सन् १९३७ को चिसो डिसेम्बरको एक साँझ, लन्डनको स्टाम्फोर्ड ब्रिज रंगशाला दर्शकहरूको हुटिङ र उत्साहले भरिएको थियो । चेल्सी र चार्लटन एथ्लेटिक एफसीबीचको खेल अत्यन्त प्रतिस्पर्धात्मक बन्दै थियो । दुवै टोली जितको निम्ति लडिरहेका थिए, मैदानमा ऊर्जा र तनाव सँगसँगै तैरिरहेका थिए । तर, अचानक मौसमले आफ्नो रुप बदल्यो । तिनछक्क पर्नेगरी बाक्लो कुहिरोले सम्पूर्ण रंगशाला ढाक्यो । खेलको ६०औँ मिनेटमा रेफ्रीले सिट्टी फुक्दै खेल स्थगित भएको निर्णय गरे । एकपछि अर्को खेलाडी मैदानबाट बाहिरिए, दर्शकहरू आफ्ना सिटबाट उठे, मैदान बिस्तारै सुनसान हुँदै गयो । तर, त्यो कुहिरोभित्र, कोही अझै उभिइरहेका थिए । ती थिए चार्लटनका गोलकिपर साम बार्टाम ।

सामलाई खेल रोकिएको कुनै अत्तोपत्तो थिएन । गोलपोस्टको जिम्मेवारी सम्हाल्ने जिम्मेवारीप्रति उनले कुनै सम्झौता गरेनन् । उनले आफ्नो टिमका साथीहरु विपक्षी गोलपोस्टमा आक्रमण गर्न ब्यस्त भएको ठाने । अनि उनलाई सधैंको जस्तै आफ्नो गोलपोस्ट जोगाउनु पर्छ भनेर डटिरहे । कुहिरोभित्र उनले आवाजहरू सुन्न खोजे, तर दर्शकहरूको चिच्याहटले सिट्टीको आवाज उनको कानसम्म पुग्न सकेन । बायाँ दायाँ नजर घुमाउँदै सचेत, प्रतिबद्ध र सतर्कता साथ उनी एक्लै गोल लाइनमा उभिरहे ।
खेल रोकिएको पन्ध्र मिनेटसम्म साम त्यहीँ उभिए । जब मैदानका कर्मचारी र प्रहरीहरु उनलाई भेट्न आइपुगे, तब मात्रै उनले थाहा पाए कि खेल त पन्ध्र मिनेट अगाडि नै रोकिएको भनेर । साम मौन भए, तर त्यो मौनता कुनै सामान्य मौनता थिएन । त्यो निष्ठाको, एक्लोपन र अल्मलिएको यथार्थको मौनता थियो । यो घटनाले बाट्र्रामलाई मनोवैज्ञानिक रूपमा गहिरो असर पा¥यो । उनले भावुक हुँदै भने, “कति दुःखको कुरा हो, जब म उनीहरूको गोलपोस्टमा उभिएर गोल जोगाउँदै थिएँ, मेरा साथीहरूले भने मलाई बिर्सिए ।”
त्यस दिनको घटना धेरैलाई एउटा हास्यास्पद संयोगजस्तो लाग्न सक्छ । तर, सामका लागि त्यो क्षण निष्ठा र एक्लोपनबीचको त्रासदी थियो । कथा यत्तिमै सकिँदैन । त्यो घटनाको वर्षौंपछि सामको आत्मवृत्तान्त प्रकाशित भयो । उनले त्यस आत्मवृत्तान्तमा त्यो क्षणलाई यसरी सम्झिए—“त्यो दिन कुहिरोले मेरो वरिपरि मात्र होइन, मेरो दृष्टि र बुझाइलाई पनि ढाकेको रहेछ । म सधैं सोच्थें, सबैले मलाई बिर्सिए भनेर । तर, पछि थाहा पाएँ, उनीहरूले मलाई बिर्सिएका थिएनन्, उनीहरू त ड्रेसिङ रुममा मेरो बारेमा चिन्तित थिए । तर, रेफ्रीले भनेका रहेछन—‘बार्टाम आफ्नो कर्ममा खटिएका छन्, उनलाई डिस्टर्ब नगरौं । त्यो नै उसको कर्म हो ।’
त्यस यथार्थबाट साम प्रभावित भएका थिए । जुन क्षणमा उनले आफूलाई सबैभन्दा बढी एक्लो ठाने, त्यो क्षण अरूले उनको निष्ठालाई मौन सम्मान दिइरहेका थिए । वास्तवमा सम्मान भन्ने विषय न देखिन्छ, न त सुनिन्छ नै, तर त्यसको प्रभाव भने गहिरो हन्छ । जीवनमा पनि हामी कतिपटक त्यस्तै कुहिरोभित्र अड्किन्छौँ । सोच्छौं की हामी एक्लो छौँ, हामीलाई कसैले देख्दैन, सम्झिँदैन भनेर । तर, कहिलेकाहीँ त्यही एक्लोपन हाम्रो आफ्नै सोचको कुहिरो मात्र सावित हुन्छ । सायद, हामीले नदेखेको एउटा शान्त नजर, सम्मानपूर्वक र नतमस्तक भएर हामीलाई लगातार निहारिरहेको हुन्छ । साम बार्टामको कथा केवल एक फुटबल खेलाडीको समर्पणको कथा मात्र होइन, त्यो आत्मपरिक्षणको पनि कथा हो । कुहिरोमा हराएको एउटा अनुहार कहिलेकाहीँ एक्लोपन मात्र नभएर निष्ठाको अर्को नाम पनि हुन सक्छ भनेर उनले बुझे ।

बार्टामले आफ्नो जीवनमा एक शानदार फुटबल करियर बनाएका थिए, जसले उनलाई चार्लटन एथ्लेटिक क्लबको सबैभन्दा सम्मानित खेलाडीमध्ये एक बनायो । सन् २००६ मा क्लबको शतवार्षिकीको अवसरमा चार्लटनको स्टेडियम “द भ्याली” बाहिर ९ फिट अग्लो साम बार्टामको सालिक स्थापना गरियो । उनले अवकाश लिएको ५० वर्षपछि, चार्लटनले “द भ्याली” मा रहेको बार र रेस्टुरेन्टको नाम पनि “बार्टाम्स” मा रुपान्तरण ग¥यो । उनले क्लबका लागि ६ सय २३ म्याच खेले । जुन उनको कुशलताको प्रमाण हो । तर, तथ्यांक र पुरस्कारभन्दा पनि धेरैलाई सम्झना छ त्यो १९३७ को कुहिरो लागेको साँझको घटना । साम बार्टामको “कुहिरोमा प्रतिक्षा” फुटबलको लोककथा जस्तै बनेको छ ।











प्रतिक्रिया