काठमाडौं।
राजधानीको प्रमुख व्यापारिक क्षेत्र न्युरोडमा अवस्थित मिलन बहुउद्देश्यीय सहकारी संस्थाले करिब ४ हजार बचतकर्ताबाट संकलन गरेको ३ अर्ब २० करोड रुपियाँभन्दा बढी रकम खाइदिने दाउमा रहेको छ । वर्षौंदेखि बचतकर्ताले रकम फिर्ता पाउन हारगुहार गर्दै आए पनि सहकारीका सञ्चालकहरूले बचत फिर्ता नगर्ने बरु बचतकर्तालाई धम्काउने गर्दै आएका छन् ।
सहकारीका सञ्चालकहरूले नियमविपरीत व्यक्तिगत तजबिजीमा रकमको दुरुपयोग गर्दै गैरबंैकिङ क्षेत्रमा लगानी गर्दा सर्वसाधारणको जीवनभरको कमाइ डुब्ने स्थिति उत्पन्न भएको छ । पीडित बचतकर्ताहरूका अनुसार सहकारीका कोषाध्यक्ष दिनेश बज्राचार्य र सञ्चालक अनिल तुलाधरलगायतले बचतकर्ताको रकम आफैं र आफ्ना आफन्तको नाममा ऋण प्रवाह गरी विभिन्न स्थानमा जग्गा, घर तथा सेयर खरिद गरेका छन् । तर, उनीहरूले वर्षौंदेखि साँवा–ब्याजसमेत फिर्ता गरेका छैनन्, बरू पीडितलाई धम्क्याउने, गाली गर्ने, सहकारीको कार्यालयमा प्रवेश गर्न रोक लगाउनेजस्ता व्यवहार गरेको गुनासो छ ।
सहकारीमा लाखौं रुपियाँ बचत गरेका सर्वसाधारणले जीवनभरको कमाइ गुमाएको पीडा पोख्दै विभिन्न निकायमा धाए पनि कतैबाट आफूहरूको गुनासो सम्बोधन नभएको उनीहरूको भनाइ छ । कोषाध्यक्ष बज्राचार्य र सञ्चालक तुलाधरले ‘जमल र टेकुस्थित जग्गा बिक्री भएपछि पैसा दिन्छौं’ भन्दै बचतकर्तालाई करिब ३ वर्षदेखि गुमराहमा राख्दै छन् । तर, जग्गा बेचेर कारोबार सल्टाउनुको साटो हरेकपटक जग्गाको मूल्य बढाउँदै जग्गा किन्न आएकालाई पनि हेप्ने, तर्साउने गर्दै आएको पीडितहरूले बताए । ‘बचत फिर्ता पाइन्छ कि भनेर हामीले पनि ग्राहक खोजेर पठायौं तर चलनचल्तीको भाउभन्दा दोब्बर गरेर ग्राहक तर्साउने गर्छन् । उनीहरूको पैसा तिर्ने नियत नै छैन’, एक बचतकर्ताले नेपाल समाचारपत्रसँग भने–‘शुरूमा कान्तिपथको ३ रोपनी २ आना जग्गा २ करोड रुपियाँ प्रतिआना भनिएको भए पनि जग्गा अहिले उनीहरूले ५ करोडभन्दा बढी मूल्य भन्छन्, टेकुको जग्गा १५÷१८ करोड पनि पर्दैन उनीहरू २५ करोड मोल गर्दछन् ।’ यसबाट जग्गा बेचेर पैसा फिर्ता दिई कारोबार मिलाउनेभन्दा पनि बचतकर्तालाई अलमल्याउने र दिक्क भएर चुप लाग्छन् भन्ने नियत छ ।
सहकारी ऐन, २०७४ अनुसार सहकारीले सदस्यबीच ऋण, सरकारी ऋणपत्र वा सहकारी बैंकको सेयर खरिदबाहेक अन्य क्षेत्रमा लगानी गर्न पाउँदैन । तर, मिलन सहकारीका सञ्चालकहरूले नक्कली ऋणी खडा गरेर आफन्तको नाममा ऋण देखाई घरजग्गा खरिद गरेका छन्, जुन पूर्णरूपमा ऐनविपरीत हो ।
लामो समयपछि बचत फिर्ता नपाएपछि केही पीडितले वागमती प्रदेशअन्तर्गतको सहकारी रजिस्टार कार्यालयमा उजुरी दिएका छन् । तर, कारबाही प्रक्रिया भने सुस्त रहेको छ । सहकारी रजिस्टार कार्यालय स्रोतका अनुसार १३ करोड रुपियाँभन्दा बढी बचत फिर्ता माग गर्दै ७ वटा उजुरी परेको छ । ‘हामीले प्रहरी, सहकारी विभाग, रजिस्टार कार्यालय र राजनीतिक नेतृत्वसम्म गुहार ग¥यौं । तर, सहकारीका सञ्चालकहरूले बचत फिर्ता गर्ने वा कानुनी कारबाही हुने गुन्जायस देखिँदैन । उनीहरूले सबैतिर सेटिङ मिलाएका कारण जनताको पैसा ठगे पनि राजधानीको मुटुमै बसेर छाती खोलेर हिँडेका छन्’ –सहकारी पीडितहरूको भनाइ छ ।
धेरै पीडितले अझै खुला रूपमा उजुरी गर्न सकिरहेका छैनन् । तर, उनीहरूको सहनशीलता सीमामा पुगेको छ । एक पीडितले भने– ‘हामी धैर्य गरिरहेका छौं, तर दिन प्रतिदिन पीडा बढ्दै छ । एकदिन विस्फोट हुन्छ ।’ सहकारी कार्यालय पनि नियमित खुल्दैन । सहकारीका हर्ताकर्ता दिनेश बज्राचार्य र अनिल तुलाधर सितिमिति सम्पर्कमा आउँदैनन् । सम्पर्कमा आए पनि तिम्रो पैसा खान्छौं र ? भन्दै थकाउने गरेको पीडितको गुनासो छ । सञ्चालकद्वय दिनेश बज्राचार्य र अनिल तुलाधरको मोबाइल नम्बर ९८५१०२६६…३ र ९८४००५०५…सम्पर्क गर्दा पनि उनीहरूले फोन नै उठाउँदैनन् । धेरै बचतकर्ता असन, इन्द्रचोक, न्युरोडलगायतका व्यापारी तथा नेवार समुदायको र केही आफन्तसमेत भएकाले उनीहरूको सोझोपन र प्रतीक्षालाई सहकारीको रकम दुरुपयोग गर्न उद्यत समूहले कमजोरीका रूपमा लिएको पीडितको गुनासो छ ।
यो पनि











प्रतिक्रिया