काठमाडौँ।
निर्वाचन आयोगले तयार पारेको ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि, २०८२’ को मस्यौदामाथि नेकपा एमालेले असहमति जनाएको छ। आयोगले दलहरूको मूल्यांकन, रेखदेख र सञ्चालनबारे प्रस्तावित व्यवस्था संविधान र राजनीतिक दलको स्वायत्तताको भावना विपरित रहेको भन्दै एमालेले आपत्ति जनाएको हो।
एमाले निर्वाचन विभागका प्रमुख निरज आचार्यका अनुसार पार्टी महासचिव शंकर पोखरेलले आयोगलाई औपचारिक पत्र पठाउँदै मस्यौदाप्रति असहमति जनाएका छन्।
“राजनीतिक दलको मूल्यांकन सम्बन्धी कार्य दलको आन्तरिक स्वनियमन प्रक्रियामा पर्ने विषय हो,” आचार्यले भने, “संविधानको भाग २९ अन्तर्गत धारा २६९ देखि २७२ सम्मको व्यवस्था अनुसार दलहरूको गठन, सञ्चालन र दर्ता सम्बन्धी अधिकार स्वायत्त र स्वतन्त्र हुन्छ। त्यसैले मूल्यांकन पनि दल आफैंले गर्ने विषय हो, जनताले जनादेशमार्फत मूल्यांकन गर्छन्।”
उनका अनुसार, एमालेले आयोगलाई पठाएको पत्रमा स्पष्ट रूपमा भनिएको छ कि, “सैद्धान्तिक रूपमा राजनीतिक दल स्वमूल्यांकन कार्यविधि राजनीतिक दलको आन्तरिक विषय भएकाले एमालेलाई स्वीकार्य छैन।”
निर्वाचन आयोगले हालै सबै दर्ता भएका राजनीतिक दलहरूलाई ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि, २०८२’ को मस्यौदा पठाएको थियो। उक्त मस्यौदाको दफा ५ मा मूल्यांकन समितिको व्यवस्था गर्दै सचिवको नेतृत्वमा मूल्यांकन, निर्देशन तथा रेखदेखको जिम्मेवारी तोकिएको छ।
तर एमालेले यस्तो प्रावधान राजनीतिक दलको आन्तरिक संरचनामा अनावश्यक हस्तक्षेप हुने दाबी गर्दै कार्यविधि फिर्ता लिन माग गरेको छ।











प्रतिक्रिया