उत्तराखण्ड बाढी अपडेट : जाजरकोटका १३ जना बेपत्ता


सुर्खेत।

भारतको उत्तराखण्ड राज्यअन्तर्गत उत्तरकाशी जिल्लाको हर्सिल क्षेत्रमा मङ्गलबार दिउँसो आएको बाढीमा परेर जाजरकोटका १३ जना नेपाली नागरिक बेपत्ता भएका छन्।

बेपत्ता हुनेहरू जाजरकोटको कुशे गाउँपालिका–२ का बासिन्दा भएको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी गराएका छन् । बाढीपछि उनीहरू परिवारजन र गाउँका अन्य व्यक्तिहरूसँग सम्पर्कविहीन भएका छन्।

अध्यक्ष बस्नेतले बुधबार एक विज्ञप्ति जारी गर्दै भारतमा मजदुरीका लागि गएका ती नेपालीहरू बाढीपछि सम्पर्कमा नआएको जनाएका छन्। “परिवारले उहाँहरूसँग सम्पर्क हुन नसकेको जानकारी गराएका छन्,” बस्नेतले भने।

बेपत्ताको खोजी तथा उद्धारका लागि बस्नेतले नेपाल सरकारको परराष्ट्र मन्त्रालयसँग आग्रह गरेका छन्। उनका अनुसार कुशे गाउँपालिकाका अन्य वडाबाट पनि केही व्यक्ति सोही क्षेत्रमा मजदुरी गरिरहेका छन्, तर उनीहरूसँग समेत हालसम्म सम्पर्क हुन सकेको छैन।