शिक्षक महासंघले भदौ दोस्रो सातादेखि फेरि आन्दोलन गर्ने


काठमाडौँ।

नेपाल शिक्षक महासंघले शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै भदौ दोस्रो सातादेखि आन्दोलनमा जाने निर्णय गरेको छ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार, बिहीबार काठमाडौंमा बसेको बैठकले पूर्वसहमति अनुसार विधेयक अघि नबढेको निष्कर्ष निकाल्दै आन्दोलनको घोषणा गरेको हो।

“भदौ दोस्रो साताको प्रारम्भबाट आन्दोलन थाल्ने निर्णय भएको छ,” अध्यक्ष सुवेदीले भने। “आन्दोलनका कार्यक्रमका लागि महासंघको आन्दोलन परिचालन समिति खाका तयार गर्नेछ र त्यसलाई राष्ट्रिय समितिले पारित गर्नेछ।”

त्यसअघि भदौ ३ र ४ गते राष्ट्रिय समितिको पूर्ण बैठक बोलाइएको छ। सुवेदीले आफूलाई शिक्षा समितिमा विधेयकको वर्तमान स्थिति बारे प्रष्ट जानकारी नभएको उल्लेख गर्दै, विधेयक प्रतिनिधिसभामा दर्ता भएपछि मात्रै त्यसको समिक्षा र मूल्याङ्कन गरिने बताए।

बैठकमा सरकारसँग भएको विगतको सहमति र त्यसपछि देखिएको प्रगति वा गतिरोधबारे समीक्षा गरिएको थियो।

अध्यक्ष सुवेदीका अनुसार, “शिक्षक तथा शिक्षा क्षेत्रका समस्यालाई सम्बोधन गर्ने गरी विधेयक आउने आशा न्यून देखिएको” महासंघको निष्कर्ष छ। महासंघले समग्र शिक्षक कर्मचारीलाई सन्तुष्ट पार्ने खालको विधेयक नआउने सङ्केत देखिएको ठहर गरेको छ।