ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक सौन्दर्यले भरिएको बन्दीपुर अब केवल सौन्दर्यको गन्तव्य मात्र रहेन । नेपालको पहिलो निजी लगानीमा आधारित दिगो पर्यटन परियोजना बन्ने दिशामा अगाडि बढिरहेको बन्दीपुर केवलकार परियोजना आजकाल चर्चाको शिखरमा छ ।
नेपालकै पहिलो रियल इस्टेट कम्पनी आरकेडी रियल इस्टेट एण्ड कन्स्ट्रक्सन लिमिटेड बाट सुरु भएको यो परियोजना हाल आरकेडी होल्डिङ्स लिमिटेड को व्यवस्थापनमा अगाडि बढिरहेको छ । बन्दीपुर केवलकार परियोजना र आरकेडीबीच निर्माण, आर्थिक व्यवस्थापन तथा इभेन्ट म्यानेजमेन्ट सम्बन्धी सम्झौता भएर निर्माण कार्य अगाडि बढिरहेको हो । यस परियोजनाको मूल मोडल भने बन्दिपुर केवलकार प्रालिका संस्थापक अध्यक्ष तारानाथ उपाध्यायको परिकल्पना हो ।
दिगो पर्यटनको नयाँ अध्याय
‘यो बन्दीपुर र त्यो बन्दीपुर’ बीचको भौगोलिक, सामाजिक र आर्थिक दूरी हटाउँदै परियोजनाले सम्पूर्ण क्षेत्रलाई सस्टेनेबल टुरिजम हब बनाउने लक्ष्य लिएको छ । परियोजनाका महाप्रबन्धक रोमनमान श्रेष्ठ भन्नुहुन्छ–‘हामी अब केवलकार सन्चालन गरेर पर्यटक ओसार्ने मात्रै होइन, एकीकृत पूर्वाधार, समुदाय–केन्द्रित विकास र दिगो पर्यटनको अभ्यास गरिरहेका छौं ।’
समावेशी परियोजना, साझा लाभको दृष्टिकोण
परियोजनाले हालसम्म करिब ६५० करोड रुपियाँको लगानी योजना अघि सारेको छ । ५ हजार ६ सय ७० जना साना लगानीकर्ताहरूको सहभागिता रहेको यस परियोजनामा घरजग्गा मात्र होइन, धार्मिक पर्यटन, होम स्टे, जैविक कृषि, शिक्षा र स्वास्थ्य समेत समेटिएको छ ।

परियोजनामार्फत निर्माणाधीन १०८ फिट अग्लो ‘आदि योगी’ भगवान शिवको मूर्ति धार्मिक पर्यटनको केन्द्र बन्नेछ । त्यसबाहेक, पार्क, योग केन्द्र, पदमार्ग, पिकनिक स्पट लगायत संरचनाहरू थपिँदै छन् । यसले बन्दीपुरमा आउने पर्यटकलाई केवल घुम्न मात्र नभई, बस्न, रम्न, सिक्न र बदलिन प्रेरित गर्ने योजना बनाइएको छ ।
स्थानीयलाई रोजगारी, समाजलाई सशक्तीकरण
परियोजनाको अर्को महत्वपूर्ण पाटो स्थानीय जनशक्तिको उपयोग हो । ९०५ भन्दा बढी स्थानीयलाई रोजगारी दिइएको छ । सुरक्षादेखि सफाइ, रेस्टुरेन्टदेखि गाइडिङ सेवा सम्म । स्थानीय स्कुलमा प्रविधि सहयोग, महिला समूहलाई उद्यमशीलता तालिम, होटल सञ्चालकलाई म्यानेजमेन्ट कोर्स, गाईपालन र जैविक कृषि प्रवद्र्धन जस्ता कार्यक्रममार्फत कम्पनीले सामाजिक उत्तरदायित्व पनि पूरा गरिरहेको छ ।
नेपालमै पहिलो पूर्ण सस्टेनेबल पर्यटकीय क्लस्टर
‘बन्दीपुर हिल परियोजना’ ले नेपालमा पहिलोपटक एकीकृत सस्टेनेबल पर्यटन क्लस्टरको अभ्यास गरेको हो । यो परियोजनाले इको–टुरिजम, एग्रो–टुरिजम, धार्मिक र सांस्कृतिक पर्यटन, साहसिक पर्यटन र शिक्षा पर्यटन लाई एउटै प्लेटफर्ममा समेट्दैछ ।
“पर्यटक एकपटक केवलकार चढेर यहाँ आएपछि, दुई दिनसम्म यहीं बस्न, दर्शन गर्न, रमाउन र स्थानीय संस्कृतिमा घुलमिल हुन सक्ने सुविधा हामीले तयार गरेका छौं,” महाप्रबन्धक श्रेष्ठको भनाइ छ ।
नाफामुखी मात्र होइन, समावेशी सोच
परियोजनाले आफूलाई सामाजिक, धार्मिक र संस्कृतिक योगदान दिन सक्ने संस्थाको रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ । निजी क्षेत्रबाट आएको यस्तो सस्टेनेबल मोडलले नेपालको पर्यटन क्षेत्रमा ‘साझेदारी, पारदर्शिता र सम्भावना’ को नयाँ परिभाषा दिइरहेको छ ।
अन्य गन्तव्यका लागि उदाहरणीय अभ्यास
गोरखा, पाल्पा, पञ्चकन्या, रानीमहल जस्ता ऐतिहासिक पर्यटकीय क्षेत्रले पनि बन्दीपुर केवलकार परियोजनाबाट सिक्न सक्ने धेरै कुरा छन् । स्थानीय सहभागिता, साना लगानीकर्ताको संयोजन, र दिगो पर्यटनको दीर्घकालीन मोडल ।
बन्दीपुर केवलकार परियोजना अब केवल भौतिक पूर्वाधारको नाम मात्र होइन, एक उदाहरण हो । जुन देखाउँछ, नेपाल घुम्न मात्रै हैन, बस्न, रम्न, सिक्न र बदलिन पनि सकिने मुलुक हो । बन्दीपुर केवलकार, एउटा उदाहरण हो । साँचो अर्थमा “घुम्न जाने ठाउँ मात्र होइन, रम्न, सिक्न, बस्न र बदलिन सकिने ठाउँको रुपमा रुपान्तरित हुदै छ ।











प्रतिक्रिया