प्रधानमन्त्रीद्वारा रानी जमरा कुलरिया सिँचाईको उद्घाटन

 आयोजनाको नहरबाट उत्पादित जलविद्युत तथा प्रसारण लाइनको औपचारिक शुभारम्भ

4.04k
Shares

कैलाली। 

 राष्ट्रिय गौरवको आयोजनामा समावेश गरी  निर्माण गरिएको रानी जमरा कुलरिया सिँचाई आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार एक समारोहकाबीच उद्घाटन गरे । प्रधानमन्त्री ओलीले सोही नहरबाट उत्पादन भएको ४.७१ मेगावाट जलविद्युत तथा प्रसारण लाइनको समेत औपचारिक शुभारम्भ गरे । 

उक्त जलविद्युत आयोजना कैलालीको जानकी गाँउपालिकाको कटासेमा निर्माण गरिएको छ ।  प्रधानमन्त्री ओलीले रानी जमरा कुलरिया सिँचाईआयोजनाले कैलालीको लम्की चुहा,टीकापुर नगरपालिका र जानकी गाउँपालिकाका किसानलाई सिँचाई सुविधा पुग्ने बताए । परम्परागत सिँचाईलाई आधुनिकीकरण गरेर बाह्रै महिना सिँचाई सुविधा उपलब्ध गराएर कृषि क्षेत्रको विकासमा ठूलो योगदान दिन यो आयोजना सफल भएको उनले बताए । रानी जमरा कुलरिया सिँचाई आयोजनाको पहिलो र दोस्रो चरणको काम सम्पन्न भएपछि कैलालीको पश्चिम कान्द्रा सम्म पुग्ने सिँचाई नहर निर्माणकालागि तेस्रो चरणको काम सरकारले छिट्टै शुरु गर्ने बताए । सो कार्यकालागि सरकारले सोमवार मात्र मन्त्रिपरिषदबट ०.२ प्रतिशत ब्याजमा ऋण लिएर तेस्रो चरणको काम शुरु गर्ने निर्णया गरेको उनले जानकारी दिए ।

करोडौं वर्षदेखि बगेको कर्णाली नदीबाट १२९ वर्ष अघि यस क्षेत्रका किसानहरुले परम्परागत कुलोको प्रयोग गरेर सिँचाई ब्यवस्था गरेका थिए।  तर रानी जमरा कुलरिया सिँचाई आयोजनाको निर्माण पछि सुरक्षित र ब्यवस्थित नहरबाट सिँचाई उपलब्ध हुने भएपछि किसानहरुमा खुशीयाली छाएको प्रधानमन्त्री ओलीले बताए । अव कर्णाली नदीबाट चाहेको बेलामा पानी ल्याउन सक्ने ब्यवस्थित नहर बनाएको वर्षातको समयमा कर्णाली नदी बस्तीमा पस्छकी भन्ने डर अव नरहेको उनको भनाई छ । सोही नहरबाट उत्पादिन विद्युत राष्ट्रिय प्रशारणमा जोडिएको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले थोरै भएपनि विद्युतमा योगदान पुर्‍याएको चर्चा गरे ।

 प्रधानमन्त्री ओलीले मुलुकमा २५ लाख हेक्टर जमिनमा सिँचाईको आवश्यकता भएपनि १५ लाख हेक्टर जमिनमा सिँचाई सेवा पुगेको र ५ लाख हेक्टर जमिनमा बाह्रै महिना सिँचाई सुविधा उपलब्ध हुन सकेको बताए । सुनकोशी मरिन डाईभर्सन ,भेर बबै डाइभर्सन लगायतका सिँचाई आयोजनाहरुको कामलाई द्रुतता दिनुपर्ने आवश्कता औल्याए । चाइनिज कम्पनीले सुरुंग खन्ने काम सकेपनि सिँचाईको अन्य काम बाँकी रहेकाले  ती कममा तिब्रता दिनुपर्ने आवश्यकता रहेको बताए । प्रधानमन्त्री ओलीले चुरे संरक्षणकालागि सरकारको ध्यान गएको प्रसंग उल्लेख गर्दै चुरे क्षेत्रमा तालहरुको निर्माण गरेर ब्यावसायिक माछापालनको काम शुरु गरिने बताए । चुरे क्षेत्रमा ताल निर्माण गर्न सकेमा तराईमा रिचार्जको काम हुने भएकोले यसलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । कैलालीको गोरांगेमा सेनाको ब्यारेकमा हेलीप्टरबाट उत्रिएका  प्रधानमन्त्री ओलीले कर्णाली सिचापानीमा निर्माण गरिएको सिँचाई आयोजनाको बाँधका स्थलगत निरिक्षण गरेका थिए  ।

राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको हस्ताक्षर अभियान तथाकथित भन्दै  प्रधानमन्त्री ओलीले भने ‘हस्ताक्षर गर्दै जाँदा कतै तिन करोड भन्दा बढी होलानी ’। नेकपा एमालेका अध्यक्ष समेत रहेका  प्रधानमन्त्री ओलीले संसदमा लोकतन्त्र र गणतन्त्र विरोधीहरु पनि भएकाले संसद बहिस्कार गर्नु कुन ठूलो कुरा भयोर भन्दै ब्यवस्था विरोधी  र तरमाराहरुबाट के अपेक्षा राख्न सकिन्छ र? प्रश्न गरे । प्रधानमन्त्री ओलीले एक प्रसङ्गमा भने ‘चुनावमा प्रतिस्पर्धा गरौंला देश मिलेर निर्माण  गरौं ’ ।

कार्यक्रममा उर्जा जलस्रोत मन्त्री दीपक खड्का,सुदूरपश्चिम प्रदेश सरकारका  मुख्यमन्त्री कमलबहादुर शाहले बोलेका थिए । मन्त्रालयका सचिव सरिता दवाडीको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रमको सञ्चालन आयोजना प्रमुख प्रेम घिमिरेले गरेका थिए ।

सिँचाई आयोजनाको पहिलो र दोस्रो चरण र विद्युत उत्पादनका लागि २१ अर्ब ३२ करोड ९८ लाख रुपैंया खर्च भएको आयोजना प्रमुख प्रेम घिमिरेले जानकारी दिए ।

सिंचित कृषि क्षेत्रको अभिबृद्धि,संघीय नेपालको सम्वृद्धिको मुल नारासहित शुरु गरिएको रानी जमरा कुलरिया सिँचाई आयोजना पहिलो र दोस्रो चरण गरेर असार मसान्तमा निर्माण सम्पन्न भएको छ । वि.सं २०६८सालबाट निर्माण शुरु भएको रानी जमरा कुलरिया सिँचाईआयोजनाको पहिलो चरणको निर्माणको काम २०७५ सालमा  सम्पन्न भएको थियो भने दोस्रो चरणको काम २०८२ असार मसान्तमा सम्पन्न गरेको छ । २०६६-२०६७ मा टीकापुरमा कार्यालय स्थापना गरेको रानी जमरा कुलरिया सिँचाई आयोजना पहिलो र दोस्रो चरणमा गरेर नहर निर्माणको काम सम्पन्न भएको छ । सम्पन्न सिँचाई आयोजनाले १४हजार ३ सय हेक्टर जमिन सिँचाई गरेको छ ।

 उक्त आयोजनाबाट २३ हजार ६ सय २२ घरधुरीका  १ लाख ४२ हजार ३ सय ६६ जनसंख्या प्रत्यक्ष लाभान्वित भएकाछन् । राष्ट्रिय गौरवको आयोजना अन्तरगतको उक्त आयोजनामा कुल २१ अर्ब ३२ करोड ९८ लाख रकम खर्च भएको छ । यस्तै आयोजनाको तेस्रो चरणको काम कैलालीको कान्द्रा नदीसम्म विस्तार गर्ने लक्ष्य राखिएको छ । पथरैया नदी सम्मको नहर विस्तारले करिब ६ हजार हेक्टर र कान्द्रा नदी सम्मको नहर विस्तारले १८ हजार हेक्टर जमिनमा सिँचाई सुविधा पुग्ने लक्ष्य राखिएको छ । जम्मा ३८ हजार ३ सय हेक्टर जमिनमा सिँचाई सुविधा हुने उक्त नहर आर्थिक वर्ष २०८५-०८६ मा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको आयोजना प्रमुख प्रेम घिमिरेले जानकारी दिए । तेस्रो चरणको कामका लागि करिब १३७ मिलियन अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ ।