उमेर संख्यामात्र रहेको प्रमाणित गर्ने पाका ओलम्पियन

940
Shares

जब हामी ओलम्पिक खेलाडीको सम्झिन्छौं, हाम्रो दिमागमा प्रायः जवान, जोशिला र लचिला शरीर भएका जिम्नास्ट, दौडादौड गर्ने एथ्लिटहरू वा शक्तिशाली पौडीबाजहरूको तस्बिर आउँछ । तथ्यांकले पनि देखाउँछ कि ओलम्पिक खेलकुदमा उत्कृष्ट प्रदर्शनको औसत उमेर करिब २६ वर्ष हो भनेर । तर, सबै खेलमा युवा उमेर नै सफलता प्राप्त गर्ने एकमात्र आधार हुँदैन । केही खेलहरू जस्तै घोडचढी (इक्वेस्ट्रियन) र निशानाबाजी (सुटिङ) मा अनुभव, सटिक र संयमता, शारीरिक शक्तिभन्दा धेरै महत्वपूर्ण हुन्छ । इतिहासले प्रमाणित गरेको छ कि केही खेलाडीहरूले पाको उमेरमा पनि असाधारण प्रदर्शन गर्दै ओलम्पिकमा इतिहास रचेका छन् । उमेर साँचिक्कै संख्यामात्र हो भनेर उनीहरूले संसारको अगाडि प्रमाणित गरे । यहाँ त्यस्ता पाका ओलम्पिक खेलाडीहरूको चर्चा यहाँ गरिएको छ, जसले उमेरको सीमालाई चुनौती दिँदै प्रेरणादायी उपलब्धिहरू हासिल गरे ।

जोन कोप्ले – (मिक्स्ड कलाकृति, चित्रकला)

कुनैबेला ओलम्पिकमा मिक्स्ड चित्रकला प्रतियोगितामा पनि पदक दिइन्थ्यो । अन्तिमपटक त्यस्तो प्रतियोगिता हुँदा ग्रेट ब्रिटेनका जोन कोप्लेले आफ्नो कलात्मक कलाकृति ‘पोलो प्लेयर्स’ का लागि रजत पदक जितेका थिए । सन् १९४८ मा ७३ वर्षको उमेरमा उनी सबैभन्दा पाका ओलम्पिक प्रतियोगी र पदक विजेता बने । यद्यपि, अहिले कला ओलम्पिकमा समावेश छैन, कोप्लेको यो कीर्तिमान अझै कायमै रहेको छ ।

ओस्कर स्वान – (सुटिङ)

चाउरी परेको अनुहार, तर निशानेबाज अर्थात सुटिङका अब्बल खेलाडी । सन् १९०८, १९१२ र १९२० गरी तीनवटा ओलम्पिकमा खेलेका स्वीडेनका ओस्कर स्वान केवल प्रतिस्पर्धीमात्र थिएनन् उनी ६ वटा ओलम्पिक पदक विजेतासमेत थिए । जसमा तीनवटा स्वर्ण पदक जितेका थिए । ७२ वर्षको उमेरमा अन्तिमपटक प्रतिस्पर्धा गर्दा उनले रजत पदक जितेका थिए । उक्त खेलमा सबैभन्दा पाका ओलम्पिक पदक विजेतासमेत बने । सबैभन्दा पाको उमेरमा ओलम्पिकमा तीन स्वर्ण पदक जितेका उनको नाम प्रतिष्ठित गिनिज बुक्स अफ वल्र्ड रेकड्र्समा समेत सूचीकृत छ ।

आर्थर फन पोङ्ग्राच – (घोडचढी अर्थात इक्वेस्ट्रियन)

शिष्टता र सटीकताको प्रतीक, अस्ट्रियाका आर्थर फन पोङ्ग्राचले सन १९३६ मा नाजी जर्मनीको छायामा रहेको बेला बर्लिन ओलम्पिकमा ७२ वर्षको उमेरमा प्रतिस्पर्धा गरे । त्यसअघि उनले सन १९२४ र १९२८ मा पनि ओलम्पिकमा पनि खेलेका थिए । सन् १९२४ को पेरिस ओलम्पिकमा खेल्दा उनको उमेर ६० वर्ष थियो । उनले ओलम्पिकमा भने कहिल्यै पदक जित्न सकेनन् । तर, उनको जीवनभरको समर्पणले उनलाई प्रतियोगितामा चौथो स्थानसम्म भने पु¥यायो । जसलाई उनको पाको उमेरका कारण एउटा ठूलो उपलब्धि मानिएको छ ।

हिरोसी होकेट्सु – (इक्वेस्ट्रियन ड्रेसेज, घोडचढी)

