भोटेकोसीमा भीषण बाढी, नदी किनारमा बस्नेहरूलाई सतर्क रहन आग्रह


नुवाकोट।

आज बिहान ३:०० बजेपछि भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण त्रिशूली नदीको जलसतह उच्च रूपमा बढेको छ। बाढीले नुवाकोट र रसुवाका तटीय क्षेत्रहरूमा खतरा बढेको छ।

स्थानीय प्रशासनले नदी आसपासका बासिन्दालाई सतर्क रहन र आवश्यक परे सुरक्षित स्थानतर्फ सर्न आग्रह गरेको छ। नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईंका अनुसार बाढीले पैरेबेँसी, वेत्रावती, त्रिशूली, देवीघाटलगायतका क्षेत्रमा नदी कटान गरेको छ। बाढी बस्तीभित्र पस्ने सम्भावना देखिएकाले जोखिम बढेको जनाइएको छ।

प्रहरी र सशस्त्र प्रहरी बलले माइकिङमार्फत घरपरिवारलाई सतर्क रहन र सर्तक स्थानमा सर्न सूचना दिइरहेका छन्। यसैबीच, नुवाकोटको किस्पाङ गाउँपालिका–५ मा अवस्थित ‘त्रिशूली–काठमाडौँ प्रसारण लाइन’को स्टेशनमा पनि बाढीका कारण क्षति पुगेको छ।

प्रशासनले संभावित थप जोखिमलाई ध्यानमा राख्दै सतर्कता अपनाउन सबैलाई पुनः आग्रह गरेको छ।