राजु आफ्नो पहिलो अन्तर्राष्ट्रिय फुटबल खेलको लागि मैदानमा उत्रन लागिरहेको थियो । अनुहारमा आत्मविश्वास झल्किँदै थियो, तर मुटुको धड्कन भने सामान्य थिएन । खेल सुरु भएलगत्तै विपक्षी टोलीले गोल ग¥यो, जसले टिमको मनोबललाई गहिरो रूपमा असर ग¥यो।
त्यतिबेला प्रशिक्षकले टिमलाई सम्झाए,“जसको मन बलियो, त्यसकै जित सुनिश्चित हुन्छ ।” प्रशिक्षकको त्यो एक वाक्यले राजुलाई भित्रैदेखि सम्हाल्न प्रेरित ग¥यो । उ आफैँसँग बोल्यो,“म सक्छु ।” आत्मविश्वासको त्यही शक्तिमा उसले खेलको अन्तिम मिनेटमा गोल गर्दै स्कोर बराबरीमा ल्यायो ।
खेल टाईब्रेकरमा गयो र अन्ततः टिमले जित हासिल ग¥यो । खेलपछि पत्रकारले सोध्दा राजुको अर्थपूर्ण उत्तर थियो “शरीरले खेल सुरु गर्छ, तर मनले मात्र जित दिलाउँछ ।”
यद्यपि यो एउटा काल्पनिक कथा हो, यस्ता घटनाहरू खेलकुदको वास्तविक दुनियाँमा बारम्बार घटिरहेका हुन्छन् । जित र हारको निर्णायक तत्व प्रायः भौतिक दक्षता होइन, मानसिक तयारी नै हुन्छ । खेलकुद केवल मांसपेशीको बल वा प्रविधिको प्रयोग होइन ।
यो त मनोबल, मानसिक लचिलोपन र रणनीतिक सोचको प्रतिस्पर्धा हो । खेलको सुरुमा आत्मबल आवश्यक पर्छ, बीचमा धैर्यता र अन्त्यमा एकाग्रता । यी सबै पक्षलाई सन्तुलनमा राख्न सक्ने खेलाडी नै साँचो च्याम्पियन बन्न सक्नेछ ।
शारीरिक अभ्यासबिना खेल सम्भव छैन, तर मानसिक तयारीबिना त्यो अभ्यासले पूर्ण परिणाम दिन सक्दैन । इतिहासमा त्यस्ता धेरै उदाहरणहरु छन् जहाँ मानसिक दवाबले अनुभवी खेलाडी चुकेका छन भने आत्मविश्वासका कारण नौलो अनुहारहरूले चम्किएका छन् ।

खेल प्रारम्भ हुनुअघि गरिने सामूहिक वाचा, नमन वा भनौ आत्म–संवादजस्ता क्रियाकलापहरू धेरैलाई सामान्य लाग्न सक्छ । तर, मनोवैज्ञानिक दृष्टिले यी अभ्यासहरू आत्मबल र मनोविश्वास बढाउने महत्वपूर्ण ‘रिचुअल’ वा रणनीति हुन् । यसले खेलाडीलाई “हामी तयार छौं” भन्ने बलियो मानसिक अवस्थामा पु¥याउँछन् ।
हरेक खेलको स्वभाव फरक हुन्छ, त्यसैले त्यसअनुसार आवश्यक पर्ने मानसिक तयारी पनि भिन्न हुन्छ । उदाहरणका लागि सुटिङ वा आर्चरीजस्ता खेलहरूमा गहिरो एकाग्रता र श्वास–नियन्त्रण आवश्यक हुन्छ ।
कराते, जुडो, तेक्वान्दो लगायत कन्ट्याक्ट खेलमा तुरुन्त निर्णय गर्न सक्ने क्षमता र तिव्र प्रतिक्रिया प्रमुख हुन्छ । क्रिकेटजस्तो खेलमा बलको विश्लेषण, स्कोरको तनाव र रणनीति बुझ्ने क्षमता अपरिहार्य हुन्छ ।
म्याराथन वा साइकल दौडमा भने आत्मप्रेरणा, संकल्प र मानसिक दृढता सबैभन्दा महत्वपूर्ण हुन्छ । यी गुणहरू केवल शारीरिक अभ्यासले मात्रै आउँदैनन, स्पष्ट श्रव्य–दृश्य अभ्यास, रिफ्लेक्स ट्रेनिङ र मेडिटेशनजस्ता मनोवैज्ञानिक विधिहरू पनि अनिवार्य हुन्छन् ।
फुटबल, बास्केटबल वा भलिबलजस्ता खेलहरूमा दर्शकको चिच्याहट, निर्णायक क्षणको तनाव, आलोचना, चोटको पीडा, यी सबैलाई पचाउँदै उत्कृष्ट प्रदर्शन दिनु चुनौतीपूर्ण कार्य हो । त्यो स्तरको मानसिक दृढता अभ्यास मात्र होइन, मानसिक शिक्षाको नतिजा पनि हो ।
विशेषगरी क्रिकेट त झन् मनोवैज्ञानिक युद्ध नै हो, जहाँ एक सेकेन्डभित्र बलरको चाल बुझेर ब्याटरले निर्णय गर्नुपर्ने हुन्छ । त्यस्तो समन्वय केवल आँखाको प्रतिक्रिया वा शारीरिक प्रतिक्रिया मात्रै होइन, मन र सोचको कुशलता पनि हो ।
खेल मनोविज्ञान सन्दर्भ कुनै पुस्तकको अध्याय मात्र होइन, यो व्यवहारमा उतार्नुपर्ने विज्ञान हो । प्रशिक्षक वा खेल मनोवैज्ञानिकलाई केवल सामान्य मनोविज्ञान मात्रै होइन, खेलको प्रकृति, रणनीति र खेलाडीको मानसिक संरचना बुझ्न सक्ने दक्षता आवश्यक हुन्छ ।
आजको विकसित देशहरू जस्तै अमेरिका, चीन, युरोपेली देशहरुले खेल मनोविज्ञानलाई खेलकुदको मेरुदण्ड मानेर टिममा अनिवार्य रूपमा समावेश गरिरहेका छन् । त्यसैले त उनीहरूको खेल कौशलसँगै मानसिक शक्ति पनि असाधारण देखिने गरेको छ ।











प्रतिक्रिया