वृद्ध महिलाको सिक्री लुटपाट गर्ने युवक पक्राउ


काठमाडौं।

काठमाडौं महानगरपालिका वडा नम्बर १४, लाम्पाटीस्थित पुतली मार्ग नजिक आफ्नै घरअगाडि हिँडिरहेकी ७७ वर्षीया वृद्धा रुकमति रायमाझीको घाँटीबाट सुनको सिक्री लुटपाट गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ।

शनिबार दिउँसो करिब २:२० बजेको समयमा रायमाझीको घाँटीमा लगाइएको करिब डेढ तोलाको सुनको सिक्री लुटेर भागेको अभियुक्तको खोजी क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक प्रमोद राउतको कमाण्डमा र प्रहरी वृत्त कालिमाटी अन्तर्गतको सिभिल टोली सक्रिय थियो।

पक्राउ परेका व्यक्ति धादिङ जिल्ला ज्वालामुखी गाउँपालिका वडा नम्बर ४ स्थायी ठेगाना भई हाल काठमाडौं महानगरपालिका वडा १४ मा बसोबास गर्दै आएका ३१ वर्षीय दिपेश लम्साल रहेका छन्। उनलाई घटनाको केही घण्टामै, साँझ ६ बजे लिक मार्ग क्षेत्रबाट फेला पारी नियन्त्रणमा लिइएको प्रहरी वृत्त कालिमाटीले जनाएको छ।

प्रहरीका अनुसार लम्सालको साथबाट लुटिएको सुनको सिक्रीसमेत बरामद गरिएको छ। हाल उनीमाथि थप अनुसन्धान भइरहेको छ।