काठमाडौं ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आफ्ना गुरु सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीलाई कामपाको वरिष्ठ सइलाई मनोनयन फिर्ता गरेको पत्र लिन बोलाउनुभएको छ । साउन १ गते अपमानजननक रूपमा नगरप्रहरी लगाएर कार्यकक्षबाट बाहिरिन लगाएका उपाध्यक्ष राजभण्डारीलाई १८ गतेको मिति राखेर पत्र तयार गरेको थियो ।
हिजो बुधबारसम्म नियमित अनुगमनको काम गरिरहनुभएका उपाध्यक्ष राजभण्डारीलाई बुधबार फिर्ता गरिएको पत्र दिने प्रयास गरेको थियो । उच्चस्रोतका अनुसार सहरी योजना आयोगमा कार्यरत वरिष्ठ सई शेषकुमार तिवारीले मनोनयन फिर्ता गरेको पत्र दिन बोलाएका थिए । महानगर क्षेत्रमा बिच्छ्याइएको ब्लक, पिच, ढुंगालगायतका सामग्रीको गुणस्तर परीक्षण गर्ने विषयमा मेयरका व्यवस्थापन सल्लाहकार कुमार व्यञ्जनकार, प्रविधि सल्लाहकार सुनील लम्सालसँग विमति भएपछि उपाध्यक्ष राजभण्डारीलाई हटाउने प्रपञ्च गरिएको थियो । पत्र काटेको विषयमा उपाध्यक्ष राजभण्डारीसँग जानकारी लिन खोज्दा मोबाइल उठाउनुभएन । कामपाका अनुसार उपाध्यक्ष राजभण्डारीले हालसम्म पत्र बुझिसक्नुभएको छैन ।
सायद अनुगमन गरेको विषय चित्त नबुझेपछि मेयर साहले उपाध्यक्ष राजभण्डारीलाई हटाएको हुन सक्छ । उच्चस्रोतका अनुसार महानगरमा बिच्छ्याइएको ब्लक गुणस्तरहीन भएको विषय अख्तियार दुरुपयोग अनुसन्धानसमेत पुगिसकेको छ । ‘मेयरका सल्लाहकार लम्लाल र व्यञ्जनकारले अधिकांश ठेक्कापट्टा र टेन्डरमा अस्वाभाविक चलखेल गर्ने गरेका छन्’ –कामपाका कर्मचारीले भने ।
यसअघि काठमाडौं टावरको प्रतिवेदन बुझाउन नसकेको भन्दै मेयर साहले उपाध्यक्ष राजभण्डारीमाथि प्रश्न उठाउनुभएको थियो । तत्काल यो विषयमा हात नहाल्न पटकपटक आग्रह गरेका थिए । उपाध्यक्ष राजभण्डारी अनुगमन गरेको विषय मेयरलाई समेत चित्त बुझेको थिएन । आफू निकटका सल्लाहकारलाई आरोप नलगाउन मेयर साहले उपाध्यक्षलाई आग्रह गर्नुभएको थियो ।
पछिल्लो समय हनुमानढोका दरबारक्षेत्र, असन, मखनलगायतका क्षेत्रमा लगाइएको ढुंगाको गुणस्तरहीन भएको विषयमा उपाध्यक्षले प्रश्न उठाउनुभएको थियो । गुणस्तरहीन सामग्री य्रयोग गरेको गुनासो आएपछि उपाध्यक्षको टिमले सबै सामग्रीको गुणस्तरीयता परीक्षण गर्न माग गर्नुभएको थियो ।
मेयर साहले कानुनविपरीत उपाध्यक्षलाई हटाएको आरोप लागेको छ । मनोनयन फिर्ता गरेको पत्रमा कार्यपालिकाको बैठकबाट नियुक्ति गरेको विषय उल्लेख छैन भने नियुक्ति गरेको पत्रमा कार्यपालिकाको बैठकले उपाध्यक्ष नियुक्ति गरेको उल्लेख गरेको छ ।
चलानी नं १७ उल्लेख भएको पत्रमा काठमाडौं महानगरपालिका सहरी योजना आयोग (गठन तथा सञ्चालन कार्यविधि) ऐन, २०७५ को परिच्छेद २ दफा ३ को उपदफा २ बमोजिम मिति २०८० साउन ३२ गते सहरी योजना आयोगको उपाध्यक्ष पदमा गरिएको मनोनयनलाई सोही ऐनको परिच्छेद ४, दफा ११ (ग) बमोजिम सहरी योजना आयोगको उपाध्यक्ष मनोनयन फिर्ता गरिएको जानकारी गराउँदछु ।
तपाईंले काठमाडौं महानगरपालिका सहरी योजना आयोगको उपाध्यक्ष पदमा रही पु¥याउनुभएको योगदानको कदर गर्दै काठमाडौं महानगरपालिका धन्यवाद व्यक्त गर्दछ भनिएको छ । पत्रमा मेयर साहको हस्ताक्षर छ । दुईवर्ष अघि नियुक्ति गर्दा काठमाडौं महानगरपालिका सहरी योजना आयोग (गठन तथा सञ्चालन कार्यविधि) ऐन, २०७५ को दफा ३ को उपदफा (२) को खण्ड (घ) बमोजिम काठमाडौं महानगरपालिका नगरकार्यपालिकाको मिति २०८० साउन ३२ को निर्णय निर्णयानुसार तपाईंलाई सहरी योजना आयोगको उपाध्यक्ष पदमा पदाधिकार कायम हुने गरी नियुक्त गरिएको उल्लेख छ ।
तपाईंले सहरी योजना आयोगको उपाध्यक्षको रूपमा तोकिएको कार्यक्षेत्र, कार्य विवरण एवं जिम्मेवारी जवाफदेही, उत्तरदायी ढंगले सम्पादन गर्नुहुनेछ भन्ने विश्वास लिएको छु । काठमाडौं महानगरपालिकाको सहरी योजना आयोगको उपाध्यक्षको रूपमा हार्दिक स्वागत गर्दै तपाईंको सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु भनिएको थियो । त्यसबेला कार्यपालिकाको बैठकको निर्णय गरिएको थियो । अहिले मेयरले निर्णय गरी पत्र पठाइएको छ ।
आयोगमा थरिथरिका विज्ञ नियुक्ति गरेका मेयर साहले पछिल्लो समय सुदिप ढकालको प्रयोग गरी राजीनामा माग्न लगाउनुभएको थियो । स्रोतका अनुसार हाल सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यलाई उपाध्यक्ष नियुक्ति गर्न राजभण्डारीलाई हटाएको चर्चा चलेको छ । शाक्य केही महिनामा अवकाश हुनुहुनेछ । उपाध्यक्ष राजभण्डारी हिजोसम्म पनि नियमित काम गरिरहनुभएको छ । स्रोतका अनुसार उपाध्यक्ष राजभण्डारीले विभिन्न वडामा भइरहेको विकास निर्माणको कामको दैनिकजसो अनुगमन गरिरहनुभएको छ ।











प्रतिक्रिया