सन् १९५३ अगस्ट ११, अमेरिकाको जर्जिया राज्यको अगस्टामा जन्मिएका टेरी जिन बोलिया समयसँगै संसारभरका कुस्तीप्रेमीहरूको मन जित्दै ‘हल्क होगन’ बने । एक यस्तो नाम, जसले कुस्तीलाई केवल खेल होइन, मनोरञ्जनको क्रान्तिमा रूपान्तरण ग¥यो । टाम्पा, फ्लोरिडामा बुबा पिट (निर्माण सुपरभाइजर) र आमा रुथ (नृत्य प्रशिक्षक) को सन्तानका रूपमा हुर्कँदा उनले आत्म–सन्देह र शरीरप्रतिको असहजतासँगै बाल्यकालको यात्रा तय गरे । विद्यालयमा उनलाई ‘सबैभन्दा ठूलो टाउको भएको केटो’ भन्दै जिस्काइन्थ्यो । तर, ती व्यंग्यले उनको आत्मबल मक्किन सकेन । सानैदेखि संगीत र कुस्तीको मोहमा तानिएका उनले स्कुले जीवनमा कुस्तीका चालहरू अनुकरण गर्दै भविष्यको सपना बुन्थे ।
बेसबलमा पनि उदीयमान प्रतिभा देखाइरहेका होगनप्रति प्रमुख लिग टोलीहरूले चासो देखाएका थिए, तर एउटा चोटले त्यो सम्भावनाको ढोका बन्द गरिदियो । यद्यपि, उनको यात्रा रोकिएन तर बाटो भने फेरियो । हिल्सबरो कम्युनिटी कलेज र साउथ फ्लोरिडा विश्वविद्यालयको पढाइभन्दा बढी उनले शरीर निर्माण, कुस्ती र संगीतमा आत्मसमर्पण गरे । ‘रकस’ नामक स्थानीय ब्यान्डमा बास गिटार बजाउँदै रंगमञ्चको मोहमा उनी गहिरिँदै गए । सन १९७९ को एकदिन ‘सुपर डेस्ट्रोयर’ र ‘टेरी बोल्डर’ रिङमा जुधिरहेका थिए, अचानक बोलिया टेलिभिजनमा देखिए । त्यहाँ, ‘इन्क्रेडिबल हल्क’ का अभिनेता लू फेरिग्नोभन्दा अग्लो देखिएपछि उनलाई ‘हल्क’ उपनाम दिइयो ।

यसैबीच उनी भिन्स म्याकम्यन सीनियरको नजरमा परे, जसले उनलाई डब्लूडब्लूएफ (हालको डब्लूडब्लूई) मा ल्याए । टेरी बोलिया त्यस दिनदेखि रेस्लिङ र रंगमञ्चको दुनियाँमा हल्क होगन नामले सम्बोधन गरिए । सन १९८४ मा आईरन शीइकलाई हराउँदै उनले डब्लूडब्लूएफ विश्व हेभीवेट च्याम्पियनसिप जितेपछि ‘हल्कमेनिया’ को क्रेज आकासियो । रातो पगडी, पहेँलो पोशाक, बाक्ला जुँगा, लामो कपाल र ‘२४ इन्च पाईथन’ जस्ता पाखुराले सजिएका होगन लाखौं दर्शकका प्रिय बने । सन १९८७ मा रेसलमेनिया–४ मा ‘आन्द्रे द जायन्ट’ लाई पराजित गरेपछि त उनी लेजेन्डको रुपमा स्थापित बने ।
उनले १२ पटक विश्व च्याम्पियनको उपाधि जिते, दुई पटक डब्लूडब्लूईको ‘हल अफ फेम’ मा चुनिए । १९९० को दशकमा हलिउडतिर मोडिएपछि उनी डब्लूसीडब्लू पुगे । त्यहाँ खलनायक ‘हलिउड होगन’ का रूपमा देखा परे । ‘न्यू वल्र्ड अर्डर’ (एनडब्लूओ) को हिस्सा बनेर उनी नायकबाट खलनायकमा रूपान्तरण भए पनि दर्शकको आकर्षण भने अझै गहिरिँदै गयो । सन् २००२ मा उनले पुनः डब्लूडब्लूई मा फर्किँदै दर्शकहरूमा आफ्नो क्रेजलाई पुनर्जीवित गरे ।
३५ वर्ष लामो कुस्ती यात्रापछि सन् २०१२ मा उनले संन्यास लिए । तर, उनको चमक धमिलिएन । ‘हल्कमेनिया’ खुद्रा ब्रान्ड, ‘रियल अमेरिकन बियर’ कम्पनीजस्ता व्यावसायिक पहलहरूले उनलाई उद्यमशिलताको यात्रामा डो¥याए । २००५–०७ सम्म चलेको रियालिटी शो ‘होगन नोज बेस्ट’ मा उनले पारिवारिक जीवनलाई पर्दामा प्रस्तुत गर्दै फ्यानसँग नयाँ सम्बन्ध गाँसेका थिए । तर, तीबाहेक दुई असफल विवाह, स्वास्थ्य समस्या र व्यक्तिगत विवादहरूले पनि उनी चर्चाको केन्द्रमा रहे ।
२०२५ जुलाई २४ मा ७१ वर्षको उमेरमा फ्लोरिडाको क्लियरवाटरस्थित आफ्नै घरमा हल्क होगनको हृदयघातका कारण निधन भयो । त्यसको केही हप्ता अघिमात्र मेरुदण्ड र घाँटीको पुरानो चोटका कारण अस्पताल भर्ना भएका उनले सफल शल्यक्रिया त गरे, तर स्वास्थ्यमा चित्तबुझ्दो सुधार भने आउन सकेको थिएन । उनी अहिलेकी श्रीमती स्काइ डेलीबाट एक छोरी ब्रुक र छोरा निकका पिता थिए । अघिल्ला वैवाहिक सम्बन्धहरूमा लिंडा होगन र जेनिफर म्याकडेनियल उनका पत्नी थिए । उनको भौतिक शरीर नरहे पनि ‘हल्कमेनिया’ जुन दशकौं पहिले शुरू भएको थियो, त्यो आज पनि रेस्लिङ संसारमा जीवितै छ । दर्शकहरूको चिच्याहट र सिंगो रंगमञ्चको जोश उनको नाममा गुञ्जिरहने छ ।











प्रतिक्रिया