विकास निर्माण कार्यलाई गति दिँदै सरकार

विकास निर्माण आयोजनाका समस्या तथा झमेलाहरू धमाधम हटाइँदै


–फास्ट ट्रयाकको काम ३५ प्रतिशतबाट बढेर ४२.१३ प्रतिशत

–मुग्लिङ–पोखरा सडकको पूर्वी खण्ड ६० प्रतिशतबाट ८२.७४ प्रतिशत

–नागढुंगा सुरुङमार्गको प्रगति ६६ प्रतिशतबाट ९२.५ प्रतिशत पुग्यो

–सिद्धबाबा सुरुङमार्ग सडकको प्रगति १६ प्रतिशतबाट ५८.३ प्रतिशतमा

–सडक कालोपत्रे ६५७ किमिबाट ९३२ किमि

–दैनिक २.५५ किमि कालोपत्रे

काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले विकास निर्माण कार्यमा गति दिन थालेको पाइएको छ । प्रचण्ड नेतृत्वको सरकारको पालामा भन्दा विकास निर्माण कार्यले हाल उच्च गति लिन थालेको पाइएको हो ।
प्रधानमन्त्री ओलीले सरकार गठनसँगै नयाँ आयोजनाका संख्या थप्ने होइन कि निर्माणाधीन आयोजना सम्पन्न गर्ने प्रतिबद्धतासहित निर्माणाधीन विकास आयोजनाहरूको तीव्र अनुगमन गरी विकासमा गति दिन निर्देशन दिँदै आउनुभएकाले सोहीअनुसार विकास कार्यले गति लिइरहेको प्रधानमन्त्रीका निजी सचिव विनोदबहादुर कुँवरले जानकारी दिनुभयो ।

पुष्पकमल दाहालको अघिल्लो सरकारको कार्यकालमा रोकिएका, झमेला, ढिलासुस्ती, रूख कटान, न्यून बजेटलगायतका समस्या व्यहोरेका आयोजनालाई प्रधानमन्त्री ओली आफैंले विशेष पहलकदमी लिँदै अघि बढाइरहनुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । ओली नेतृत्वको सरकारले राष्ट्रिय राजमार्गका रूपमा रहेको मुग्लिङ–पोखरा सडक (पूर्वी खण्ड) सम्पन्न हुने अवस्थामा पुयाएको छ भने ठप्प प्रायः रहेको कमला–कञ्चनपुर सडकको निर्माण कार्यलाई चालू बनाई सो खण्डमा ६६ प्रतिशत उपलब्धि हासिल गरेको छ । यसअघिको प्रचण्ड सरकारका पालामा ठेक्का तोड्नुपर्ने अवस्थामा पुगेको नारायगढ–बुटवल सडकखण्डमा प्रम आफैंले अग्रसरता लिएपछि सो सडकमा ७० प्रतिशतभन्दा बढी काम भइसकेको कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार ओली प्रधानमन्त्री भएपछि काठमाडांै–तराई मधेस द्रुतमार्गमा प्रगति ३५ प्रतिशतबाट बढेर ४२.१३ प्रतिशत पुगेको छ । यस्तै, काँकडभिट्टा–लौकही पूर्वी खण्डमा ६ प्रतिशतबाट २२.१२ प्रतिशत, पश्चिम खण्डमा ४.७ प्रतिशतबाट २२.१ प्रतिशत पुगेको छ । मुग्लिङ–पोखरा सडकको पूर्वी खण्ड ६० प्रतिशतबाट ८२.७४ प्रतिशत पुगेको छ भने पश्चिम खण्ड ४५ प्रतिशतबाट ५४.१ प्रतिशतमा पुगेको छ ।

यसैगरी, नागढुंगा सुरुङमार्गको प्रगति ६६ प्रतिशतबाट ९२.५ प्रतिशत, सिद्धबाबा सुरुङमार्ग सडकको प्रगति १६ प्रतिशतबाट ५८.३ प्रतिशतमा उक्लिएको छ । केही आयोजनाहरू जस्तै कमला–ढल्केवर–पथलौया सडक र बुटवल–गौरुसिङ्गे–चनौटा सडक २०८१÷८२ मा मात्र सुरु गरिएका हुन्, जसमा प्रारम्भिक प्रगति क्रमशः १०.९१ र १२.२३ प्रतिशत छ । कालिगण्डकी करिडोरमा ६४.८ बाट ७९.८ प्रतिशत, बेनी–जोमसोम–कोरोला खण्डमा ७२ बाट ८५ प्रतिशत र तमोर करिडोरमा २५ बाट ५६ प्रतिशत प्रगति पनि उल्लेख्य प्रगति हुन् ।