करिब आधा शताब्दी लामो करियरमा जपानका हिरोशी होकेट्सुले पहिलोपटक सन् १९६४ को टोकियो ओलम्पिकमा पहिलो पटक भाग लिएका थिए । त्यतिबेला उनीमात्र २३ वर्षका थिए । सन् १९८८ को ओलम्पिकमा छनोट भएर पनि आफ्नो घोडाको स्वास्थ्य समस्याले गर्दा उनले सहभागिताबाट हात झिकेका थिए । पहिलो पटक ओलम्पिक खेलेको ४० वर्षपछि पुनः २००८ र २०१२ को ओलम्पिकमा उनले प्रतिस्पर्धा गरे । सन् २०१२ को ओलम्पिक खेल्दा ७१ वर्ष पुगेका उनी जापानका सबैभन्दा पाका ओलम्पियन बने । उनी सन् २०१६ को रियो ओलम्पिकमा ७५ वर्षको उमेरमा भाग लिन चाहन्थे, तर घोडा बिरामी भएपछि रोकिए । उनी आज पनि दीर्घकालीन लगाव र साहसको प्रतीक मानिन्छन् ।

लोर्ना जोनस्टोन – (इक्वेस्ट्रियन ड्रेसेज, घोडचढी)

ग्रेट ब्रिटेनकी लोर्ना जोनस्टोन ओलम्पिकमा प्रतिस्पर्धा गर्ने सबैभन्दा पाका इक्वेस्ट्रियन ड्रेसेज (घोडचढी) खेलका महिला खेलाडी हुन् । १३ पटक ब्रिटिस राष्ट्रिय च्याम्पियन बनेकी उनले ७० वर्षको उमेरमा सन् १९७२ मा अन्तिम पटक ओलम्पिक खेलिन् । उनले पदक त जितिनन्, तर उनको उत्कृष्ट प्रदर्शनले उनलाई मिक्स्ड ड्रेसेजको पाँचौं स्थान भने दिलायो । उनले सन् १९५६, १९६८ र १९७२ मा गरी तीन पटक ओलम्पिक खेलेकी थिइन् । सीप र सौन्दर्य उमेरसँगै हराउँदैन भन्ने सन्देश उनले दिएकी छन् ।

इयान मिलर – (इक्वेस्ट्रियन जम्पिङ, घोडचढी)

इयान मिलर उमेरले मात्र होइन, आफ्नो लगातार प्रदर्शनले पनि चर्चित छन् । उनी १० वटा ओलम्पिक खेलमा सहभागी हुने पहिलो एथलिट हुन् । सन १९८० बाहेक उनले १९७२ देखि २०१२ सम्म सम्पन्न ओलम्पिकमा खेलेका थिए । १० पटक ओलम्पिक खेले पनि उनले सन् २००८ मा एक पटकमात्र पदक जितेका थिए । सन् २००८ को बेइजिंग ओलम्पिकमा रजत पदक जितेका उनले २०१२ मा ६५ वर्षको उमेरमा प्रतिस्पर्धा गर्दै क्यानाडाका सबैभन्दा पाका ओलम्पियन बने । उनको छोरी एमीले पनि सन् २०१६ को रियो ओलम्पिकमा प्रतिस्पर्धा गरेर मिलर परिवारको ओलम्पिक यात्रालाई निरन्तरता दिएकी थिइन् ।

लिडा पेटन ‘एलिजा’ पोलक – (आर्चरी)

सन् १९०४ मा अमेरिकाकी लिडा पेटन पोलकले ६३ वर्षको उमेरमा तीनवटा पदक जितेर ओलम्पिक इतिहासमा सनसनी मचाएकी थिइन् । उनले उक्त ओलम्पिकमा एउटा स्वर्ण र दुई वटा कांस्य पदक जितेकी थिइन् । त्यो स्वर्ण पदकले उनलाई ओलम्पिकका सबैभन्दा पाका महिला स्वर्ण पदक विजेता बनायो । यद्यपि, समय परिवर्तनसँगै धेरैजना उनको नामबाट अनभिज्ञ बनेका छन् । तर, उनका उपलब्धिहरू आज पनि प्रेरणादायी छन् ।

जोसुआ मिल्नर – (सुटिङ)

शान्त र सौम्य ग्रेट ब्रिटेनका जोसुआ मिल्नरले सन् १९०८ को ओलम्पिकमा १ हजार यार्ड फ्रि स्टाइल राइफल इभेन्ट्समा ६० वर्षको उमेरमा स्वर्ण पदक जितेका थिए । पछि ओस्कर स्वानले यो कीर्तिमान तोडे । उनको कीर्तिमान तोडिए तर, मिल्नर आज पनि दृढता र सटीकताका प्रतीकको रूपमा स्मरणीय छन् ।