हिँडेर पृथ्वीलाई नाप्ने मान्छे ‘कार्ल बुश्बी’

2.82k
Shares

सन् १९९८ को एउटा चिसो बिहानी, दक्षिण अमेरिकाको छेउमा पर्ने चिलीको पन्टा अरेनासबाट एक जना व्यक्ति आफ्नो खुट्टामा भर परेर यात्रामा निस्किए । गन्तव्य थियो हजारौँ माइल टाढा रहेको बेलायतको हल शहर, आफ्नै जन्मभूमि । ती व्यक्ति थिए बेलायती पूर्व–प्याराट्रूपर कार्ल बुश्बी । जसको लक्ष्य थियो असम्भवजस्तो लाग्ने संसारलाई खुट्टाबाट नाप्ने एउटा संकल्प ।

कार्लले समातेको बाटो कुनै साधारण यात्राको मार्ग थिएन । जसलाई उनले नाम दिएको छ “गोलियाथ एक्सपेडिसन” भनेर । एक यस्तो यात्रा, जुन इतिहासकै सबैभन्दा लामो, कठिन र निरन्तर पैदल यात्रा बन्न गयो । न कुनै गाडी, न कुनै प्लेन, केवल आफ्नै खुट्टा । २७ वर्षको अन्तरालमा २५ देशहरू हुँदै उनले लगभग ३६,००० माइल पार गरिसकेका छन, र अहिले २०२५ मा उनी गन्तव्यको धेरै नजिक आईपुगिसकेका छन् ।

यस असाधारण यात्राको शुरुवातदेखि नै बुश्बीले अडानका कठोर नियमहरू अपनाए । न उडान, न कुनै सवारी, केवल पृथ्वीमाथि पाइला टेक्दै अघि बढ्ने प्रण । प्रारम्भमा उनले दक्षिण र मध्य अमेरिका पार गरे । अनि अमेरिका हुँदै सन् २००१ मा संसारकै सबैभन्दा खतरनाक मानिने डारियन ग्याप जंगल पार गरे । यसले उनलाई अलास्काको कठोर भूभागमा पु¥यायो । तर, वास्तवमै सास अड्किने क्षण भने सन् २००६ मा आयो । जब उनले जमेको बेरिङ स्ट्रेट पार गर्दै साइबेरियामा पाइला टेके ।

बरफले ढाकिएको समुन्द्र, ध्रुवीय सेता भालुहरूका त्रास अनि आत्मसुरक्षाका लागि साथमा केवल एउटा राइफल । त्यससमय बुश्बीको साहस केवल शारीरिक मात्र होइन, मानसिक शिखरमा पुगेर अडिएको थियो । दुर्लभ पाइला भए तापनि साइबेरिया छिरेपछि उनी रूसी सुरक्षाकर्मीहरूको नियन्त्रणमा परे । अनि उनलाई पाँच वर्षसम्म रुस प्रवेशमा रोक लगाइयो । यसले उनको यात्रा लामो समयसम्म ठप्प भयो ।

तर, बुश्बी पछि हट्ने मान्छे थिएनन् । वर्षौँको कागजी झमेलापछि उनले सन् २०१४ मा फेरि पाइला अगाडि बढाए । चीन छिरे, तर सन् २०२२ मा रुस–युक्रेन युद्धले युरोप प्रवेशको बाटो बन्द गरिदियो । इरान पनि विकल्पमा नभएपछि अन्ततः सन् २०२४ मा उनले अजरबैजानी तटरक्षकहरू र दुई पौडीबाजहरूको सहयोगमा क्यास्पियन सागर पौडेर पार गरे । जुन साहसको एउटा अनुपम उदाहरण समेत बन्यो ।

सन् २०२५ को सुरुवातमा उनी टर्कीमा थिए, तर भिसाको समयावधि सकिएपछि पुनः रोकिए । अहिले उनी मेक्सिकोमा छन्, जहाँबाट युरोप प्रवेशको प्रतीक्षामा छन् । यदि योजनाअनुसार सबै सफल भएमा उनले आगामी चरण सन् २०२५ को अगस्टबाट सुरु गर्नेछ अनि २७ वर्षको लामो यात्राको अन्तिम पाइला टेक्दै सन् २०२६ को सेप्टेम्बरमा उनी आफ्नो जन्म सहर हलमा खुट्टैखुट्टा प्रवेश गर्नेछन् ।

बुश्बीको यात्रा कुनै सामान्य पदयात्रा होइन, यो भावनात्मक सहनशीलताको चरम परीक्षण हो । तथ्यांकअनुसार उनी दिनमा औसत ३० किलोमिटर हिड्छन् । बासको लागि कहिले पाल, त कहिले खाली भवन अथवा जहाँ ओत पाइन्छ त्यहीँ सुत्ने गर्छन् । मौसमको कठोरता, प्रशासनिक समस्याहरू र एक्लोपन उनका नियमित साथी बने । सुरुमा यात्रा स्ववित्त पोषित थियो, जसलाई “द नर्थ फेस” बाट केही उपकरण सहायता पाए । पछि पुस्तक सम्झौता र प्रायोजनहरूले केही हदसम्म सजिलो बनायो । तर, अधिकांश समय उनले स्थानिय सहयोग र आफ्नो दृढ इच्छाशक्तिमा भर पर्नुप¥यो ।

यात्रा जति लामो भयो, पारिवारिक र व्यक्तिगत सम्बन्धहरूमा त्यत्तिकै गहिरो असर प¥यो । बुश्बी आफैंले स्वीकार गर्छन् कि परिवारसँग सम्पर्क अत्यन्तै कम भयो र उनीहरूसँग भेट्ने अवसर पनि दुर्लभ रह्यो भनेर । कहिले काहीँ त आफ्नै अस्तित्वको मूल्यबारे प्रश्न उठाउने मानसिक तनावले उनलाई थिच्यो । बुश्बीका अनुसार उनको यात्राका तीन निर्णायक मोडहरू थिए, डारियन ग्याप, बेरिङ स्ट्रेट पार गर्नु र क्यास्पियन सागर पौडिएर पार गर्नु । यी सबै कठिनाइहरूले उनको मानसिक, भौतिक र भावनात्मक क्षमताको परिक्षा लिए । तर, उनले कहिल्यै हार मानेनन् र उनी सधैं अगाडि बढिरहे ।

अझै पनि उनी थकित छैनन् , रोकिएका छैनन् । यदि बुश्बीले यो यात्रा सफलतापूर्वक समाप्त गरे भने गोलियाथ एक्सपेडिसन केवल एक विश्व कीर्तिमान मात्र होइन, मानवीय साहस, धैर्य र अदम्य अडानको अनुपम कथा बन्नेछ । आधुनिक प्रविधि र सहज यात्राको युगमा उनको २७ वर्ष लामो पैदल यात्राले कहिलेकाहीँ सबैभन्दा कठिन र लामो बाटो नै सबैभन्दा मूल्यवान् हुन्छ भनेर स्मरण गराइरहनेछ । अब उनी अन्तिम चरणको तयारीमा छन्, संसारभरिका मानिसहरूले सास रोकेर उनका पाइलाहरु गन्दैछन् । किनभने उनको पाइला धर्तीमाथिको यात्रा मात्र होइन, एक अद्वितीय आत्माको विजययात्रा पनि बन्दैछ ।