भएको थियो । आयोजकका अनुसार तीन दिनको अवधिमा ३ हजार ५ सयभन्दा बढीले प्रदर्शनी अवलोकन गरेका थिए ।

मुख्य संयोजक अनिषा आचार्यका अनुसार, फ्यचरामाको उद्देश्य प्रविधिमा रुचि राख्ने युवालाई प्रयोगात्मक सिकाइको अवसर दिने हो । यसले उनीमा आत्मविश्वास बढाउनुका साथै दीगोपन र उद्यमशीलताको सोच विकसित गर्न मद्दत पुर्‍याउँछ ।

फ्यचरामा २०२५ केवल प्रविधि प्रदर्शन मात्र नभई दीगो विकास, उद्यमशीलता र प्रयोगात्मक शिक्षाको सशक्त स्थापना गर्ने दिशामा उल्लेखनीय योगदान भएको आयोजकको दाबी छ । यस कार्यक्रमलाई आगामी दिनमा नेपालका अन्य प्रमुख शहरमा पनि विस्तार गर्ने योजना रहेको छ, जसबाट देशभरका युवामा प्रविधि र नवीनताको चेतना फैलाउने अपेक्षा गरिएको छ ।