काठमाडौँ
वातावरणीय दिगोपनप्रतिको प्रतिबद्धता र एकताको अद्वितीय उदाहरण प्रस्तुत गर्दै नेपालभरिका १५० भन्दा बढी रोटरी क्लबले रोटरी प्लान्टेशन डे २०२५ मा भाग लिँदै एकै दिनमा ५०,००० भन्दा बढी बिरुवा रोपेका छन् । यो वृक्षारोपण अभियान डिस्ट्रिक्टव्यापी लक्ष्यअनुसार एकैदिन सम्पन्न गरिएको हो ।
रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२, नेपाल भूटानका डिस्ट्रिक्ट गभर्नर विनोद कोइरालाको नेतृत्वमा सञ्चालन गरिएको यस अभियानलाई डिस्ट्रिक्टका सबै क्षेत्रमा एकसाथ कार्यान्वयन गरिएको थियो । जलवायु परिवर्तनसँग जुध्ने र हरियाली प्रवद्र्धन गर्ने उद्देश्यका साथै रोटरीयन र उनीहरूका सेवा साझेदारबीच सहकार्य र मित्रता अझ बलियो बनाउने अभियानको मूल उद्देश्य थियो ।
“यो केवल रूख रोप्ने होइन, आशा रोप्ने र समुदायसँगको सम्बन्ध अझ सुदृढ बनाउने अभियान हो,” गभर्नर कोइरालाले भन्नुभयो । “देशभरबाट देखिएको व्यापक सहभागिता ‘स्वार्थभन्दा माथि सेवा’ भन्ने रोटरीको लक्ष्यप्रतिको साझा प्रतिबद्धता देखेर गर्व लागेको छ ।”
यस परियोजनाले क्लबलाई विभिन्न समुदायको भ्रमण गर्ने अवसर दिएको थियो । जसबाट उनीहरूले स्थानीय आवश्यकता र चुनौती बुझ्न सके र भविष्यका सेवाका सम्भावना पनि पहिचान गर्न सके । सहरी पार्कदेखि दुर्गम पहाडी क्षेत्रसम्म, विद्यालय, सार्वजनिक स्थल, स्वास्थ्य चौकी र राजमार्ग छेउमा बिरुवाहरू रोपिएको थियो ।
वृक्षारोपणपछि बिरुवाको स्याहार र संरक्षणमा पनि विशेष ध्यान दिइएको थियो । जहाँ धेरै क्लबले स्थानिय सरोकारवालासँग सहकार्य गरेका छन् । रोटरी इन्टरनेशनलका अध्यक्ष फ्रान्चेस्को अरेज्जोद्वारा अगाडि सारिएको थीम अनुरूप सामूहिक प्रयासको शक्ति र हरित, दिगो र सहकार्यमा आधारित विश्व निर्माणप्रति रोटरीयनको स्थायी प्रतिबद्धतालाई प्रस्ट रूपमा उजागर गरेको छ ।











प्रतिक्रिया