हेटौंडा।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफूले मुख्यमन्त्री भएबापत् प्राप्त हुने तलबभत्ताको रकमबाट आफू निर्वाचित भएको क्षेत्रका विपन्न परिवारको घर निर्माण गरिदिने भएका छन्।
मुख्यमन्त्री नियुक्त भएसँगैको पहिलो मन्त्रिपरिषद् बैठकमा बानियाँले आफूले प्राप्त गर्ने तलबभत्ताको रकमबाट आफू निर्वाचित मकवानपुर क्षेत्र नम्बर–२ (ख) का अतिविपन्न परिवार छनौट गरी घर निर्माण गरिदिने जानकारी गराएका हुन् । बानियाँ नेतृत्वको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्को पहिलो बैठकले प्रदेशभरका विपन्न परिवारका ६ जनालाई डाक्टर र १० जनालाई नर्स पढाउने निर्णय पनि गरेको छ ।
मन्त्रिपरिषद् बैठकले आर्थिक अभावका कारण उच्चशिक्षा अध्ययन गर्न नपाएका विपन्न र सीमान्तकृत परिवारका जेहेन्दार विद्यार्थीलाई सामाजिक विकास मन्त्रालयबाट छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको छ । जेहेन्दार र विपन्नमध्ये छनौट गरी मेडिकल डाक्टर २ जना, आयुर्वेद डाक्टर २ जना र भेटेरिनरी डाक्टर २ जनाका साथै १० जना नर्सका छात्रालाई पूर्णछात्रवृत्ति दिने निर्णय भएको सरकारका प्रवक्ता खानेपानी, ऊर्जा तथा सिञ्चार्इं मन्त्री कृष्णकुमार तामाङले जानकारी दिए ।

मन्त्रिपरिषद्को पहिलो बैठकले प्रदेशभित्र रहेका अतिगरिब र सीमान्तकृत समुदाय, दलित चेपाङ, बोटे, जिरेल, हायु, वनकरियालगायतलाई जीवनयापनमा सहयोगका लागि गाँसबास र कपासको प्रवन्ध गर्न उच्च प्राथमिकतासाथ नीति बनाइ यथाशीघ्र कार्यान्वयन गर्ने निर्णयसमेत गरेको छ ।
बैठकले हालको मौसमजन्य प्राकृतिक विपत्तिको जोखिमलाई दृष्टिगत् गर्दै तत्कालीन उद्धार, राहत तथा प्रतिकार्यका लागि पहल अघि बढाउने निर्णय गरेको छ । मन्त्री तामाङका अनुसार उच्चस्तरीय एकीकृत संयन्त्र निर्माण गरिनेछ, जसको संयोजक आन्तरिक मामिला तथा कानुन मन्त्री रहनेछन् भने विभिन्न प्रशासनिक निकायका प्रमुख सदस्य रहनेछन् । संयन्त्रलाई सधैं तत्काल प्रतिक्रिया दिनसक्ने तयारी अवस्थामा राखिने र आवश्यक सामग्री अग्रिमरुपमा उपलब्ध गराइनेछ ।
बैठकले बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोपबाट बासस्थान गुमाएका नागरिकका लागि अस्थायी बसोबासको व्यवस्था गर्न प्रदेश सरकार अग्रसर हुने निर्णय गरेको छ । विपत्तिबाट क्षतिग्रस्त भएका सडकहरुलाई संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सम्बन्धित स्थानीय तहसँगको सहकार्यमा तत्काल मर्मत गरी सवारी सञ्चालनको अवस्था कायम गरिनेछ ।
मुख्यमन्त्री बानियाँले उत्तरदायी, जिम्मेवार र पारदर्शी भइ निष्पक्षतासाथ जनताको सेवा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । बुधबार विहान नेपाली कांग्रेस प्रदेश समितिले गरेको स्वागत तथा बधाईज्ञापन कार्यक्रममा बानियाँले जनतालाई न्याय, शान्ति र विकास दिन आफू र आफ्नो मन्त्रिमण्डल प्रतिवद्ध रहेको बताए ।
‘राजनीति सेवा र धर्म हो । राजनीति व्यापार हैन । व्यापारमा नाफा नोक्सान हुन्छ । तर, राजनीतिमा न्याय हुन्छ । हामीले जनतालाई न्याय दिन, शान्ति दिन विकास दिनकै लागि राजनीति गरेका हौं,’ बानियाँले भने–त्यो बाटोमा हामी एकदिन पनि नअल्मल्लिइ ठीक र सत्य, न्याय र इन्साफ गरिब र निमुखा सर्वसाधारणको पक्षमा उत्तरदायी, जिम्मेवार, पारदर्शी र जवाफदेही भएर निष्पक्ष सक्रियरुपमा काम गर्ने प्रतिवद्धता जनाउँदछु ।
मुख्यमन्त्री बानियाँले संसद्ले पारित गरेको संकल्प प्रस्ताव ग्रहण गरेर कार्यान्वयनमा लैजाने निर्णय गरेका छन् । उनले असार २३ गतेको प्रदेशसभा बैठकले पारित गरेको संकल्प प्रस्ताव ग्रहण गरेर कार्यान्वयनमा लैजाने निर्णय गर्दा आर्थिक मितव्ययिता र सुशासन, सेवाप्रवाहलाई प्रभावकारी र बजेट प्रणालीलाई जनमुखी बनाउने विषयमा मुख्यमन्त्री बानियाँले बताएका छन् । निर्णयअनुसार प्रदेशमा आर्थिक मितव्ययिता र सुशासन कायम गर्ने उद्धेश्य हो । सरकारले अनावश्यक र फजुल खर्च कटौती र सरकारी कोष दुरुपयोग हुन नदिने निर्णय गरेको उनको भनाइ छ । सेवाप्रवाहलाई प्रभावकारी बनाउन छिटो, छरितो र सहज बनाउने, जनताले सरकारी सेवाका लागि झन्झट बेहोर्नु नपर्ने र समयमै काम हुने सुनिश्चित गर्ने, बजेट प्रणालीलाई जनमुखी बनाउने निर्णय संकल्प प्रस्तावमा छ । सरकारले बनाउने वार्षिक बजेट ठूलाबडा वा पहुँचवालाका लागि नभइ आमजनताको आवश्यकता र चाहनालाई केन्द्रमा राखेर बनाउने, विकासका योजना र कार्यक्रमले सीधै जनताको जीवनस्तरमा सुधार ल्याउने कुरालाई प्राथमिकता दिइने बानियाँले बताए ।
उता, प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले पदभारग्रहण गरी ३ महत्वपूर्ण निर्णय गरेका छन् । उनले यातायात व्यवस्था नियमावली बनाइने, प्रदेशमा आईटी हब र ५ सय युवालाई सवारीचालक तालिम दिएर यातायात क्षेत्रमा रोजगारी सिर्जना गर्ने निर्णय गरेका हुन् ।
स्वास्थ्य मन्त्री किरण थापाले अनलाइन एकीकृत कार्यालय व्यवस्थापन प्रणालीमार्फत् ३ वटा महत्वपूर्ण निर्णय गरेका छन् । प्रदेशमा विद्युतीय स्वास्थ्य आपत्कालीन प्रतिकार्य प्रणाली विकास, स्वास्थ्य सेवा प्रणालीलाई व्यवस्थित, छिटोछरितो र प्रभावकारी तथा अस्पताल सेवामा सुधार ल्याउन मन्त्रालयले उक्त प्रणाली विकास गर्ने निर्णय गरेको हो । उक्त प्रणालीले स्वास्थ्य सेवाप्रवाहमा छिटो र छरितो हुने विश्वास मन्त्री थापाले गरे ।
थापा २०८१ साउन ९ गते स्वास्थ्य मन्त्री नियुक्त भएका थिए भने मंगलबार गठन भएको बानियाँ नेतृत्वको मन्त्रिमण्डलमा पुनः स्वास्थ्य मन्त्री नियुक्त भएका हुन्।











प्रतिक्रिया