माओवादीभित्रको विवाद चरम उत्कर्षमा

पुनर्गठन नभए पार्टी गम्भीर संकटमा जाने जनार्दनको चेतावनी


–नेतृत्वलाई कमजोर बनाउन खोजिएको भन्दै कारबाहीको माग

काठमाडौं।

प्रमुख सत्तारुढ दल माओवादी केन्द्रभित्रको विवाद चरम उत्कर्षमा पुगेको छ । पार्टीका उपमहासचिव जनार्दन शर्माले पार्टीको पुनर्गठनको माग गर्नुभएको छ । अध्यक्ष पुष्पकमल दाहाल र शर्माबीच सार्वजनिक कार्यक्रममा नै आरोप प्रत्यारोप हुँदै आएको छ ।

उपमहासचिव शर्माले मंगलवार सामाजिक सञ्जालमार्फत पार्टीबारे उठेको भ्रम र तथ्यलाई गहिरो रूपमा बुझ्न आग्रह गर्दै विशेष महाधिवेशनले पार्टीभित्रको वैचारिक अस्पष्टता, राजनैतिक अन्योलता, सांगठनिक अराजकता, विधि विहीनतासहित नयाँ पुस्ताको भावना र सपना सम्बोधन गर्ने कार्ययोजना तयार पार्न पार्टीको पुनर्गठन गर्ने दाबी गर्नुभएको छ ।

शर्माले गत वर्ष सबै प्रदेशहरूमा भएको परामर्श बैठकपश्चात् केन्द्रीय समितिको बैठकमा भएको बहस र निर्णयअनुसार आसारदेखि प्रारम्भ गरेर ६ महिनाभित्र अर्थात मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको सन्दर्भमा अब पार्टीमा एजेन्डा केन्द्रित बहस गर्नुपर्ने र यसले पार्टीलाई पुनर्गठन, सुदृढ र व्यवस्थित गर्न मद्दत पुग्ने दाबी गर्नुभएको छ ।

अध्यक्ष प्रचण्डनिकट नेताहरूले भने जनार्दन शर्माले नेतृत्वमाथि संगीन आरोप लगाएको भन्दै कारबाहीको माग गर्दै आएका छन् । पार्टीका अर्का उपमहासचिव वर्षमान पुनले पार्टी नेतृत्वलाई सुदृढ बनाएर लैजानुपर्नेमा कमजोर बनाउने प्रयास गर्नु आपत्तिजनक रहेको बताउँदै आएका छन् । शर्माले केही दिनअघि काठमाडौंमा आयोजित एक कार्यक्रममा कम्युनिस्ट नेतृत्व सिद्धान्तमा च्युत हुँदै गइरहेको सन्दर्भ उल्लेख गर्दै कम्युनिस्ट पार्टीबाट प्रधानमन्त्री भएकाहरूमध्ये मनमोहन अधिकारीबाहेक अरू सबै जनाले असुली धन्दा चलाएको आरोप लगाउनुभएको थियो । उहाँको आरोप आफ्नै अध्यक्ष पुष्पकमल दाहालप्रति पनि इंगित थियो । शर्माको यो भनाइपछि प्रचण्डनिकट नेता तथा कार्यकर्ताहरूले शर्मालाई अनुशासनको कारबाही गर्नुपर्ने मागलाई तीव्र पारेका छन् ।
उपमहासचिव शर्माले मंगलवार दिनुभएको टिप्पणीमा विगत दुई वर्षदेखि माथिल्लो तहबाटै लगातार पार्टी फुट्छ भन्ने गरिएको प्रचारलाई यतिबेला थप मलजल गर्दै पार्टी कार्यकर्ता र जनतामा भ्रमको खेती गर्नेहरूप्रति सचेत हुन आग्रह गर्नुभएको छ

उहाँले पार्टी केन्द्रको निर्णयअनुसार हुलाकी राजमार्ग र मध्य पहाडी लोकमार्ग (पुष्पलाल राजमार्ग) अभियानबाट आर्जेको ऊर्जालाई २ बँुदे सहमतिपश्चात् गिरेको पार्टीको शाखलाई पुन माथि उठाउन गम्भीर आत्मसमीक्षा गर्दै एजेन्डा केन्द्रित बहसमा केन्द्रित हुन पार्टीपंक्तिलाई आग्रह गर्नुभएको छ ।
‘यतिबेला सिङ्गै देश, जनता र राजनैतिक पार्टीहरू गम्भीर संकटबाट गुज्रिरहेका छन् । यसको समाधान संविधानको संशोधन, अर्थतन्त्रको पुनःसंरचना र पार्टीको पुनर्गठन नै हो ।’ शर्माले भन्नुभएको छ ।