निजी सचिव कुँवरका अनुसार प्रधानमन्त्रीकै सक्रियतामा तराई मधेस फास्ट ट्रयाक्कदेखि पूर्व–पश्चिम राजमार्गको काँकडभिट्टादेखि सुनसरीको लौकहीखण्ड, मध्य पहाडी राजमार्ग सडक विस्तार र स्तरोन्नतिले गति लिएको छ । लामो समयसम्म अन्योलमा रहेको बुटवल गोरुसिङ्गे चन्द्रौटा सडक निर्माणका लागि वर्तमान सरकारले विशेष अनुगमन गरी साइट क्लिएर गराई ठेक्का सम्झौताको चरणमा पु¥याएको छ । हाल सो सडकमा रूख कटान, साइट क्लियरेन्सलगायत काम सकेर १२ प्रतिशत प्रगति भइसकेको अवस्था छ । यस सरकारले मुलुकमा पूर्व–पश्चिम राजमार्गभित्र आठ मुख्य खण्डमा छुट्याएर काम गरिरहेको छ भने नेपाल, भारत र चीनबीचको व्यापारिक तथा रणनैतिक मार्ग मानिएका उत्तर दक्षिण लोकमार्ग प्राथमकिता दिँदै हुम्लालाई राष्ट्रिय सडक पहुँचमा जोडिएको छ ।

ओली नेतृत्वको सरकारले यसअघि पनि मुलुकभर एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक, मदन भण्डारी राजमार्ग, हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्ग निर्माणसहित राष्ट्रिय मार्गचित्रका आयोजना सुरुवात गरेको थियो । योसरकारले सडक पूर्वाधारमा एसियन मापदण्डस्तरको राष्ट्रिय राजमार्ग निर्माण, लोकमार्ग निर्माण, सडक लेन विस्तार, सुरुङ मार्ग निर्माणलगायतका पूर्वाधार निर्माणमा केन्द्रित गर्दै आइरहेको छ । ओली सरकारकै पालामा नेपाल सुरुङ मार्गमा प्रवेश गरेको हो र नागढुंगा सुरुङमार्गमा छिट्टै निर्वाध रूपमा सवारी साधन गुडने तयारी थालिएको निजी सचिव कुँवरले जानकारी दिनुभयो । कँुवरका अनुसार प्राविधिक हिसाबले चुनौतीपूर्ण मानिएको सिद्धबाबा सुरुङमार्गमा ५८ प्रतिशत काम भई नयाँ आयाम थपिएको छ भने वर्तमान सरकारले ग्वार्को फलाइओभर आयोजना सम्पन्न गरेको छ । यस्तै हुलाकी राजमार्गले करिब ७३ प्रतिशत समष्टिगत कार्यप्रगति हासिल गरेको छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार वर्तमान सरकारको समयावधिमा कुल सडकको थप ९३२ किमि सडक कालोपत्रे भएको छ भने अघिल्लो सरकार पुष्पकमल दाहालको समयमा ६५७ किमि सडक कालोपत्रे भएको थियो । आर्थिक वर्ष २०८०÷८२ मा कुल ६७५ कि.मि कालोपत्रे विस्तार भएकोमा आर्थिक वर्षमा २०८१÷८२ मा सडक विस्तारमा ३८ प्रतिशतको वृद्धि हासिल गर्दै कूल ९३२ कि.मि. सडक विस्तार हासिल भएको हो । आर्थिक वर्ष २०८१÷८२ को यो वृद्धि पछिल्ला सात वर्षकै उच्चतम हो । सरकारले कच्ची सडकलाई कालोपत्रे बनाउने गतिलाई तीव्रता दिएको छ । त्यसैले दैनिक २.५५ किमि कालोपत्रे हुने गरेको छ ।