स्पेन भिजिट भिसा प्रकरण : अनुसन्धान तीव्र, सिआइबी छानबिनको निष्कर्षतिर


काठमाडौं ।

  प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणसँग जोडिएर उठेको भिजिट भिसा दुरुपयोग प्रकरणमा गृह मन्त्रालयको निर्देशनअनुसार सिआइबीको अनुसन्धान तीव्र बन्दै गएको छ। त्रिभुवन विमानस्थल अध्यागमनबाट प्राप्त विवरणका आधारमा एसएसपी होबिन्द्र बोगटी नेतृत्वको समितिले असार ३१ देखि औपचारिक छानबिन अघि बढाएको हो।

स्पेनको सेभिल्लामा सम्पन्न ‘एफएफडी–४०’ कार्यक्रममा सहभागी सरकारी प्रतिनिधिमण्डल सबै स्वदेश फर्किए पनि, अन्य विभिन्न संस्था र व्यक्तिको संलग्नतामा १०० भन्दा बढी भिसा जारी भएको देखिएको छ। तीमध्ये ५५ जनालाई नक्कली कागजातका कारण उडानकै बेला फर्काइएका थिए, भने बाँकीमध्ये कति स्वदेश फर्किए, कति हराए भन्ने तथ्य केलाउने कार्य भइरहेको छ।

स्पेनको दूतावास, ट्राभल एजेन्सी र एनजिओहरूबारे अनुसन्धान जारी छ। प्रारम्भिक सूचनामा केहीले सरकारी कागजातसमेत किर्ते गरेको आशंका गरिएको छ। सिआइबीको टोलीले केही ट्राभल एजेन्सीमा छापा मार्दा ठोस प्रमाण भने फेला नपरेको जनाइएको छ।

समितिले प्रतिवेदन तयार गर्दैछ, जसले कस-कसलाई, कुन आधारमा, कस्तो कारबाही हुनसक्छ भन्नेबारे पनि सिफारिस गर्नेछ। गृह मन्त्रालय स्रोतका अनुसार विदेश यात्रामा देखिएको भिसा दुरुपयोगको यो घटनाले नीति तथा प्रक्रिया कडाइ गर्ने सम्भावना बलियो देखिएको छ।